Skip to content
LAXMI SUNRISE BANK

आरन पेशा सङ्कटमा पर्दै, पुख्र्यौली पेशाले खानै नपुग्ने अवस्था

अर्थ सरोकार

बलेवा । कुनैबेला उनको आरनमा धेरै व्यक्ति आउँथे । अहिले आरनमा ल्याउने सामान नै छैन । खेती किसानी छाडेर बजारमा बस्ने भएपछि आरन पेशा सङ्कटमा पर्दै गएको छ । बागलुङ नगरपालिका–१ रामरेखाका ६३ वर्षीय बमबहादुर विश्वकर्माले यस्तो अवस्था अनुभव गरेका छन् । अनुभव मात्र होइन उनले आफ्नै जीवनमा पुख्र्यौली पेशाले खानै नपुग्ने अवस्था ल्याएको बताउन थालेको छ । दैनिक २० देखि ३० व्यक्तिले आरनमा सेवा लिन आउँदा उनको राम्रो कमाइ थिए । कतिपयले नगद दिन्थे भने कतिपयले अन्न दिँदा उनको घरपरिवार चलेका थिए ।

अहिले भने दैनिक आरनको सेवा लिन आउने नै घटेका छन् । त्यसैले उनको कमाइ घट्दै गयो । त्यही पेशाले परिवार पाल्नुपर्ने बाध्यता छ । “अहिले दिनमा रु. ५०० सम्म कमाइ हुन्छ, अन्न भने पाइदैन,’ विश्वकर्माले भने, “किनेर खानुपर्छ, यो पेशाको भरमा बाँच्न गाह्रो भइसक्यो ।” यो पेशाबाटै उनले चार छोरा र दुई छोरी हुर्काएका थिए । तर अहिले समस्या बढ्दै गएको छ । विश्वकर्माले भने, “पेशा छाडौँ खान केही छैन, नछाडौँ कति दुःख गरिरहने रु” पुख्र्यौली पेशा बाहेक अन्य काम पनि उनले जानेका छैन् । परम्परागत रुपमा उनले फलाम ल्याएर हँसिया, कुटो, कोदालो, खुकुरी र दाउ बनाउने गरेका छन् ।

पछिल्लो समय कोइलासमेत नपाउँदा काममा अप्ठ्यारो भएको विश्वकर्माले बताए । “पहिला जङ्गलमा गएर कोइला तयार पारिन्थ्यो, अहिले जङ्गल जान पाइँदैन”, उनले भने, “बजारको कोइला किन्दा महँगो पर्छ ।” घरमा कमाइ घटेको र छाक टार्न धौधौ भएपछि उनका छोरा खाडीमुलुक गएका छन् । कमाइ नभएकोले ऋण तिर्न सास्ती भएको उनले गुनासो गरे । एक छोरा बिरामी भएकोले घरमै बस्नुहुन्छ । बजारमा आधुनिक र बनिबनाउ हतियार आउन थालेपछि उनको जस्तै धेरैको पेशा सङ्कटमा पर्दै गएको छ । “खेतीपाती गर्नेको सङ्ख्या घट्दै गएको छ, कुटो कोदालोको प्रयोग पनि घट्दै गएको छ”, विश्वकर्माले भने, “पुख्र्यौली पेशा सङ्कटमा पर्ने भयो ।” –रासस

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK