×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्मत नहुँदा कच्चीसरह बन्यो मेची राजमार्गको पाँचथर खण्ड, सवारी सञ्चालनमासमेत कठिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मर्मत नहुँदा कच्चीसरह बन्यो मेची राजमार्गको पाँचथर खण्ड, सवारी सञ्चालनमासमेत कठिन

Artha Sarokar

६ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

पाँचथर । नियमित मर्मतसम्भारको कार्य नहुँदा मेची राजमार्गको पाँचथर खण्ड कच्ची सडकसरह बनेको छ । मेची राजमार्गको फिदिम–काबेली खण्डमा चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि हुनुपर्ने मर्मतसम्भारको काम हुनसकेको छैन । राँके–फिदिम खण्डमा भने बाढी र पहिराका कारण भएको क्षतिको पुनःनिर्माण तथा मर्मत भएको छैन । मर्मतसम्भार अभावमा राजमार्गको पाँचथर खण्डका सयौँ स्थानमा सडक भत्कनुका साथै ठुल्ठूला खाल्डाखुल्डी परेका छन् । सडक क्षतिग्रस्त बनेपछि सवारी सञ्चालन कठिन बनेको छ ।
पाँचथर खण्डका प्रायःजसो सबै स्थानमा सडक भत्केको छ । सोमध्ये पनि भारपा–अमरपुर खण्ड अत्यधिक भत्केको छ । भारपा, चतुरेबजार, जोरपोखरी, गोपेटार, सुनुवार गोलाइ, गणेशचोकलगायत क्षेत्रमा सडकको कालोपत्र उप्केको एक वर्षभन्दा लामो समय भइसकेको छ । नियमित मर्मत नभएपछि कालोपत्र उप्केका ठाउँमा ठुल्ठूला खाल्डा पर्नुका साथै नियमित पानी जम्न थालेको छ ।
सडक क्षतिग्रस्त हुँदा सवारी सञ्चालन गर्न कठिन पर्न थालेको जिल्लाको याङवरक गाउँपालिका–४ थर्पूका राममोहन कार्की बताउनुहुन्छ । “एक वर्षदेखि नियमित मर्मत नहुँदा धेरै ठाउँमा सडक कच्चीजस्तै बनेको छ”, कार्कीले भन्नुभयो, “पहिले थर्पूबाट छ घण्टामा बिर्तामोड पुगिन्थ्यो, अहिले आठ–नौ घण्टा लाग्छ ।” गत वर्षायामदेखि यो खण्ड क्षतिग्रस्त बने पनि सरकारी निकायले मर्मतसम्भारको कार्यमा चासो नदिएको कार्कीको गुनासो छ ।
जिल्लाको हिलिहाङ–६ जोरपोखरीका हरिराज लोवाका अनुसार विगतका वर्षहरूको तुलनामा यस वर्ष अधिक धेरै वर्षा हुँदा सडक यत्रतत्र भत्किएको हो । भत्किएको सडकमाथि नै धेरै वजन भएका ढुवानीका साधन गुड्दा सडक झनै क्षतिग्रस्त बनेको उहाँको भनाइ छ । विशेषतः पूर्वाधारका ठूला आयोजना र जलविद्युत् आयोजनाका लागि सामान ढुवानीका क्रममा धेरै वजन भएका ट्रक र टिपर गुड्दा सडक भत्किएर ठूला खाल्डाखुल्डी परेको लोवा सुनाउनुहुन्छ । “भत्किएको सडक समयमा मर्मत नभएपछि सवारी चलाउनै कठिन पर्न थालेको छ”, उहाँले भन्नुभयो, “भत्किएको ठाउँमा कसैले मर्मत गरेका छैनन् । सामान्य कालोपत्र उप्केको टाल्ने कामचाहिँ हुन्छ ।”
सवारी चालक रोशन प्याकुरेलका अनुसार भत्किएको सडक मर्मत नहुँदा पानी पर्दा हिलो हुने र घाम लागे धुलो उड्ने अवस्था आएको छ । कालोपत्र सडक कच्चीसरहको बनेका कारण सवारी दुर्घटनासमेत बढेको छ । “बाटो सहज होला भन्ने ठानेर कच्ची सडकमा सवारी चलाउन नसक्नेहरुसमेत यात्रामा हुन्छन्”, प्याकुरेलले भन्नुभयो, “बाटो अप्ठ्यारो भएकै कारण धेरै वटा दुर्घटना भइसके । सवारी साधनमा उस्तै क्षति भइरहेको छ ।”
मेची राजमार्गको मर्मतसम्भारको क्षेत्राधिकार सडक डिभिजन कार्यालय इलामको हो । डिभिजन कार्यालयका प्रमुख डिभिजन इञ्जीनियर विदुर पोखरेलका अनुसार ठेक्का पाएका निर्माण व्यवसायीले समयमा काम नगर्दा समस्या आएको हो । “पाँचथर खण्डको मर्मतका लागि गत आवमै ठेक्का लागेको रहेछ”, डिभिजन इञ्जीनियर पोखरेलले भन्नुभयो, “म आएपछि नियमित ‘फलोअप’ गरिरहेको छु । निर्माण व्यवसायीले चिसोको कारण काम गर्न नसकेको भनेका छन् ।”
गत आवमा लागेको ठेक्काअनुसार आगामी चैत मसान्तभित्र पाँचथर खण्ड मर्मतको काम सक्नुपर्ने पर्नेछ । “छिटो काम सुरु गर्न ताकेता गरिरहेको छु । समयमा काम सम्पन्न नभए कारबाहीमा जाने मैले स्पष्ट पारिसकेको छु”, पोखरेलले भन्नुभयो । आफू एक महिनाअघि इलाम डिभिजनमा सरुवा भइआएको र अवलोकनका क्रममा मेची राजमार्गको पाँचथर खण्ड अत्यधिक भत्किएको पाएको उहाँले बताउनुभयो । “मैले पनि भत्किएको सडक हेरेर चाँडो काम थाल्न निर्देशन दिएको छु”, पोखरेलले भन्नुभयो ।
साविक मेची अञ्चलका चार जिल्ला जोड्ने मेची राजमार्गमा सवारीको चाप बर्सेनि बढ्दो छ । विशेषतः ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा देवीको दर्शन गर्ने श्रद्धालुको सङ्ख्या बढ्दै गएपछि यहाँ सवारीको चाप थामिनसक्नुभएको छ । फागुन, चैत, वैशाख, जेठ, भदौ, असोज, कात्तिक र मङ्सिरमा दैनिक सयौँका सङ्ख्यामा सवारी यस राजमार्गमा सञ्चालनमा आउने गरेका छन् । भारबहन क्षमताभन्दा बढी सवारी सञ्चालन हुनु, नियमित मर्मतसम्भार र संरक्षण नहुनु तथा वर्षाका कारण बाढी र पहिराले क्षति पु¥याउँदा मेची राजमार्गको पाँचथर खण्ड अस्तव्यस्त बनेको हो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी