×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुरुकुलका गुरुआमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गुरुकुलका गुरुआमा

मेनुका श्रेष्ठ

१५ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

प्रेरणा शाह, जयन्ता निरौला र बन्दना कर्ण । महोत्तरी जिल्लाको मटिहानीस्थित श्री राजकीय संस्कृत माध्यमिक विद्यालयका तीन अगुवा ‘गुरुआमा’ । वि.सं. १७७५ मा स्थापित गुरुकुललाई यी गुरुआमाले ‘मिनी नेपाल’ बनाएका छन् । गुरुकुलमा अध्ययन गर्न छात्राहरूलाई आकर्षित गरेका छन् । अभिभावकहरूलाई प्रेरित गरेका छन् । गुरुकुलमा शिक्षिकाको प्रवेशपछि स्थानीय बासिन्दाले संस्कृतमा रुचि भएका छोरीलाई गुरुकुलमा पढ्न पठाउन थालेका छन् । अहिले गुरुकुलमा १५२ जना बटुकमध्ये २१ जना छात्राले विभिन्न कक्षामा अध्ययन गरिरहेका छन् ।

गुरुकुलकी पहिलो गुरुआमा हुन् प्रेरणा शाह । साहले विगत पाँच वर्षदेखि ज्योतिष विषय पढाइरहेकी छिन् । उनी मटिहानीकै हुन् । राम उच्च माध्यमिक विद्यालय, मटिहानीबाट एसएलसी उत्तीर्ण गरेकी प्रेरणाले ज्योतिष विषयमा पाँच महिने भाषा प्रशिक्षण लिएकी छन् । याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठबाट दश जोड दुई र स्नातक गरेकी उनले वाल्मीकि विद्यापीठ, काठमाडौँबाट संस्कृतमा आचार्य (स्नातकोत्तर वा मास्टर्स) गरेकी छन् । प्रेरणाको बुबालाई संस्कृतमा विशेष रुचि थियो । त्यसैले उनले पनि संस्कृतअन्तर्गत ज्योतिषशास्त्र पढ्ने विचार गरिन् । जागिर नपाए ज्योतिषी बनेर भए पनि अर्थोपार्जन गर्न सकिएला भन्ने सोचेर नै संस्कृत पढेकी उनी अहिले अरू छात्राका लागि संस्कृत पढ्ने प्रेरणाकी स्रोत बनेकी छन् ।

गुरुकुलकी शिक्षिका बनेपछिको प्रेरणाको अनुभव मिठो छ । उनी तीन वर्षे छोराकी आमा पनि हुन् । विवाहअघि ज्योतिष पढेकी केटी भनेर घरपट्टिकाले नाक खुम्च्याउने गर्दथे । अहिले भने ज्योतिष पढेर स्थायी जागिर खाँदैछ भनेर आफन्तले नाक फुलाउने गरेको उनको अनुभव छ । सुरुसुरुमा त प्रेरणालाई डर पनि लागेको थियो । एक त महिला, त्यसमाथि मधेसी । मधेसीमा पनि तेली जातकी । शिक्षक सेवा आयोगबाट शिक्षकमा नाम निकाले पनि गुरुकुलमा पढाउन जाँदा समाजलाई नपच्ने पो हो कि भन्ने डर थियो । तर, गुरुकुलको वातावरण सोचेभन्दा अत्यन्त राम्रो पाएको उनको अनुभव छ ।

‘गुरुकुलमा अनुशासन सिकाइने भएर पनि होला, म तेली महिला हुँदा पनि कुनै भेदभाव महसुस गरिनँ,’ प्रेरणा भन्छिन्, ‘अझ हामीलाई देखेर छात्राहरू पनि भर्ना भएका छन् । त्यो देखेर झन् खुसी लाग्छ ।’
‘महिला भएर अनि संस्कृत पढेर जागिर पनि पो पाइँदो रहेछ भनेर अहिले हाम्रो छात्राहरू पनि संस्कृत पढ्ने भन्छन्,’ उनी थप्छिन्, ‘संस्कृत पढ्न अहिले ब्राह्मण मात्र नभएर गैरब्राह्मण छात्रा पनि भर्ना हुन आएको देख्दा गर्व लाग्छ ।’

गुरुकुलकी अर्की गुरुआमा हुन्, जयन्ता निरौला । जयन्ताको अनुभव पनि सुखद छ । उनले विगत दुई वर्षदेखि गुरुकुलमा साहित्य विषय पढाइरहेकी छिन् । उनी ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका ३ की हुन् । धरानको पिण्डेश्वर विद्यापीठबाट शास्त्री (स्नातक वा ब्याचलर्स) गरेकी उनी हाल मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठबाट संस्कृत साहित्यमा आचार्य गर्दै छिन् ।

जयन्ता ब्राह्मण परिवारकी हुन् । उनका हजुरबुबा डिल्लीराम निरौला पण्डित हुनु हुन्थ्यो । हजुरबुबाकै निर्देशनमा उनी संस्कृत विद्यालयमा भर्ना भइन् । समयसँगै साहित्यप्रति पनि उनको मोह बढ्दै गयो । त्यसैले उनले संस्कृत साहित्यमा नै शास्त्री र आचार्य गर्ने निधो गरिन् र त्यसैअनुसार गरिन् पनि । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर (एमए) पनि गरेकी छन् ।

गुरुकुलकी अर्की शिक्षिका हुन्, बन्दना कर्ण । त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेकी उनी गुरुकुलमा भाषा-साहित्य पढाउँछिन् । कर्णको बताउछिन् उनको बुवा राज बल्लभ कर्ण मटिहानीस्थित गुठिमा खरदार पदमा कार्यरत रहदा गुरुकुललाई नजिकबाट नियाल्दथे। बुवाको संस्कृतप्रति इच्छा रहदा बुवाकै सुझावमा उनले यालना (याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ) बाट साहित्य संस्कृतमा दश जोड दुई (उत्तर माध्यमा) र स्नातक गरेकी हुन्। साथै भारतको कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालयबाट साहित्य संस्कृतमा आचार्य समेत गरेकि छिन् । उनको श्रिमान सन्तोष लाल कर्ण मटिहानीकै औषधि व्यवसायि हुन् । दुई सन्तानको आमा समेत रहेकी कर्ण विद्यालयका बटुकहरुलाई पनि आफ्नै सन्तान जस्तै सम्झिन्छिन्। उनी भन्छिन्, ‘मैले जुन सम्मान अहिले पाएकी छु, मेरा बटुकहरुले पनि भविष्यमा यहि सम्मान पाओस्।’

गुरुकुलमा गुरुआमाहरूको आत्मीय स्वभावबाट विशेषगरी छात्राहरू बढी आकर्षित र प्रभावित छन् । गुरुआमाहरूप्रति उनीहरूको अनुभव सकारात्मक रहेको छ । कक्षा ९ मा अध्ययनरत सुशीला भण्डारी पढ्नका लागि पनि गुरुकुलको शिक्षा एकदम उपयोगी रहेको बताउँछिन् । उनी अन्य आधारभूत विद्यालयमा भन्दा गुरुकुलको पढाइ फरक रहेको ठान्छिन् । उनका अनुसार, गुरुकुलमा पढाइसँगै अनुशासनको दायरा फराकिलो रहेको छ । उनी भन्छिन्, ‘यसले पढाइ थप सहज भएको छ ।’

सुशीला ओखलढुङ्गा जिल्लाको ओखरे गाउपालिकाकी हुन् । कक्षा ८ सम्म ओखलढुङ्गाकै श्री कालिका आधारभूत विद्यालयमा पढेकी उनी हजुरबुबा नन्दलाल भण्डारीको इच्छाअनुसार संस्कृत पढ्न देशको जेठो गुरुकुलमा पढ्न मटिहानी आइपुगेकी हुन् । ‘पहिलाको स्कुलमा पढाको कुरा धेरै राम्ररी बुझ्न सकेको जस्तो छैन जस्तो लाग्थ्यो, तर यहाँ त एकदम बुझाएर पढाउनु हुन्छ,’ सुशीला भन्छिन्, ‘झन् शिक्षिका हुँदा त हामीलाई एकदमै सजिलो भएको छ । महिनावारी हुँदा पनि सजिलै सहयोग माग्न सक्छौँ ।’ उनी भविष्यमा ज्योतिष विषयकी विज्ञ बन्न चाहन्छिन् ।

गुरुकुलमा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक गरी पाँच सय पूर्णाङ्कको अनिवार्य विषयको पढाइ हुन्छ । यसका अतिरिक्त जनसङ्ख्या शिक्षा, अनिवार्य संस्कृत, कर्मकाण्ड शिक्षा, वेद, ज्योतिष, न्याय, साहित्य, व्याकरणलगायतका अनिवार्य तथा ऐच्छिक विषयको पढाइ हुन्छ । यहाँ कक्षा ८ देखि १२ सम्मको पढाइ हुन्छ ।केही वर्षअघिसम्म पुरुष, त्यसमा पनि ब्राह्मणले मात्र पढ्ने गुरुकुलमा अहिले गैरब्राह्मणसँगै छात्राहरूले पनि अध्ययन गरिरहेका छन् । गुरुकुलमा हाल ६ प्रदेश र २७ जिल्लाका बटुकहरू अध्ययनरत छन् । बटुकहरू हरेक दिन ५ बजे उठिसक्छन् । ९ बजेसम्म पूजापाठ र रुद्राभिषेक गर्छन् । १० बजे विद्यालयको नियमित कक्षा सुरु हुन्छ ।

गुरुकुल अर्थात् श्री राजकीय संस्कृत माध्यमिक विद्यालयको इतिहास तथा वर्तमान सम्झनयोग्य छ । ३०४ वर्ष पुरानो यो गुरुकुललाई देशकै जेठो तथा प्राचीन मानिन्छ । १७७५ सालमा सिद्ध सन्त तस्मैया बाबाका शिष्य जयकृष्ण दासले यसको स्थापना गरेका थिए । बालगुरु षडानन्द अधिकारीले पनि यही विद्यापीठमा अध्ययन गरेका थिए । १५ कट्ठा जग्गामा फैलिएको यो गुरुकुल पृथ्वीनारायण शाहको जन्म हुनुभन्दा पहिले नै स्थापना भइसकेको लक्ष्मीनारायण मठको महन्थहरूको वंशावलीमा उल्लेख छ । शिक्षा विकास तथा समन्वय एकाइ, महोत्तरीका अनुसार, यो गुरुकुल महोत्तरी जिल्लामा रहेको आवासीय सुविधा भएको एक मात्र सामुदायिक विद्यालय हो ।

श्री राजकीय संस्कृत माध्यमिक विद्यालयलाई लैङ्गिक समावेशी बनाई अध्यापनमा शिक्षिका तथा अध्ययनमा छात्राहरूलाई प्रवेश गराउने जस भने ईश्वरी पौडेललाई जान्छ । सोही विद्यालयबाट २०४८ सालमा ‘पासआउट’ भएका उनले २०६० सालमा शिक्षकका रूपमा गुरुकुलमै प्रवेश गरे । उनी २०७० सालमा प्राध्यापक भए । उनले गुरुकुलमा शिक्षण थाल्नुअघि मटिहानीकै राम मा.वि. मा एक दशक अध्यापन गरेका थिए ।

आफुलाई गुरुकुलको ‘गोठालो’ भन्न रुचाउने ईश्वरी ३०४ वर्ष पुरानो इतिहास बोकेको गुरुकुलमा छात्राले पनि अध्ययन गरून् भन्ने चाहन्थे । त्यसका लागि शिक्षिकाको नियुक्ति रणनीतिक दृष्टिले आवश्यक थियो । सोहीअनुसार आफु प्राध्यापक भएकै वर्ष शिक्षिका आवश्यकतासम्बन्धी विज्ञापन खुलाएको उनी बताउँछन् । अहिले गुरुकुलमा तीन जना शिक्षिका छन् । उनकै योजनाअनुसार गुरुकुलमा २०७२ सालमा एकैपटक कक्षा ११ मा २२ जना छात्रा भर्ना भए । अहिले गुरुकुलमा १५२ जना बटुकमध्ये २१ जना छात्रा विभिन्न कक्षामा अध्ययनरत छन् । ६२ जना बटुक विद्यापीठको छात्रावासमा नै बस्छन् । मुसलमान, चमार, परियार, नेपाली, थारु, पासवान, खत्वेलगायतले समेत गुरुकुलमा अध्ययन गरिरहेका छन् । ईश्वरी एउटै कुरामा जोड दिन्छन्, ‘मानिस थरले होइन, कर्मले बाहुन हुन्छन् ।’

गुरुकुलमा पहिले पहाडी, मधेसी र दलित जनजातिका लागि अलगअलग भोजनालय राखिएको थियो । अहिले जातीय पर्खाल तोडिएको छ । एउटै भोजनालय बनाइएको छ । गुरुकुललाई सबै जातको एउटै फूलबारी जस्तो बनाइएको छ । यसैले यसलाई ‘मिनी नेपाल’ पनि भन्न सकिन्छ । केही वर्षअघिसम्म २० जना बटुक, एक दर्जन डेस्क बेन्च, एक लाख रुपियाँ ऋण र खपडाको जर्जर भवनमा रहेको गुरुकुलमा अहिले भने भौतिक संरचना सुधार तथा निर्माणले पनि गति लिएको छ । मधेश प्रदेश सरकारले गुरुकुलको प्राचीन संरचनाको मर्मतसम्भारका लागि ५० लाख रुपैयाँ बजेट छुट्याएको मटिहानी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष जीत नारायण माझीले बताए । साथै आर्थिक वर्ष २०७९/८०मा भौतिक संरचनाकै लागि ९० लाख रुपियाँ बजेट छुट्ट्याइएको छ ।

यस्तै, यस गुरुकुललाई संस्कृत विषयको अन्तर्राष्ट्रियस्तरको अध्ययन तथा अनुसन्धान केन्द्रको रूपमा विकास गरिने कुरा मधेस प्रदेश सरकार एवं मटिहानी नगरपालिकाको नीति तथा कार्यक्रम २०७९/८०मा उल्लेख गरिएको छ । फराकिलो र गौरवान्वित इतिहास बोकेको यस गुरुकुलको मुहार अहिले फेरिदै छ । फेरिदो स्वरुपमा छात्राहरुको सहभागितालाई गुरुकुलले विशेष महत्वमा राखेको छ । व्यक्ति शिक्षितसँगै अनुशासित बन्न गुरुकुलको आवश्यकता त छ नै साथै गुरुकुलकी गुरुआमाको प्रेरणादायी भुमिकाले गुरुकुललाई समावेशी बनाउन ठुलो भुमिका खेलेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी