×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Ground Zero : किन ‘गिजोलिंदैछ’ सेयर लगानीकर्ताको आन्दोलन ? कहाँ हो समस्या ? के हो समाधान ? अव के हुन्छ ?

काठमाडौँ । बिगत १० दिन देखि सेयर लगानीकर्ता तिलक कोइराला आन्दोलनमा छन् । विभिन्न १९ बुँदे माग राख्दै कोइराला नेपाल धितोपत्र बोर्ड अगाडी आमरण अनशनमा बसिरहेका छन् । स्वास्थ्यस्थिति बिग्रंदै जाँदा उनलाई पटक-पटक अस्पताल लानुपरेको छ । नियामक बोर्ड आफु लगानीकर्ताका मागहरुप्रति सकारात्मक भएको र कार्यान्वयन समिति बनाउन तयार भएको बताईरहेको छ भने यता लगानीकर्ताहरु पहिला कुन मितिमा कुन काम सक्ने स्पष्ट खाका आउनुपर्ने अडानमा छन् ।

यसैबीच केहि दिन अगाडी नै समस्या समाधान गर्न बोर्ड तातेको थियो । बोर्डका अध्यक्ष रमेश कुमार हमालले अनशनस्थलमै गएर आफु सबै समस्याको समाधान गर्न तयार भएको बताउँदै कोइरालालाई अनशन तोड्न आग्रह गरे । कोइरालाले पनि बोर्डका अध्यक्षले भनेका कुरा लिखित रुपमा मागे । उनले लेखित रुपमा पत्र मागेपछि नेपाल धितोपत्र बोर्डले समस्याको समाधानका लागि कार्यन्वयन समिति बनाउने भन्दै पत्र लेख्यो । यतिसम्म कि बोर्डले अनशन तोडाउन जुससमेत तयार गर्यो ।

तर पत्रमा ‘अनशन तोडिएपछिमात्र समिति बनाउने’ उल्लेख भएपछि अनशनमा बसेका कोइरालाले अनशन तोड्न मानेनन् । उनले अनशन तोड्न नमानेपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पुन: अनशनरत सेयर लगानीकर्ताको माग सम्बोधनका लागि कार्यान्वयन समिति बनाउन कुनै पनि समस्या नभएको भन्दै आन्दोलनरत पक्षका तर्फबाट समितिमा बस्नेहरुको नाम मागे । जव संघर्ष समितिबाट दिपेन्द्र अग्रवाल सहभागी हुनुपर्छ भन्ने लाइनको कुरा आन्दोलनरत सेयर लगानीकर्ताका पक्षबाट गयो, तव बोर्ड अध्यक्ष हमाल बिच्किए ।

केहि समय अगाडी अग्रवालको गोल्डम्यान इन्भेष्टमेन्टलाई कारवाही प्रक्रिया अगाडी बोर्डले नै बढाएकाले अग्रवाल समितिमा बस्नेगरी समिति नबन्ने अडानमा अहिले बोर्ड छ । यतिसम्म कि बोर्ड अध्यक्ष हमालले उनकै कारण आन्दोलन गन्हाएको अभिव्यक्तिसमेत सार्वजनिक रुपमै दिईसकेका छन् । हुन त दिपेन्द्र अग्रवालले पनि आफु समितिमा नबस्ने बरु हमालकै कारण धितोपत्र बोर्ड गन्हाएको भन्दै प्रतिवाद गरिसकेका छन् । अव अग्रवाल पनि समितिमा बस्न अव चहादैनन् भन्ने स्पष्ट भईसकेको छ ।

किन ‘गिजोलिंदैछ’ सेयर लगानीकर्ताको आन्दोलन ?
सेयर लगानीकर्ताको आन्दोलनमा धेरैका आआफ्नै स्वार्थ छन् । धेरैलाई लागेकोचाहिं के छ भने -‘तिलक कोइरालाको माग पूरा भयो वा अनशन तोडिएको केहि समयभित्रै बजार बढ्छ ।’ जव कि कोइराला स्वयमले आफ्नो आन्दोलन बजार बढाउन नभएको स्पष्ट पारिसकेका छन् । तर अनशन सफल भएको खण्डमा बजार बढ्छ भनेर बोर्ड परिसरमा पुगिरहेका धेरै सेयर लगानीकर्ता बजार निरन्तर घट्न थालेपछि आन्दोलनमै आउन छोडेका छन् ।बोर्ड परिसरमा मान्छेको उपस्थिति कम हुन थालेपछि बोर्डका अधिकारीहरु पनि आन्दोलन तुहिंदैछ भन्ने निष्कर्ष बनाएर बसिरहेका छन् ।

यहि बेला लगानीकर्ताको आन्दोलनभित्र लगानीकर्ताकै नेताहरुको पनि फरक-फरक मत छ । स्पष्ट भन्दा- लगानीकर्ताहरुका नेता पनि कसले जस पाउने र कसले अपजश भोग्ने विषयमा बाँडिएका छन् । यतिसम्म कि कतिपय लगानीकर्ताका नेताहरु यो आन्दोलनमा सक्रिय नहुनेगरी ‘साइड’ लागिसकेका छन् । समग्रमा लगानीकर्ताका नेता, बजार बढ्छ भन्ने आशामा मात्र आन्दोलनमा जाने सेयर लगानीकर्ता, दिपेन्द्र त हुँदै हुन्न है भन्ने बोर्ड र दिपेन्द्र विना हुन्न भनेर उक्साउने लगानीकर्ताका केहि मान्छेका कारण आन्दोलन गिजोलिएको छ ।

अर्कोतर्फ आन्दोलनमा अहिले धेरै ‘सुराकी’हरु पनि खटिएका छन् । आन्दोलनमा आन्दोलनकारीजस्तो बन्ने तर त्यहाँको सबै रिपोर्ट लगेर विभिन्न राजनीतिक दलका नेताहरुलाई गलत रुपमा प्रस्तुत गर्नेहरुले पनि आन्दोलन गिजोलिरहेका छन् । यतिसम्मकि बोर्ड परिसरमा आएका केहि ‘सुराकी’हरुले आन्दोलन अव केहि दिन वास्ता नगरे आफैं तुहिन्छ भनेरसमेत विभिन्न ठाउँमा रिपोर्ट दिईरहेका छन् । उनीहरुकै रिपोर्टका आधारमा अहिले आन्दोलनको गलत प्रचारवाजी गर्ने कामसमेत भईरहेको छ ।

कहाँ हो समस्या ? के हो समाधान ?
अव खासै समस्या कतै पनि छैन । दिपेन्द्र अग्रवालले आफु समितिमा नबस्ने आशय व्यक्त गरिसकेका छन् भने दिपेन्द्र अग्रवाल नभएको खण्डमा आफुहरु वार्ताका लागि तयार भएको संकेत धितोपत्र बोर्डले दिईसकेको छ । यहाँ समस्या भनेकोचाहिं सटिक रुपमा पहल गर्ने नेताको कमी हो । मध्यस्तता गर्ने केहि बौद्धिक लगानीकर्ताका नेताहरु आन्दोलनबाटै साइड लाग्नु समस्या हो । यदी उनीहरुले पहल गर्ने हो भने अव अनशनरत आन्दोलनकारी र धितोपत्र बोर्डबीच कार्यान्वयन समिति बनाउन कुनै पनि समस्या छैन । र सो समिति तिलक कोइरालाले भनेझैं कुन काम कहिले गर्ने भन्ने विषयको खाकासहित बनाउन बोर्ड पनि तयार छ । कसैले राम्रोसँग मध्यस्तता गर्ने हो भने आन्दोलन पनि सफल हुन्छ, र दुवै पक्षको जित हुन्छ ।

अव के हुन्छ ?
नेपाल धितोपत्र बोर्ड र आन्दोलनरत सेयर लगानीकर्ता वार्तामा कुनै न कुनै किसिमले एक अर्कासँग लचक भएको खण्डमा वार्ता भई कार्यान्वयन समिति बनाउने सहमति हुनेछ भने त्यसपछि आन्दोलन सफल भएको उद्घोष गरेर तिलक कोइरालाले अनशन तोड्नेछन् । अवको केहि दिनसम्म पनि बोर्ड र अनशनरत सेयर लगानीकर्ताबीच मध्यस्तता गर्ने र एक अर्काको कुरा सुन्ने-बुझ्ने काम भएन भने केहि दिनपछाडि बाध्य भएर कोइरालाले अनशन तोड्नेछन् र आन्दोलन असफल हुने खतरा छ । हुन त आन्दोलन असफल नहोस् र सबैले जितेको भान होस् भनेर धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल आफैंलेसमेत पहल गरिरहेका छन् । यो निकै सकारात्मक कुरा हो ।यो तथ्य बुझेर लगानीकर्ताहरु पनि केहि लचक हुने हो र दुवै पक्षले ‘मेरो गोरुको बार्है टक्का’ भन्ने नीति नलिने हो भने आन्दोलन सफल हुन्छ र दुवै पक्षको जित हुन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: