×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरलता संकट : सुदूरपश्चिममा बैंकहरुले दिन छाडे कर्जा

PRIME CA
GLOBAL IME BANK

तरलता संकट : सुदूरपश्चिममा बैंकहरुले दिन छाडे कर्जा

२० पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

कैलाली । सुदूरपश्चिमस्थित बैंक तथा वित्तीय संस्था पछिल्लो समय ऋण दिनै नसक्ने अवस्थामा पुगेका छन् । यति मात्रै हैन, अवस्थामा सुधार नहुने हो भने, व्यक्तिले आफ्नै पैसा पनि चाहेअनुसार झिक्न नसकिने अवस्था नजिकिँदै गएको बताइएको छ । वित्तीय प्रणालीमा तरलताको चाप बढ्दै गएकाले यस्तो अवस्था आएको बैंकका प्रतिनिधिहरूको भनाइ छ ।
यहाँका बैंक तथा वित्तीय संस्थाहरूले प्रतिदिन अधिकतम (अत्यावश्यक अवस्थामा मात्रै) पाँच लाख रुपैयाँ ऋण लगानी गरिरहेका छन् । राष्ट्रिय वाणिज्य बैंक धनगढीमा कार्यरत एवं बैकर्स क्लब धनगढीका प्रतिनिधि त्रिचन्द्र भण्डारीले भने, ‘यसअघि भने प्रतिदिन ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह हुने गरेको थियो । ३० वर्षयता पहिलो पटक यस्तो संकट देखिएको हो ।’
आफ्नो खातामा रहेको रकम ब्यक्तिले झिक्न चाहेमा दिनै नसक्ने अवस्था आइनसके पनि त्यो परिस्थिति आउन सक्ने बैंक तथा वित्तिय संस्थाका प्रतिनिधि बताउँछन् । ‘कसैले रकम झिक्यो भने त्यो रकम कहाँबाट पूर्ति गर्ने भन्ने संकट आइलाग्ने अवस्था बैंकहरूले झेलिरहेका छन्,’ भण्डारीले भने ।
यसअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी) रेसियोलाई हटाएर कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो लागू गरेको थियो । यसअनुसार कुल निक्षेप संकलनको १० प्रतिशत रकम जगेडा राख्दै अधिकतम ९० प्रतिशत मात्रै कर्जा प्रवाह गर्न पाइन्छ । अहिले यहाँका सबै संस्थाले ९० प्रतिशत ऋण लगानी गरिसकेको वित्तीय संस्थाका प्रतिनिधिले जानकारी दिए ।
यति बेला बैंकहरूले सुन कर्जासमेत रोक्नुपरेको बताएका छन् । ‘आइतबार पनि बिहान ७ बजेको कठ्यांग्रिँदो चिसोमा ऋण खोज्नका लागि ग्राहकहरू बैंकमा लाइन लागेका थिए,’ भण्डारीले भने, ‘तर कसैले ऋण पाउने अवस्था छैन ।’ कोरोनाका कारण झन्डै दुई वर्षसम्म लगभग ठप्प रहेको आर्थिक गतिविधि चालु आर्थिक वर्षमा ह्वात्तै बढ्नु, विलासिताका वस्तुहरूको आयात बढ्नु, सरकारको पुँजीगत खर्च अत्यन्त न्यून हुनु, निक्षेप पनि वृद्धि नहुनु, रोजगारीका अवसर बढ्नुको साटो घट्दै जानु, ठूला उद्योगधन्दा तथा वैदेशिक लगानी नहुनुलगायतका कारणले अहिलेको अवस्था आएको वित्तीय क्षेत्रका जानकारहरूले औंल्याएका छन् ।
सरकारले लगानीका दायरा बढाउनेतर्फ सोच्नु त परै जाओस्, आफ्नो खातामा भएको रकमसमेत होल्ड गरेर राखेकाले संकट गहिरिएको आर्थिक सरोकार मञ्चका अध्यक्ष राजेन्द्रवीर चन्दले बताए । ‘हाम्रो ठाउँ विदेशी वस्तुहरूको डम्पिङ साइट जस्तै हुन थालिसक्यो । आफ्नो उत्पादन छैन, लगभग सबै सामान आयात गर्ने क्रममा पैसा जति बाह्य मुलुकमा जान्छ,’ चन्दले भने, ‘अनुगमन प्रणाली फितलो छ । हुन्डीमार्फत ठूलो रकम बाह्य मुलुकमा जाने गरेको पनि छ ।’ कोरोना कालमा बैंक नै बन्द गर्नुपर्ने जस्तो संकटको सामना गर्नुपरेको स्मरण गर्दै बैंकर्स क्लब धनगढीका अध्यक्ष एवं सनराइज बैंक धनगढीका प्रबन्धक धर्म विष्टले अहिले फेरि जटिल अवस्था सिर्जना भएको दाबी गरे । निक्षेपभन्दा लगानी बढी भएको उनको भनाइ छ । ‘सुदूरपश्चिममा झन्डै ६५ अर्ब रुपैयाँ लगानी छ भने ४५ अर्ब हाराहारीमा मात्रै निक्षेप छ,’ उनले भने ।
सुदूरपश्चिममा आर्थिक गतिविधि नै न्यून भएको तथा आयात मात्रै हुने गरेकाले समस्या थपिएको बताइएको छ । ‘पर्यटन, उद्योग र व्यापारको प्रशस्त सम्भावना रहेको यस प्रदेशमा हाल व्यापार मात्र भएकाले पनि हो,’ विष्टले भने, ‘उद्योग तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि शून्यप्रायः भएकाले समस्या स्वाभाविक हो ।’ -कान्तिपुरबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: