×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रासायनिक मलको चरम अभाव देखिएपछि मलबिनै खेती लगाउँदै कैलालीका किसान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रासायनिक मलको चरम अभाव देखिएपछि मलबिनै खेती लगाउँदै कैलालीका किसान

Artha Sarokar

१५ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

भजनी । कैलालीको भजनी नगरपालिका-६ का रामप्रसाद चौधरीले दश बिघा क्षेत्रफलमा गहुँखेती गर्नुभएको छ । यसवर्ष ढिलोसम्म वर्षा भएका कारण अन्य वर्षभन्दा ढिलो गरी गहुँखेती सुरु गर्नुभएका उहाँले मल नहालेरै खेतमा गहुँ छर्नुभएको छ ।

“युरिया मलजति पनि पाइन्छ , डिएपी मल जति खोज्दा पनि कतै पाइएन ।” उहाँले भन्नुभयो, “खेती लगाउनै पर्यो । खेत बाँझो राख्ने कुरा पनि भएन । भाडामा लिएर खेती गरेको जग्गा मालिकलाई भाडा दिनैपर्छ । मल बिना लगाएको खेतीको उब्जनी के होला र ?” रासायनिक मलको चरम अभाव देखिएपछि उहाँ मात्रै नभइ अधिकांश किसानले मलबिनै खेती गर्न थालेका छन् । धानका मौसममा युरियाको र गहुँका मौसममा डिएपी मलको अभावले किसान बर्सेनि चिन्तित छन् । खेती लगाउदा रासायनिक मलको प्रयोग बढी भएका कारण कम्पोस्ट मलले उब्जनी राम्रो नहुने भन्दै किसान रासायनिक मलको प्रयोग बढी गर्दै आएका छन् ।

खेती गर्दा पनि माटोले रासायनिक मल प्रयोग नगरेर उत्पादन नै दिन नस्क्ने बताउँदै स्थानीयवासी अमर कठरियाले गहुँखेतीमा डिएपी मल अत्यावश्यक भएको बताउनुभयो । उहाँले बर्सेनि रासायनिक मलको अभाव हुने गरेको बताउँदै तीन तहको सरकार भएर पनि किसानलाई कुनै राहत नभएको गुनासो गर्नुभयो । कठरियाले सरकारले धानको समर्थन मूल्य तोक्ने खाद्यले धान खरिद नगर्ने जस्ता समस्यामा अझै पनि किसान रहेको जनाउँदै वास्तविक किसानलाई सरकार छ, भन्ने कुनै महसुस नै नभएको गुनासो गर्नुभएको छ ।

“चाहिएको समयमा नत मल पाइन्छ, नत सरकारले आफै तोकेको मूल्यमा हाम्रो उत्पादन बिक्री हुन्छ ।” उहाँले भन्नुभयो,“अनि कसरी भनौ किसानका लागि सरकार छ भनेर । यो वर्ष बाढी र डुवानका कारण भोकमरीको चिन्तामा किसान भए पनि सरकारले राहत दिने भनेको छ तर, कहिले दिन्छ त्यसको कुनै पत्तो छैन ।” कृषि सहकारीमा पनि मल छैन । छिटफुट रुपमा बजारमा रासायनिक मल पाइए पनि सामान्य किसानले त्यत्रो मूल्य तिरेर मल खरिद गर्न सक्ने अवस्था नरहेको जोशिपुर गाउँपालिका-१ का किसान सीताराम चौधरीले जानकारी दिनुभयो । “केही व्यापारीले भारतबाट अवैध रुपमा मल खरिद गरेर नेपाली बजारमा बिक्री गर्दै आएका छन् ।

त्यो मल आम किसानले खरिद गर्न सक्दैन ।” उहाँले भन्नुभयो, “समयमा मल नपाउँदा गहुँखेती गर्ने समय ढल्किदैछ । मल पाइएको छैन । यो वर्ष उत्पादनमा निकै ह्रास आउने निश्चित छ ।” जानकी गाउँपालिका-४ मा रहेको मुनुवा कृषक सहकारी संस्थासँग पनि रासायनिक मल छैन । सहकारीले करिब तीन सयभन्दा बढी हेक्टर क्षेत्रफलमा गहुँको बीउ उत्पादन गर्दै आएको छ । मल नपाएपछि गहुँ छर्न ढिलो भइसकेको बताउँदै सहकारीका व्यवस्थापक गोविन्दराज रावतले मलका लागि भैरहवा पठाएको गाडी खाली फर्किएको जानकारी दिनुभयो ।

“भैरहवामा डिएपी मल छ, भन्ने सुनेपछि सहकारीको गाडी मल ल्याउनका लागि भैरहवा पठाएका थियौं । डिएपी ल्याउन पठाएको गाडीमा युरिया मल ल्याउनुपर्यो ।” उहाँले भन्नुभयो, “मलको अभाव हाम्रो क्षेत्रमा मात्रै होइन, देशैभरी हाहाकार छ । सरकारले आवश्यकता भन्दा बढी मल आयात भएको छ भन्छ । तर किसानको खेतमा एक दाना पनि मल पुग्दैन ।”-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी