×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेनीको ऐतिहासिक कोतघर पुनःनिर्माण, पर्यटकको बसाइँ लम्ब्याउन सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बेनीको ऐतिहासिक कोतघर पुनःनिर्माण, पर्यटकको बसाइँ लम्ब्याउन सहयोग

Artha Sarokar

३ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । बेनी नगरपालिका–८ स्थित ऐतिहासिक कोतघरको जीर्णोद्धार तथा पुनःनिर्माण भएको छ । बाइसेचौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा सोह्रौ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण बनेका थिए । बेनी नगरपालिका र विभिन्न दाताको कोतघर पुनःनिर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले बताए ।

पुनःनिर्माणका लागि नगरपालिकाले चालू आर्थिक वर्ष २०७८/७९ मा रु. आठ लाख विनियोजन गरेका थिए । नगरपालिकाको अनुदानको अतिरिक्त कोतघरमा केही सामग्री दाताले पनि सहयोग गरेका छन् । “छानो चुहिने, भुइँमा पानी जम्ने र पर्खाल चिरा पर्न थालेको थियो”, उनले भने, “पुरानोस्वरुप कायम रहने गरी संरचना बनाएका छौँ ।” गत फागुनको तेस्रो हप्तादेखि कोतघरको पुरानो छाना र पर्खाल भत्काएर नयाँ निर्माण थालिएका थिए ।

छानोमा तीन गजुर राखिएको कोतघरको झ्याल, ढोका र टुँडाल कलात्मक शैलीका छन् । भक्तपुरबाट इँटा, काठ र मजदुर ल्याएर कोतघर बनाएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताए । कोतघर वरपर घुम्न मिल्ने र बत्ती बाल्ने ठाउँ बनाइएको छ । वि.सं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनी थियो । तत्कालीन पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेका थिए ।

ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायतका हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार बनाएका थिए । पौराणिक महत्व, मौलिकता र इतिहास ननासिने गरेर कोतघर पुनःनिर्माण भएको बेनी नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष रामकृष्ण बराइलीले बताए । “ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न व्यवस्थापन र संरक्षण गरिएको हो”, उनले भने, “रु. पाँच लाख बजेटबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई व्यवस्थित र संरक्षण गर्न पूर्वाधार निर्माण भएको छ ।”

सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा पेभर इँटा राखेर आकर्षक बनाइएको छ । यसअघि उपयोगविहीन रहेको सो जग्गामा बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्ने गरी पूर्वाधार बनाइएको छ । साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी भएको छ । यस कोतघरमा वडादसैँ र चैते दसैँमा पूजाआजा तथा बलि चढाउने गरिन्छ । कोतघरलाई बेनीमा भित्र्ने पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन पहल गर्ने बेनपा–८ का अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । म्याग्दी र मुस्ताङ घुम्न आउने पर्यटकको बसाइँ लम्ब्याउन सहयोग पुग्ने उनले बताए । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी