काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको शुद्ध पिउनयोग्य पानी पुनः वितरणको आइतबार बिहान शुरुआत गरेका छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वानेश्वर शाखास्थित मिनभवनको ओभरहेड टैंकीको पानी धारातर्फ छोडेर र अन्तराष्ट्रिय सम्मेलन केन्द्र परिषरमा रहेको धाराको पानी खोलेर पानी वितरणको शुरुआत गरेका छन् ।
पानी वितरणको शुरुआतपछि पत्रकार सम्मेलनमा मन्त्री चौधरीले पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको शुद्ध पानी खुवाउने सपना लोकतन्त्र दिवसको दिन आफूले पानी वितरणको शुरुआत गरेर पुरा गरेको बताए। मन्त्री चौधरीले गत वर्ष काठमाडौंमा मेलम्चीको पानी वितरण गर्दा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची योजनाको परिकल्पना गर्ने पूर्वप्रधानमन्त्री भट्टराईको नाम समेत लिन नचाहेर आफ्नो पूर्वाग्रही सोच र गलत संस्कार प्रदर्शन गरेको बताए । उनले भने, ‘केही महिना अघिमात्र पूर्वप्रधानमन्त्री ओलीले यो सरकारले कुनै हालतमा मेलम्चीको पानी ल्याउँदैन भन्नु र शुक्रबार फेरि मेलम्चीको पानी कुनै हालतमा काठमाडौंमा आउँदै, आएपनि टनेलमा धमिलो पानी पठाउँछन भनेर कपोलकल्पित, भ्रामक, झुट र असत्य सूचना प्रवाह गरेका छन्। म उनलाई सुन्दरीजलको ट्रिटमेन्ट प्लान्टबाट शुद्ध काठमाडौंमा आएको मेलम्चीको पानी पिउन आग्रह गर्न चाहन्छु ।’
मन्त्री चौधरीले ओलीले सायद बिदेशबाट मगाएर पानी खाने गरेका कारण यस्तो अभिव्यक्ति दिएको हुनसक्ने भन्दै नत्र मेलम्चीको पानी शुद्ध छ कि धमिलो छ भन्ने अनुभव लिनको लागि एक पटक मेलम्चीको पानी पिउनको लागि आग्रह गर्नु भयो ।
कांग्रेस सहमहामन्त्री समेत भएका मन्त्री चौधरीले नेपाली कांग्रेस नागरिकलाई झुटको सूची बाँड्न नचाहेको भन्दै ‘कांग्रेस जे बोल्छ, त्यो गर्छ र जे गर्छ त्यो बोल्छ’ भन्ने कुरा मेलम्चीको पानी धारामा आएपछि आज थप प्रमाणीत भएको दाबी गरे । उनले हरेक नागरिकलाई नभै नहुने शुद्ध पानीको उपभोगको विषयलाई राजनीतिकरण नगर्न र भ्रम नफिजाउन सबैमा आग्रह गर्दै नागरिकको जीवनसँग जोडिएको विषयमा राजनीति गर्न छाडेर सहयोग, साथ र समर्थनको खाँचो रहेको औंल्याए । मन्त्री चौधरीले मेलम्ची खानेपानी आयोजनाको दीर्घकालिन संचालनको लागि एसियाली विकास बैंकले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण, त्यसको कारण र स्थायी समाधानका उपायको लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिसकेको र त्यसको प्रतिवेदन प्राप्त भएपछि चाँडै कार्ययोजना बनाई कार्यान्वयन गरिने बताए।
वर्षायाममा मेलम्ची नदीमा बाढी आएमा साईरन बजेर पूर्वसूचना दिनको लागि अर्लि अलर्ट मेसिन जडान गरिएको भन्दै मन्त्री चौधरीले मेलम्ची नदीमा बाढी आएमा सतर्क रहन र सम्भावित जोखिमलाई न्यून यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे। मेलम्चीको पानी उपत्यकावासीको घर घरमा पुर्याउनको लागि आयोजना कार्यान्वयन निर्देशनालयले ४१० किलोमिटर पाईप लाईन क्षेत्रको सर्ट रन टेष्ट पुरा भइ पानी संचालनको लागि तयार भएको भन्दै काठमाडौंवासीलाई मेलम्चीको हाल वितरण भइरहेको पानी पर्याप्त नभएकाले यसका याङ्ग्री र लार्के खोलाको पानी समेत सुरुङबाट सुन्दरीजलमा मिसाउने कार्ययोजना बनी सकेको बताए। राजधानीको बढ्दो जनसख्या र सम्भावित बाढी पहिरोलाई दृष्टिगत गरी मन्त्रालयले बर्षायाममा मेलम्चीको पानीको बिकल्पको रुपमा वागमति नदीको पानी, सिस्नेरी जलाधार क्षेत्र र महादेव खोलाको पानी काठमाडौमा वितरण गर्ने विषयमा अध्ययन भइरहेको बताए ।
काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने संकल्प गर्नु हुने पूर्वप्रधानमन्त्री एवम् सन्त नेता स्वर्गीय कृष्ण प्रसाद भट्टराईको त्याग, तपश्या र योगदानलाई स्मरण गर्नको लागि सरकारले सुन्दरीजलमा पूर्ण कदको शालिक राख्ने निर्णय गरिसकेको उहाँले बताउनु भयो ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्चीको पानी काठमाडौंमा ल्याउने परिकल्पनाकार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निर्वाचन क्षेत्र रहेको नयाँबानेश्वरबाटै पानी वितरणको शुरुआत गरिएको जनाउँदै वर्षाको समयमा मेलम्चीमा बाढी आएको खण्डमा सुरुङमा पानी हाल्न रोकिए पनि बागमतिबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा ल्याउन सकिने बताए । काठमाडौं महानगरपालिका १० नम्वर वडाका वडाध्यक्ष रामकुमार केसीले आयोजनाको नाम कृष्णप्रसाद भट्टराई मेलम्ची खानेपानी आयोजना भनेर राख्न प्रस्ताव गरे । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा.ई. संजिव विक्रम राणाले बर्षाको समयमा बागमती नदिबाट १० करोड लिटर पानी उपत्यकामा ल्याउन सकिने जानकारी दिए । आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट उपत्यकाका १० वटा पानी टैंकीसम्मको ७० किलोमिटर पाईप विछ्याई सकेको जानकारी दिँदै ४१० किलोमिटर पाईप लाईनको परिक्षण भइसकेको जानकारी दिए।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक बासुदेव पौड्यालले क्षतिग्रस्त आयोजनाको हेडवक्र्स क्षेत्रको पुनःनिर्माण गर्न आयोजनाका इञ्जिनियर, कर्मचारी र निर्माण व्यवासायीले रात दिन काम गरेकै कारण पुनःनिर्माण कार्य सम्पन्न भएको बताए । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत ई. मिलन शाक्यले मेलम्चीको पानी १० वटा पानी टैंकीमार्फत एक लाख ७५ हजार धारामा बितरण गरिने बताए। उनले मेलम्चीको पानी चुहावट नियन्त्रण गर्नको लागि कर्मचारीहरु २४सै घण्टा तयारी अवस्थामा रहेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्