×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आम्दानीको स्रोत बन्दै सामुदायिक वन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आम्दानीको स्रोत बन्दै सामुदायिक वन !

Artha Sarokar

२१ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गलेश्वर । धौलागिरि गाउँपालिका–१ को गुर्जा सामुदायिक वन स्थानीयाका लागि औषधालय वा अस्पतालभन्दा कम छैन । वनबाट जडीबुटी ल्याएर नै स्थानीयवासीले औषधोपचार गर्ने गरेका छन् । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवालगायत जडीबुटी पाइन्छ । यहाँ गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेती गर्न सुरु गरिएको छ ।
गुर्जाका बासिन्दाले जडीबुटीको व्यावसायिक खेती गर्न थालेका छन् । दलसिङ्गे खर्क, भुजुङ्गेखर्क, गुर्जा बेसक्याम, चुरेन बेसक्याम्प, पुथा बेसक्याम्प हुँदै रुकुमको टकसेरासम्मको पदमार्गमा वनक्षेत्र फैलिएको छ । पदमार्गको नाम ‘यार्सा ट्रेल’ राखिएको धवलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । गुर्जा गाउँ समुद्र सतहबाट तीन हजार २२० मिटर उचाइमा छ ।
हिउँदमा बाक्लो हिउँले ढाक्ने गुर्जासम्म म्याग्दीको लुलाङ र मुदी गाउँ तथा बागलुङको ढोरपाटनबाट पुग्न सकिन्छ । गुर्जाबाट पर्यटक सोझै ढोरपाटन पुग्ने गरेको छन्त्यालले बताउनुभयो । जडीबुटीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँको बाँझो जमिनमा स्थानीयले जडीबुटी खेती गर्न थालेका छन् । यहाँ रहेको हिमाली कृषि सहकारी संस्थाले व्यावसायिक खेती गर्न मद्दत गरेको छ ।
“सहकारीमा आबद्ध किसान जडीबुटी खेतीमा संलग्न छन्”, उहाँले भन्नुभयो । किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गरी आयआर्जन बढाएर आत्मनिर्भर बनाउन सहकारी संस्थामार्फत २५ किसानले जडीबुटी खेती थालेको छन्त्याल बताउनुहुन्छ । साढे दुई हेक्टरमा अतिस जातको जडीबुटीको बेर्ना लगाइएको छ । अतिसलाई जुका मार्नसमेत प्रयोग गरिन्छ । गुर्जामा बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठसल्ला, जटामसीलगायत जडीबुटी पाइन्छ । “खाली जग्गा उपयोग गर्दै अतिसको बेर्ना उत्पादन गरी खेती विस्तार गरिएको छ”, छन्त्याल बताउनुुहुन्छ ।
यसैगरी बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा सामुदायिक वनबाट घाँस–दाउरा मात्र होइन, औषधिका रुपमा जडीबुटीसमेत सङ्कलन गरिन्छ । स्थानीय रत्नवम मल्ल भन्नुहुन्छ, “आफ्नै गाउँघरको औषधि प्रयोग गर्न पाइएको छ ।” खोकी लाग्दा हर्रो, बर्रो खाने गरेको उहाँको भनाइ छ । कुरिलो, अमला, सेतो मुस्ली, क्यामुनो, तिमिया, बादलपातेलगायत जडीबुटीको अत्यधिक प्रयोग गरिन्छ ।
म्याग्दीका सामुदायिक वन दाउरा, घाँस र अन्य वनपैदावर स्थानीयवासीका लागि घरेलु उपचार र आम्दानीका स्रोत बन्दै गएका छन् । संरक्षणमा स्थानीयवासीको चासो र जडीबुटीको महत्व बढ्दै गएपछि सामुदायिक वन आयआर्जनका माध्यम बनेका हुन् । दीर्घकालीन असर नगर्ने हुँदा स्थानीयले वनमा पाइने जडीबुटी प्रयोग गर्छन् ।
निमित्त वन अधिकृत चन्द्रमणि सापकोटा वनमा प्रशस्त जडीबुटी पाइने बताउनुहुन्छ । जडीबुटीको खोजी, पहिचान र संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दैआएको उहाँको भनाइ छ । “सामुदायिक वनमा पाइने जडीबुटी आम्दानीका स्रोत बनेका छन्”, उहाँले भन्नुभयो । म्याग्दीका २१३ सामुदायिक वनमा विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । ती जडीबुटीको संरक्षण र प्रयोग राम्रोसँग हुन भने सकेको छैन । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी