म्याग्दी । कोरोना भाइरसको महामारी फैलिएपछि सहर बजार र विदेशमा रोजगारी गुमाएर फर्किएका जिल्लाको अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाका युवाले सामूहिक बङ्गुरपालन गरेका छन् । लेकाली बहुउद्देश्यीय कृषक समूहमा आबद्ध २२ जना युवाहरुले ५०/५० हजार संकलन गरेर मान्द्रेढुङ्गाको उपल्लो गाउँफाँटमा आधुनिक खोर निर्माण गरी बङ्गुरपालन गरेका हुन् । एक सयवटा क्षमताको खोरमा हाल ५३ वटा ल्याडरेस र पाख्रिबास जातका बङ्गुर छन् ।
समूहका सदस्य विमल र अनिल फगामीसँग दक्षिण कोरियामा बङ्गुर फार्ममा काम गरेको अनुभव छ । पोखरा–बागलुङ राजमार्गको लुम्लेमा होटेल व्यवसाय गर्दै आउनुभएका देव शेरपुञ्जा समूहको अध्यक्ष हुनुहुन्छ । दुई वर्षअघि कोरोना महामारी फैलिएपछि जन्मथलो फर्किएका युवाहरु मिलेर बङ्गुरपालन सुरु गरेको अध्यक्ष शेरपुञ्जाले बताउनुभयो । “आलोपालो गरेर बङ्गुरको स्याहारसुसार गर्ने र आम्दानी समान हिसाबले वितरण गर्ने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो, “बङ्गुरपालनबाट स्वरोजगार बन्ने र गाउँमै आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्य छ ।”
पाठापाठी, वयस्क, गर्भवती, सुत्केरी र भाले बङ्गुरलाई छुट्टाछुट्टै राख्न मिल्ने १० वटा कोठा भएको खोर बनाएका छन् । समूहलाई सहकारीमा रुपान्तरण गर्ने प्रक्रियामा लगिएको अर्का छ । खोरसँगै समूहको कार्यालय र दाना भण्डारण गर्ने अर्को भवन बनाइएको समूहका सदस्य रामबहादुर पाइजाले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारको मुख्यमैत्री जलवायु मैत्री नमूना कृषि गाउँ कार्यक्रमले मान्द्रेढुङ्गामा बङ्गुरपालन र ठूलोबगरमा तरकारी खेती गर्न समूहलाई गत वर्ष ४० लाख सहयोग गरेको थियो । यस वर्ष १५ लाख विनियोजन भएको कार्यक्रमकी कृषि प्राविधिक जेनिसा चोखालले बताउनुभयो ।
“प्रदेश सरकारको ८५ र समूहका १५ प्रतिशत लगानीमा बङ्गुरपालन गरेका हुन्,” उहाँले भन्नुभयो, “तरकारी खेती र बङ्गुरपालन गर्न ६० घरधुरी कृषकहरु कार्यक्रममा आबद्ध भएका छन् ।” मान्द्रेढुङ्गा र ठूलोबगर पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी तथा गाउँपालिकाको केन्द्र पोखरेबगर नजिकैका बस्ती हुन् ।
बजार नजिकै भएकाले तरकारी तथा बङ्गुर बिक्रीमा सहज भएको समूहका उपाध्यक्ष लोकबहादुर पुर्जाले बताउनुभयो । विषादी र रासायनिक मलको प्रयोग बिना जैविक प्रविधिको प्रयोग गरेर खेती गरी वातावरण संरक्षण तथा कृषकको आयआर्जन सुधार गर्ने उद्देश्यले प्रदेश सरकारले सबै स्थानीय तहमा सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बनेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो ।
बेनीको सिङ्गा सुर्केमेला, बास्कुना, मङ्गलाको कोत्रवाङ, सिम, तोराखेत, सातबिसे, पोक, मालिकाको बिम, धवलागिरिको खिबाङ–खाम्ला र रघुगङ्गाको भगवती घट्टटोलमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन भएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्