गलेश्वर । रोजगारीका लागि सिङ्गापुर र मलेशियामा दुई दशक बिताएर स्वदेश फर्किएका म्याग्दीका एक युवा आफ्ना बाबु–बाजेको पेसालाई निरन्तरता दिन परम्परागत घुम्ती गोठमा भेडापालन गरेर मनग्य आम्दानी गर्नाका बिदेशमा रोजगार खोज्न जानेहरुका सामु उदाहरणीय बनेका छ । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले आफ्ना पिता पुर्खाको पुख्र्यौली पेसालाई नै निरन्तरता दिन धवलागिरि हिमालको काखमा ६०० बढी भेडापालन गर्दै आएका हुन् । विगत पाँच वर्षदेखि धवलागिरि र रघुगङ्गा गाउँपालिकाका लेकाली क्षेत्रमा घुम्ती गोठ सञ्चालन गरी भेडापालन गर्दै आएका उनी यतिबेला ६०० बढी भेडाको बथान लिएर धवलागिरि गाउँपालिकाको मुदी, बगर, नाउरा, चेचुङ र खिबाङ हुँदै धवलागिरि हिमालको बेसक्याम्पतिर लागेका छन् ।
छन्त्यालले भने, “यो मेरा पिता पुर्खाको थलो हो, यहाँ मेरा पूर्वजका पैतालाका डोब छन् । तिनै डोबलाई पछ्याउँदै मैले विदेशको चमकदमक र शहरको सुख सयललाई छोडेर भेडापालन रोजेको हुँ ।” उनको परिवारको बसोबास पोखरामा रहे पनि वैदेशिक रोजगारी त्यागेर फर्किएका छन्त्यालले आफ्ना पुर्खाले जीवन बिताएको जङ्गल र भिरपाखा नै रमाइलो लाग्ने र जीवनको अन्तिम समयसम्म पनि भेडापालन नै गर्ने बताए । भेडाको बथान लिएर धवलागिरि गाउँपालिका–५ र रघुगङ्गा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) आधार शिविरमा जान लागेका उनले व्यावसायिकरुपमा भेडापालन गर्ने कृषकको सङ्ख्या घट्दै गएकामा दुःख लागेको बताए । “दुःख त हुन्छ तर, आफ्ना बाबु बाजेले गरेको काम गर्न सङ्कोच लाग्दैन”, छन्त्यालले भने, “देशविदेश घुमियो, रमाइलो पनि गरियो तर आफ्नो जन्मभूमिमा आफ्नै पुर्खाले गरेको काम गर्दा पाइने आनन्द कतै पाउन सकिएन ।”
एक वर्षको अवधिमा १०० बढी भेडा बिक्री भएका र भेडा बिक्री गरेर रु. २५ लाख भन्दाबढी आम्दानी भएको जानकारी उनले दिए । उच्च हिमाली क्षेत्रका विभिन्न लेक, खर्क र जङ्गलमा घुम्ती गोठमार्फत भेडापालन गर्नु चुनौतिपूर्ण काम भए पनि आम्दानी र आनन्द दुवै प्राप्त हुने भएकाले आफूले यो पेसालाई रोजेको छन्त्यालले बताए । बिहान उठेर भेडाको गणना गर्दै उनको दिन सुरु हुन्छ । त्यसपछि भेडाको दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने छन्त्याल लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराइसकेपछि पुनःगोठमै फर्केर भेडाको स्याहारमै लाग्नुहुन्छ ।
“जङ्गलको बास, फोन र इन्टरनेटको त परको कुरा रेडियोसमेत सुन्न सकिँदैन । वर्षा, हिमपात केही भन्न पाइँदैन । गोठालाको जीवन सजिलो त छैन तर स्वच्छ र प्राकृतिक वातावरणमा आफ्नै राजीखुसीको काम गर्न पाउँदा आनन्द लाग्छ”, उनले भने । छन्त्यालले विदेशमा आर्जन गरेको रकम र ऋणसमेत गरेर पाँच वर्षअघि करिब रु. ५० लाख लगानी गरेर भेडापालन सुरु गरेकोमा घुम्ती गोठमा अहिले झण्डै ६०० भन्दाबढी भेडाबाख्रा छन् । आफूबाहेक दुई हेरालु राखेका उनले आफ्नो पुर्खाले अँगालेको तर पछिल्लो पुस्ताले बिर्सदै गएको भेडापालन पेशालाई अवसर र चुनौती दुवैरुपमा लिएको बताए ।
“हिजो हाम्रा पुर्खाले यहीँ पसिना बगाए, कतिको यस्तै गोठमै जीवन बित्यो तर आज यो पेशा नै सङ्कटमा पर्दै गएको छ, यसलाई नयाँ पुस्ताले नअगाल्ने हो भने हाम्रो भेडापालन पेशा नै हराएर जान्छ”, छन्त्यालले भने । धवलागिरि गाउँपालिका क्षेत्रमा भेडापालनको प्रचुर सम्भावना रहेकाले आफूले पनि यस पेशालाई अगालेको उनले बताए । पछिल्लो समय यस क्षेत्रमा रहेका परम्परागत गोठ विस्तारै घट्दै गएको, युवाको आकर्षण नबढेको र पुराना गोठ पनि बिक्री गर्ने प्रचलन बढेकाले भेडापालन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि स्थानीय सरकार र सम्बद्ध निकायको ध्यान जान जरुरी रहेको छन्त्यालको भनाइ थियो । यस क्षेत्रमा अहिले करिब आठ भेडीगोठ छन् । धवलागिरिको मल्कबाङ, मलम्पार, खिबाङ, मराङ र रघुगङ्गाको पात्लेखर्क, दुवाडी, रायखोर, पाखापानी, चिमखोलालगायत व्यक्तिको च्यामली चौर, आधार शिविर, ऋरु, चौरावन, नयाँवन, रिखार र ताङ्गे, भाङ्गे फाँटक्षेत्रमा भेडीगोठ छन् । धवलागिरिको मुदी र गुर्जामासमेत व्यावसायिक भेडापालन हुदैँ आएको छ । बेंसीदेखि धवलागिरिका आधार शिविरसम्म नै भेडीगोठ सारिरहने प्रचलन रहेको छ । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्