×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोमान्थाङको पर्यटन फर्कियो पुरानै लयमा, ३५ होटल पाहुनाले भरिभराउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लोमान्थाङको पर्यटन फर्कियो पुरानै लयमा, ३५ होटल पाहुनाले भरिभराउ

Artha Sarokar

१७ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । मुस्ताङको प्रमुख पर्यटकीयस्थल लोमान्थाङमा पर्यटकको आगमन हुनथालेपछि पुरानै लयमा फर्किन थालेको छ । कोरोनाको महामारीका कारण यसअघिका दुई वर्ष सुनसान बनेको लोमान्थाङमा चालु यामदेखि पर्यटकको चहलपहल बढेको हो । लोमान्थाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष टासी गुरुङले दुई वर्षपछि पर्यटकको आगमनले पुरानै लयमा फर्किएको बताए । “होटल र होमस्टे पाहुनाले भरिएर घरमा समेत सुताएका छौँ,” उनले भने, “यसअघिको दुई वर्ष पर्यटक आगमन शून्य थियो ।” आइतबार सकिएको लोमान्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले मनाउने सबैभन्दा ठूलो पर्व तिजीमा हालसम्मकै धेरै पाहुना भित्रिएका अध्यक्ष गुरुङले बताए ।

लोमान्थाङ सीमा प्रहरी चौकीका अनुसार जेठ महिना सुरु भएयता ३८९ विदेशी पर्यटक भित्रिएका छन् । लोमान्थाङ प्रवेशका लागि विदेशी पर्यटकले १० दिनका लागि प्रतिव्यक्ति पाँच सय डलर नेपाल सरकारलाई प्रवेश शुल्क बुझाउनुपर्छ । लोमान्थाङमा रहेका ३५ होटल पाहुनाले भरिभराउ छन् । चैत–वैशाख–जेठ र असार महिना लोमान्थाङ भ्रमणका लागि उपयुक्त समय हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको लोमान्थाङ संरक्षण कार्यालयका कर्मचारी रामबहादुर गुरुङले अभिलेख नराखिए पनि विदेशीको तुलनामा नेपाली पर्यटक धेरै आएका छन् भने । सडक यातायातको सहज पहुँचसँगै लोमान्थाङमा स्वदेशी पर्यटकहरु बढेका उनले बताए । जोमसोम–कोरला ११० किलोमिटर दूरीको सडक स्तरोन्नति भएपछि अहिले पोखरादेखि एकै दिनमा लोमान्थाङ पुग्न सकिने भएको छ । समथर, नाङ्गा र फुस्रा पहाडले घेरिएको लोमान्थाङ आसपासका क्षेत्रमा गुम्बा, गुफा, दरबार, लोवा समुदायको कला संस्कृति र हिमाली जीवनशैली आकर्षण बनेका छन् ।

स्पेनका पावलले लोमान्थाङको पृथक र आकर्षक भूगोल, जीवनशैली, पुराना सम्पदा, कला र संस्कृति अवलोकन गर्न पाएकामा खुसी व्यक्त गरे । काठमाडौँबाट आएका सिर्जन घर्तीले लोमान्थाङलाई जीवन्त इतिहासका रुपमा पाइएको बताए । तीस फिटभन्दा अग्लो माटोको पर्खालले घेरिएको बस्तीको बीचमा लोमान्थाङ दरबार छ । यहाँका घर, दरबार, गुम्बा सबै माटोले बनेका छन् । प्रकृति, संस्कृति, रहनसहन, संस्कार र मौलिक जीवनशैली आदि सुन्दरताकै कारण लोमान्थाङ पर्यटकको रोजाइमा परेको पथप्रदर्शक अमरसिंह दुलालले बताए ।

लोमान्थाङ, छोसेरको झोङ र चराङको गुफाभित्र अनौठा खालका कलाकृति र सामग्रीहरु पनि छन् । चराङ, मराङ र लोमान्थाङका मौलिक प्रविधिको प्रयोग गरेर निर्माण भएका गुम्बाहरु पनि यहाँको आकर्षणको विषय बनेको छ । लोमान्थाङबाट तिब्बतको सिमानामा रहेको कोरला नाका, छोसेर र छोन्हुपको भ्रमण गरी पुनः लोमान्थाङमै बास बस्न फर्कने गरेका छन् । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी