पाँचथर । दिनानुदिन बजार बढ्दै जाँदा पाँचथर–इलाम सीमावर्ती घुर्बिसेपञ्चमी बजारमा खानेपानीको अभाव चुलिएको छ । विगतमा खानेपानीका लागि प्रयोगमा रहेका मुहान क्रमशः सुक्दै जानाका साथै कतिपय मुहानबाट ल्याइएको पानी बन्द भएपछि घुर्बिसेपञ्चमी बजारमा खानेपानी अभाव खड्किँदै गएको हो । अहिले निकै कम मात्रै पानी यहाँका धारामा आउने गरेको छ । पानी कम भएपछि पानी भर्न रातभरी पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । अझ बर्खा लागेपछि स्वच्छ पानी नआउने र धमिलो पानी पिउनुपर्ने स्थानीयवासीको बाध्यता छ ।
घुर्बिसेपञ्चमी बजार ब्यवस्थापन समितिका पूर्वअध्यक्ष देवीचन्द्र आङ्देम्बेका अनुसार विगतमा स्थानीयस्तरका मुहानसमेतबाट प्रशस्तै पानी आउथ्यो । यहाँ रहेका धाराखोल्सा, बोहोराटोललगायत मुहानबाट बजारमा पानी ल्याउने गरिएका थिए । यस्तै फिदिम नगरपालिका–८ इथुङबाट पाइपलाइनमार्फत पानी लगिएका थिए । इथुङका स्थानीयवासीले मुहान थापेर पानी स्थानीयस्तरमै प्रयोग गर्न थालेपछि निकै कम मात्रै घुर्बिसेपञ्चमी बजारका लागि प्रवाह हुने गरेको छ ।
पाँचथर र इलामको सीमामा रहेको घुर्बिसेपञ्चमी बजारमै फाल्गुनन्द गाउँपालिकाको अस्थायी केन्द्र भएपछि व्यापारिक चहलपहल झनै बढ्न थाल्यो । राँके–रबि–भेडेटार सडकले समेटेको यस बजारमा उक्त सडक कालोपत्र हुने भएपछि वरिपरीका गाउँका स्थानीयवासीको आकर्षण बढ्दै गयो । बजारमा बसाईं सरेर आउनेको सङ्ख्या बढेसँगै घर थपिँदै गए, जनसङ्ख्या बढ्दै गयो ।
खानेपानी समस्या समाधानका लागि फाल्गुनन्द गाउँपालिका पाँचथर र फाकफोकथुम गाउँपालिका इलामले करीब रु ३५ लाख रकम संयुक्तरुपमा लगानी गरी तीन वर्षअघिदेखि यहाँ डिपबोरिङ सञ्चालनमा ल्याएका थिए । स्थानीयवासीका अनुसार केही समय नियमित सञ्चालन भए पनि डिपबोरिङमा दैनिकजसो समस्या आई स्थानीयवासीको आवश्यकता पूरा गर्न सकिएको छैन् । विद्युत् महशुल महङ्गो पर्ने, विद्युत् नियमित नहुँदा डिपबोरिङबाट पानी ननिस्कने तथा डिपबोरिङ बिग्रिइरहने समस्या देखिएको छ ।
डिपबोरिङबाट सानो पानी प्रवाह हुने भए पनि शुल्क भने प्रतिघर मासिक न्यूनतम रु २५० पर्न जाँदा स्थानीयवासीले उक्त शुल्क तिर्न गाह्रो मान्ने गरेका छन् । बजार धेरै उचाइमा भएका कारण खानेपानीका लागि अन्य उपयुक्त मुहान प्राप्त नहुँदा खानेपानीको समस्या परेको हो । आङदेम्बेका अनुसार अहिले घुर्बिसेपञ्चमीका करीब ३०० परिवारले खानेपानीको समस्या भोगिरहेका छन् ।
खानेपानीको समस्या बिकराल बन्न लागेपछि गाउँपालिकाको प्रयासमा अहिले फाल्गुनन्द–३ चिम्फुलामा खानेपानीको मुहान लिई खानेपानी आयोजनाको निर्माण थालिएको छ । फाल्गुनन्द–४ पुरानोपञ्चमीका स्थानीयवासीले आफूसमेत स्वच्छ खानेपानीको सुविधाबाट बञ्चित भएको भन्दै उक्त पानी आफूहरुले पनि पाउनुपर्ने माग गर्दै अवरोध गरेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामले उक्त आयोजना निर्माणकार्य अगाडि बढाएको छ । फाल्गुनन्द गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बृजहाङ आङदेम्बे निर्माणाधीन आयोजनाको विवाद चाँडै समाधान गरी आयोजनालाई पूर्णता दिने बताउँछन् । “पुरानो पञ्चमीवासीसँग सहमति जुटाई चाँडै आयोजना निर्माण अघि बढाउछौँ”, आङदेम्बेले भने, “मैले जिम्मेवारी पाएदेखि नै यसका लागि पहल थालेको छु ।” –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्