×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुकुमकोटमा खानेपानीको अभाव, नागरिकको दैनिकी कष्टकर बन्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रुकुमकोटमा खानेपानीको अभाव, नागरिकको दैनिकी कष्टकर बन्दै

Artha Sarokar

२५ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रुकुम (पूर्व) । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–६ मा खानेपानीको समस्या देखिएको छ । जिल्ला सदरमुकामसमेत रहेको रुकुमकोटका केही बस्तीमा खानेपानीको अभावले नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ । जिल्लामा विद्युत् सेवा अनियमितताले यस वडाको लुफासा लिफ्ट आयोजनाको खानेपानी उपभोक्तासम्म पुग्न नसक्दा समस्या आएको हो । हावाहुरी र वर्षा हुने बित्तिकै जिल्लामा विद्युत् सेवा अवरुद्ध हुन्छ । विद्युतकै कारण यहाँका नागरिक पानीको समस्यासँग पनि जुध्न बाध्य छन् । ६ नं वडाको छिप्रीदह, चिउरेनी, आला र बाहुनडेराका १८६ घरधुरीका नागरिक पानीको अभावले समस्या खेपिरहेका छन् ।

धारामा पानी नझर्दा दैनिक घरायसी कामकाज गर्न, पिउन, सरसफाइ गर्न समस्या हुने गरेको सिस्ने–५ छिप्रीदहका वसन्तकुमार श्रेष्ठले बताए । धारामा पानी नझरेपछि लुस्फा धाराबाट पानी बोक्नुपर्ने बाध्यता रहेको छ । छिप्रीदहमै होटेल गर्दै आउनुभएका गोपालप्रसाद सुनारले दैनिक २०/२५ मिनेट धाराबाट पानी झर्ने गरेको बताउँदै त्यो पानीले भाडा धुन, चर्पीमा प्रयोग गर्न र खाना पकाउन नपुग्दा सास्ती खेप्नुपरेको गुनासो गरे ।

छिप्रीदहमै मेडिकल गर्दै आएका प्रकाश नेपालीले पनि पानी अभावको कारण उपचारसँगै अन्य सरसफाइको काममा कठिनाइ हुने बताए । उनले अहिले मोटरसाइकलमा लुस्पाबाट पानी बोकेर प्रयोग गर्दै आएको बताए । हिमशिखा बोर्डिङ स्कुलका सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण गौतमले पानी अभावको कारण विद्यालयका शिक्षक, बालबालिकालाई चर्पी प्रयोग गर्न समस्या भएको बताए । उनका अनुसार त्यहाँका विद्यार्थीले अहिले पिउने पानी घरबाटै बोतलमा भरेर ल्याउने गरेका छन् भने चर्पीका लागि बाहिर जानुपर्ने बाध्यता छ ।

लुस्फा लिफ्ट आयोजनाको पानी वितरण गरिरहेएका उपसमितिका अध्यक्ष सुशील गौतमले बत्ती अनियमितताको कारण यो समस्या आएको बताए । बत्ती नहुँदा लिफ्ट नचल्ने र आकासिएको मूल्यको कारण डिजेल किनेर जेनेरेटर चलाउने अवस्था नभएकाले पानीको समस्या भएको उनले बताए । अहिले मुस्किलले केही समय भए पनि जेनेरेटर चलाएर लिफ्टमार्फत पानी वितरण गरिरहेको उनको भनाइ छ । खानेपानीको यो समस्या समाधान गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । यसअघि रुकुमकोटमा २०४५ सालमा राजा वीरेन्द्रले उद्घाटन गरेको ठाराखोला मुहानको खानेपानीले धानिरहेका थिए ।

अहिले रकुमकोट जिल्ला सदरमुकामका रुपमा विकास र बढ्दो बजारीकरणका कारण पुरानो खानेपानी आयोजनाले धान्न नसक्दा लिफ्ट आयोजनाको निर्माण गरिएका थिए । गएको वर्ष असारबाट सञ्चालनमा आएको लिफ्ट खानेपानी आयोजनाबाट पनि विद्युत्का कारण पानी वितरण हुन नसकेपछि नागरिक समस्यामा परेका हुन् । आयोजनाले अझै पूर्णता भने पाइसकेको छैन । आयोजनाको लागत अनुमान खर्च साढे तीन करोड हो । अहिले पनि यसै आयोजनाको विभिन्न ठाउँमा ट्याङ्की निर्माणको काम चलिरहेको छ । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी