Skip to content
LAXMI SUNRISE BANK

उत्पादित कृषिजन्य वस्तु र पशुजन्य पदार्थलाई बजारीकरण गर्ने उद्देश्यले ‘हरियो बजार’

अर्थ सरोकार

तुलसीपुर । किसानले उत्पादन गरेको बस्तु बजारीकरण गर्न सञ्चालन गरिएको ‘हरियो बजार’का कारण सहज भएको छ । घोराही उपमहानगरपालिका–१५ काठेकोहलमा ‘हरियो बजार’ सञ्चालनमा आएको छ । जाल्पा लघुवित्त वित्तीय संस्थामा आबद्ध सदस्य तथा यस क्षेत्रका किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य वस्तु खरिद गरी प्रशोधनपछि बिक्री वितरण गर्ने योजनाअनुसार हरियो बजार सञ्चालनमा आएको हो । संस्थाका लुम्बिनी प्रदेश प्रमुख पवन योगीका अनुसार किसानले उत्पादन गरेपछि बजार पाउन नसकेको कृषिजन्य वस्तु र पशुजन्य पदार्थलाई बजारीकरण गर्ने उद्देश्यले उक्त बजार सञ्चालनमा आएको हो । त्यो बजार सञ्चालनमा आएपछि किसान खुसी भएका छन् । “पहिले दूध विक्दैनथ्यो, ४०/४५ रुपैयाँ प्रतिलिटर बेच्नु पथ्र्यो”, तुलसीपुर–१६ भोजपुरका कृष्णमणि शर्माले भने, “अहिले सहज भएको छ ।”

अहिले हरियो बजारले रु. ६५ प्रतिलिटरमा दूध खरिद गर्छ । “पहिले बजार भाउ पाउनै गाह्रो थियो”, उनले भने, “अहिले बजारका लागि पनि समस्या छैन, मूल्य पनि राम्रै पाएका छौँ ।” मह उत्पादन गर्ने किसान पनि खुसी छन् । यसरी करिब पाँच हजार किसानलाई हरियो बजारले खुसी बनाएको छ । किसानले उत्पादन गरेको दूध, मह, तरकारी, खाद्यान्नलाई प्रशोधन गरेर बजारीकरण गर्ने गरिन्छ । किसानले गहुँ, तोरी, धान, मकै, चना, खुर्सानी, तिल, च्यूरा, भट्ट, गहत, गेँडागुडी ९राजमा०लगायत दाल पनि ल्याउने गरेका छन् । त्यति मात्र नभई उत्पादित सिन्कामारी, अचार, सिलौटो, सिन्की, डाला, छिटुवालगायत सामग्रीलाई समेत बजारीकरण गर्ने गरिएको योगीले बताए । उनका अनुसार अहिले जाल्पाका एक लाख सदस्य छन् । हाल दाङ, प्युठान, सल्यान, रोल्पालगायतका सदस्यले उत्पादन गरेका हरेक वस्तुलाई बजारीकरण गर्ने गरिएको छ । जाल्पाले किसानलाई ऋण दिने र त्यसबाट उनीहरुले उत्पादन गरेको वस्तु बजारीकरण गर्नका लागि महिला सामुदायिक सेवा केन्द्र (हरियो बजार) सञ्चालनमा ल्याईएको हो ।

वि.सं २०७४ देखि हरियो बजार सञ्चालनमा आएको हो । “जाल्पाले ऋण लगानी गर्ने र किसानले त्यसबाट दूध, तरकारी, महलगायत अन्य सामग्री पनि निर्माण गर्ने गरे, तर, त्यसले बजार पाउन सकेन”, उनले भने, “त्यसपछि हामी आफैँले हरियो बजार सञ्चालनमा ल्याएर किसानले उत्पादन गरेको चिजलाई प्रशोधन गरेर बजारसम्म लैजाने गरेका छौँ ।” दूधबाट दही, पनिर, खुवा बनाएर बिक्री गर्ने गरिन्छ । त्यस्तै किसानबाट खरिद गरेको तोरीबाट तेल, धानबाट चामल, गहुँको पिठो बनाएर बिक्री गर्ने गरिएको छ । खर्च कटाएर मासिक रु २५ हजार आम्दानी हुन्छ । अहिले दाङको हरियो बजारमा २०० जनाले दूध उपलब्ध गराउने गरेका छन् । दैनिक ५०० लिटर दूध आफूहरुले खरिद गर्ने गरेको योगीले बतांए । त्यस्तै २०० किसानले मह उत्पादन गर्ने गरेका छन् । हरियो बजारमा प्राविधिकसहित १५ कर्मचारी कार्यरत छन् । उनीहरु किसानको उत्पादनको घरमै गएर अवलोकन गर्ने गर्छन् । ती प्राविधिकले घरमै गएर तालिम प्रदान गर्ने देखि फर्मको अनुगमन गर्छन् ।

उपभोक्तासम्म आफ्नो उत्पादन गुण्स्तरीय बनाउनका लागि यसरी प्राविधिकलाई घरमै पु¥याउने गरिएको प्रदेश प्रमुख योगीले बताए । उत्पादन भएको चिज काठमाडौँ लगेर बिक्री गरिन्छ । काठमाडौँका चार सहकारीलाई उक्त चिज उपलब्ध गराउने गरिएको छ । अधिकांश स्थानीय बजारमै खपत भइरहेको छ । तोरीको तेल, गेँडागुडी, मह, बेसार, अदुवा, लसुनलगायतलाई काठमाडौँसम्म पनि पुर्याउने गरिएको छ । चालु आर्थिक २०७८/७९ मा किसानबाट २०० क्विन्टल तोरी, ३०० क्विन्टल धान, २० क्विन्टल मह, पाँच क्विन्टल अन्य गेँडागुडी खरिद भएको उनले बताए । दाङ मात्रै नभई सल्यानबाट आलु, कागती, रोल्पाबाट आलु, लसुन, प्यूठानबाट गेँडागुडी पनि आउने गर्छ । सुरुमा काठेकोहलबाट सेवा दिएको हरियो बजारले अन्यठाउँबाट पनि सेवा थप गरेको छ । घोराही–१५ कै रतनपुरबाट उक्त सेवा प्रदान गरिएको हो । अब केही समयमा दाङ जिल्लाको तुलसीपुर र भालुवाङबाट यो सेवा सुरु गर्ने लक्ष्य छ । जाल्पाका हाल देशभर ९८ शाखा छन् । संस्थाले बचत, ऋण, बीमा, रेमिट्यान्स र उद्यमशीलता सेवा प्रदान गर्दै आएको छ । –रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK