×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हुस्सु नफाटेपछि तरकारी खेती गर्ने किसान हैरान, भन्छन्-‘उत्पादन लिने ठिक्क बेलामा बढेको चिसोले बोट बढ्नै सकेन’

महोत्तरी । लामो समयदेखिको बाक्लो हुस्सु र तुुसारोले तरकारीका बाली बोटमै पहेँलिएपछि यहाँका तरकारी उत्पादक किसान हैरान भएका छन् । लाग्दो पुसदेखि नै कहिलेकाहीँ आक्कलझुक्कल घाम देखिए पनि यहाँ सधैँजसो लाग्ने बाक्लो हुस्सु र रातैपिच्छे पर्ने तुसारोले हरियो तरकारीका बेला (लहरा), चिचिला र फल सुकाउनसँगै रोग बढाएपछि किसानको चिन्ता बढाएको हो ।

“खेतबारीमा आलु, गोभी, भाण्टा, टमाटर, परवल, सिमी, करेला र बोडीसहितका तरकारीका बिरुवा बाक्लो हस्सुसँगैको तुसारोले गलायो”, बर्दिवास नगरपालिका-९ पशुपनिगरका तरकारी किसान महेन्द्रसिंह कुशवाहाले करिब एक महिनाको चिसोले कक्रिएका कोभीका बोट देखाउँदै भन्नुभयो, “हेर्नोस् न उत्पादन लिने ठिक्क बेलामा बढेको चिसोले बोट बढ्नै सकेन ।” करिब पछिल्लो महिना दिनको अवधिमा माघेसङ्क्रान्तिको दिनबाहेक अन्य दिन राम्ररी घाम लागेको देख्न नपाइएको कुशवाहाले बताउनुभयो ।

लगातारको बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारोले लटरम्म फलेका टमाटरका फल बोटमै कुहिएर झरेका किसानको भनाइ छ । त्यसैगरी रायोको साग, सिमी, बोडी, बन्दा कोभी र फुलगोभीमा लाइकिरा लागेर बोट, लहरा नै कक्र्याइदिएपछि यसपालि हिउँदे तरकारीबाट उत्पादन लिने आस मरेको सो बस्तीकै अर्का किसान दिलीप महतो बताउनुहुन्छ ।

बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारोले गलाएको तरकारीका बोट जति उपचार गरे पनि ठिक नभएको किसानको गुनासो छ । “भरसक्दो त उपचार गरियो”, बलवा नगरपालिकाको धमौरा भगवतीपुरका तरकारी किसान रेजा कवारीले गलित स्वरमा भन्नुभयो, “तरकारी खेती त गयो, उपचार गर्दा गरिएको खर्चको ऋणमासमेत परियो ।”

हिउँदे तरकारीका बोटले लामो समयसम्म घामको ताप नपाउँदा उपचार नलागेको कृषि प्राविधिकको भनाइ छ । “दुई/चार दिनको अघिपछि घाम देखिएको भए उपचार लाग्ने थियो, मौसमले साथ नदिएपछि औषधिले मात्र के गर्नु ?” नेपाल सरकारको कृषि सेवाकै सहसचिवबाट सेवा निवृत्त हुनुभएका कृषि विज्ञ भङ्गाहा-५ सीतापुरका रामबहादुर भुजेल भन्नुहुन्छ, “यसपालि त २५ दिनसम्म लगातार बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारो पर्ने क्रम रोकिएन, त्यसैले उपचारका लागि गरिएको प्रयत्न त्यति फलदायी भएन ।”

यस वर्ष सुरुदेखि नै तरकारी खेतीका लागि प्रतिकूलता व्यहोर्दै आइएको किसान बताउँछन् । “बर्खे तरकारी त्यतिखेरको लामो झरी र भेलले गलायो”, भङ्गाहा-४ रामनगरका तरकारी उत्पादक किसान चन्देश्वरराय दनुवारले दिक्दारिँदै भन्नुभयो, “बर्खे तरकारी भेलमा पर्यो, अहिले हिउँदे तरकारी चिसोले सक्यो, अब जहान परिवारको प्रतिपाल कसरी गर्ने होला ?” अब त मौसम सुध्रे पनि हिउँदे तरकारीको उत्पादन लिने समय खस्कँदै गएको दनुवार बताउनुहुन्छ ।

बर्दिवास नगरपालिकाका किसाननगर, पशुपतिनगर, बिजलपुरा, भङ्गाहा नगरपालिकाका रामनगर, राजपुर र हतिसर्वा तथा बलवा नगरपालिकाका धमौरा र बनौटा, गौशाला नगरपालिकाका बेलगाछी, लक्ष्मीनियाँ र भरतपुर बस्ती एवं मटिहानी नगरपालिका क्षेत्र तरकारी बालीका पकेट क्षेत्र मानिन्छन् । यी बस्तीमा करिब पाँच हजार हेक्टरमा तरकारी खेती लगाइने गरेको कृषि ज्ञान केन्द्र कार्यालय जलेश्वरको आँकडा छ । प्राकृतिक प्रकोपको निदान र खेतबारीमा सिँचाइको प्रबन्ध नहुँदा कहिल्यै ठिक समयमा बाली लगाउन, रोगको निदान एवं उपचार गर्न नसक्दा अपेक्षित उत्पादन लिन नसकिएको तरकारी किसानकले दुःखेसो सुनाउँछन् ।

आफुहरूको यो मर्का सरकार र सम्बद्ध निकायले बुझिदिनुपर्ने किसानको माग छ । कहिल्यै समयमा बीउबिजन र मल नपाउने, सिँचाइको प्रबन्ध नहुनु, रोगव्याधि र प्राकृतिक प्रकोप निदानको पूर्वतयारी तथा विज्ञको अवलोकन नहुँदा आफुहरूको खेती ‘दैवकै भर’ हुने गरेको किसान बताउँछन् । जिल्लामा पकेट क्षेत्र र अन्य भेगसहित १० हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महोत्तरीको कृषि प्रसार शाखाले जनाएको छ । -रासस

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: