×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढी ब्याज दिंदा र घरजग्गाको लगानी ठुलो हुँदा चीनका ४ बैंकहरु डुबे, सेञ्चुरीसहित नेपालका केहि बैंक पनि ‘चीन-पथ’मै !

PRIME CA

बढी ब्याज दिंदा र घरजग्गाको लगानी ठुलो हुँदा चीनका ४ बैंकहरु डुबे, सेञ्चुरीसहित नेपालका केहि बैंक पनि ‘चीन-पथ’मै !

२८ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौं । आइतबार सार्वजनिक भएको एउटा अन्तराष्ट्रिय समाचारले नेपालको बैंकिङ क्षेत्र तातेको छ । समाचार चीनको भए पनि, सो समाचारले नेपालको बैंकिङ क्षेत्र तातेको छ । र त सोमबार हरेकजसो बैंकमा चीनको यहि समाचार चर्चामा छ । समाचार चिनियाँ नागरिकहरुले विभिन्न बैंकहरुले आफ्नो पैसा फिर्ता गर्न नसकको भन्दै आन्दोलन गरेको विषयमा थियो । चीनका ति बैंकहरूले अधिकांश सर्वसाधरणको पैसा घरजग्गामा लगानी गरेको र अनावश्यक रुपमा बढी ब्याज दिंदा यस्तो समस्या आएको खबर सार्वजनिक भएपछि नेपालमा पनि कतै त्यस्तै त हुने होइन ? भन्ने चर्चा बैंकिङ क्षेत्रमा सुरु भएको हो ।
बढी व्याज दिन्छु भनेर निक्षेप उठाएका बैंकले पछि आफ्नो निक्षेप पनि फिर्ता नदिएको भन्दै चिनियाँ नागरिकहरु आन्दोलनमा छन् । आन्दोलनरत निक्षेपकर्ताहरुले चीनको केन्द्रिय बैंक ‘पिपुल्स बैंक अफ चाइना’को अगाडि ‘मेरो निक्षेप फिर्ता गर’ भन्दै प्रदर्शनसमेत गरेका छन् । चीनका बैंकहरुले घरजग्गा व्यवसायमा बढी लगानी गर्दा आइपरेको यस्तो संकटलाई नेपाली बैंकहरुको पछिल्लो लगानीसँग जोडेर धेरैले चर्चा गरिरहेका छन् ।
फोटो : एजेन्सी
चीनमा डुबेका ती बैंक र नेपालका केहि बैंकबीच यस्तो समानता :
केहि दिन अघि मात्र सेन्चुरी कमर्सियल बैंकले संस्थागत मुद्दती निक्षेपमा बैंकहरुले दिँदै आएको ब्याजमध्येकै उच्च ब्याज अर्थात १८ प्रतिशत दिएको खबर अर्थ सरोकारले सार्वजनिक गरेपछि अहिले सो बैंकको हालत पनि चीनकै बैंकको जस्तो हुने त होइन ? भन्ने चर्चा नेपाली बैंकिङ क्षेत्रमा सुरु भएको हो ।
निक्षेपकर्ताहरूको निक्षेप फिर्ता नदिने बैंकहरूमा हेनान प्रान्तका युझाउ सिनमिन शेङ भिलेज बैंक, शाङ्काई हुइमिन भिलेज बैंक, झेचेङ हुआङहुई कम्युनिटी बैंक र काइफेङ न्यू ओरिएन्टल ग्रामिण बैंक रहेका छन् । त्यहाँका पिडित नगरिकहरू बिगत ३ महिनादेखि आन्दोलनमा रहे पनि त्यहाँको केन्द्रीय बैंकले पिडितहरुलाई न्याय भने दिन सकिरहेको छैन । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार त्यहाँका बैंकहरु टाँट पल्टिएर ती बैंकहरुले अरवौं रकम बराबरको निक्षेप फिर्ता गर्न नसकिएको बुझिएको छ ।
चिनियाँ संचारमाध्यमहरुले जनाएअनुसार ती बैंकले गरेका दुई मुख्य गल्ती भनेकै बढी ब्याजदर दिनु र घरजग्गामा अनावश्यक लगानी गर्नु हो । यहि कारण डुबेका बैंकहरुसँग नेपालका केहि बैंकहरुको स्थिति मिल्छ । नेपालका बैंकहरुले पनि अहिले विभिन्न बहानामा १८ प्रतिशतसम्म ब्याजमा पैसा संकलन गरिरहेका छन् भने तीनै बैंकहरुको घरजग्गामा लगानीसमेत ठुलो छ ।
नेपालको सेन्चुरी कमर्सियल बैंकले केहि दिन अगाडी नेपाल विद्युत प्राधिकारणको संस्थागत मुद्दती निक्षेपमा १८ प्रतिशत ब्याज दिएको तथ्य बाहिरिएपछि कतै नेपालका बैंकहरु पनि चीनकै हविगतमा त पुग्ने होइनन् ? भन्ने प्रश्न उब्जिएको छ।
चीनमा डुबेका र नेपालमा रहेका बैंकहरुमध्ये अर्को समानता पनि छ- ‘घरजग्गामा अनावश्यक लगानी।’
चीनमा डुबेका बैंकहरुको लगानीको ठुलो हिस्सा घरजग्गामा थियो । कोभिडका कारण चीनमा घरजग्गाको कारोबार नराम्रोसँग तल खस्किएपछि बैंकहरुको ठुलो लगानी डुब्यो । यता, नेपालका केहि बैंकहरुले आफ्नो धेरैजसो लगानी घरजग्गामा लगाएका छन् । यहाँसम्म कि कृषि कर्जाका नाममा दिइएको कर्जासमेत घरजग्गामा लगानी गरिएकोसमेत पाइएको छ । नेपालका केहि धन्याड्य व्यापारीहरूलाई कृषि कर्जाका नाममा घरजग्गामा लगानी गर्न बैंकले पैसा दिएको तथ्य नेपाल राष्ट्र बैंकले तयार गरेको प्रतिवेदनमै उल्लेख छ ।
चीनको समाचार पढेका बैंकका नेपाली ग्राहक र निक्षेपकर्ता पनि यतिबेला कतै नेपाली बैंकहरुको स्थिति पनि त्यस्तै त हुने होइन ? भन्ने शंका गर्न थालेका छन् । हुन पनि पछिल्लो समय नेपाली बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभाव, विभिन्न बैंकहरुले दिन थालेको मनपरी ब्याज र घरजग्गामा बैंकहरुले गरेको अनावश्यक लगानीका कारण कतै नेपाली बैंकहरुको स्थिति पनि चिनियाँ बैंकहरुको जस्तै हुने त होइन ? भन्ने प्रश्न र शंका गर्ने ठाउँ पनि प्रशस्तै छ ।
‘राष्ट्र बैंकले हस्तक्षेप नगरे स्थिति भयावह हुन्छ’: बैंकर, ‘मौद्रिक नीतिमार्फत कडाई हुन्छ’ : राष्ट्र बैंक 
यता चीनको खबर पढेका धेरै बैंकरहरुले राष्ट्र बैंकले हस्तक्षेप नगरे नेपालका बैंकहरुको स्थिति पनि चीनकै जस्तो नहोला भन्न सकिने स्थिति नरहेको दाबी गरेका छन्  । ‘१८ प्रतिशत ब्याज भनेको त हदभन्दा पनि बढी हो । राष्ट्र बैंकले यस विषयमा समयमा हस्तक्षेप गरेन भने स्थिति जुनसुकै बेला पनि जे पनि हुन सक्ने खालको भईसकेको छ। ‘ एक बाणिज्य बैंकका सीइओले भने-  ‘नेपालमा पनि २०६४-६५ तिरजस्तो पैसा नै फिर्ता गर्न नसक्ने स्थिति त नहोला, तर यसरी नै अनावश्यक ब्याज लिने र पैसाजति घरजग्गामा लगाउने हो भने हाम्रो स्थिति पनि खासै गतिलोचाहिं छैन। ‘
यता नेपाल राष्ट्र बैंकका अधिकारीहरुले भने घरजग्गामा गरिएको लगानीमाथि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कडाई गर्नसक्ने बताएका छन् । ‘अव ब्याजदर माथिको हस्तक्षेप त खुला अर्थतन्त्रमा गर्ने कि नगर्ने भन्ने पनि कुरा आउँछ । हुन त राष्ट्र बैंकले यस अघि पनि केहि कडाई गर्न खोजेकै हो । तर त्यो दीर्घकालीन भएन । तर बैंकहरुले जे गरिरहेका छन्, त्यो ठिक भएन भनेर हामीले बैंकहरुलाई भनिनै रहेका छौं ।’ ती अधिकारीले अर्थ सरोकारसँग भने- ‘चीनकैजस्तो स्थिति आउन नदिनका लागि हामीले गर्नुपर्ने काम पनि पक्कै गर्नेछौँ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: