स्तनपान शिशुको स्वास्थ्यको लागी महत्त्वपुर्ण छ । बच्चा जन्मिएपछि आउने आमाको पहिलो ‘दुध’ शिशुका लागि पहिलो ‘खोप’ मानिन्छ । आमाको दुध बालबालिकाका लागी अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्छ । स्तनपान शिशुको स्वास्थ्यका लागी जति उपयोगी छ, स्तनपान गराउँदा आमाको स्वास्थ्यका लागी पनि उत्तिकै फाइदाजनक छ ।
स्तनपानले शिशुलाई विभिन्न रोगबाट बचाई शिशुको शारीरिक र मानसिक विकासमा सघाउँछ । शिशुको आन्द्राको विकास गर्न सहयोग गर्छ भने झाडापखालाबाट पनि बचाउँछ । बाल मृत्युदरमा कमी ल्याउँछ । बच्चाको बोली छिटो आउन मद्दत गर्छ । बच्चाको दाँत र गिजाको विकास गरी दाँत बलियो बनाउँछ । स्तनपान गराउनाले बच्चामा छाला रोगको सम्भावना पनि कम हुने लगायतका फाइदा छन् । युनिसेफ नेपालको एक अध्ययन अनुसार, आमाको दुधमा बच्चाको शारीरिक तथा मानसिक विकासका लागी आवश्यक तत्वमध्ये ८७ प्रतिशत पानी, ७ प्रतिशत गुलियो पदार्थ, ४ प्रतिशत चिल्लो पदार्थ र १ प्रतिशत प्रोटिन हुन्छ ।
वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.संगिता मिश्राका अनुसार नियमित स्तनपानले पहिलो ६ महिनासम्म गर्भ रहने सम्भावनालाई कम गर्छ । ‘बच्चालाई दिनको ६ देखि ८ पटकसम्म स्तनपान गराउँदा आमामा शिशुलाई जन्म दिए पश्चात महिलाको शरीरमा दुध उत्पादन गर्न सहयोग गर्ने प्रोल्याक्टिन हर्मोन उत्पादन हुन्छ । यसले गर्दा डिम्बाशयबाट डिम्ब उत्पादन हुने प्रक्रिया गराउन चाहिने हर्मोन उत्पादन तथा यिनीहरूको कार्यमा अवरोध पुग्छ । यसकारण स्तनपानले गर्भ निरोधकको रूपमा पनि काम गर्छ ।’ मिश्रा भन्छिन् -‘यही कारणले स्तनपान गराउने महिलामा डिम्बाशयको क्यान्सरको सम्भावना पनि कम रहन्छ ।’
स्तनपान गराउने महिलाहरूमा परिपक्व रजोनिवृत्ति हुने गरेको पाइन्छ । रजोनिवृत्ति भन्नाले महिलाहरूमा रजस्वला बन्द भएको वा रोकिएको अवस्था हो । यस अवस्थामा महिलाको डिम्बाशयबाट डिम्ब उत्पादनको प्रक्रिया बन्द हुन्छ र प्रजनन् शक्ति समाप्त हुन्छ । यो विशेषगरी ५० वर्ष नाघेका महिलाहरूमा हुन्छ, जसलाई परिपक्व रजोनिवृत्ति मानिन्छ । ५० वर्षभन्दा कम उमेरमा रजोनिवृत्ति भएमा यसलाई अप्राकृतिक मानिन्छ । रजोनिवृत्तिपछि शरीरमा शिथिलता आउने, निद्रा नलाग्ने, शरीरका विभिन्न भागमा दुख्ने, डिप्रेसन हुने जस्ता लक्षण देखा पर्न सक्छन् । यस अतिरिक्त मुटुको धड्कन बढ्ने, हड्डी कमजोर हुँदै जाने, अचानक शरीरको तापक्रम बढ्ने र पसिना आउने आदि हुन सक्छन् । यी सबै शारीरिक समस्याबाट केही छुट्कारा पाउन स्तनपान गराउनु आवश्यक छ । डा.मिश्रा भन्छिन् -‘स्तनपानले महिलाको अपरिपक्व रजोनिवृत्तिको सम्भावनालाई कम गर्छ र यो अवस्थाभन्दा अघिको समयमा महिनावारी निरन्तर हुन पनि सहयोग पु¥याउँछ ।’ स्तनपान गराउनाले रक्तअल्पता हुनबाट बचाउनाका साथै, पिसाबको संक्रमण, क्यान्सर, मधुमेह, मुटुरोग, हड्डी खिइने जस्ता स्वास्थ्य समस्यामा न्युनिकरण हुन्छ ।
शारीरिक मात्र नभएर स्तनपानले बच्चा र आमाबीचको मनोवैज्ञानिक सम्बन्धलाई पनि प्रगाढ बनाउँछ । ‘दैनिक ६ देखि ८ पटकसम्म स्तनपान गराउँदा आमा र बच्चाबिच भावनात्मक सम्बन्ध कायम हुन थाल्छ’, डा.मिश्राले भनिन् । स्तनपान प्राकृतिक प्रक्रिया हो । बच्चा जन्मिएको एक घण्टाभित्र नवजात शिशुलाई आमाको दुध खुवाउनुपर्दछ । यसका साथै जन्मिएको ६ महिनासम्म निरन्तर आमाको दुध मात्र खुवाउने गर्नुपर्दछ भने ६ महिनापछि आमाको दुधसँगै अन्य ठोस खानेकुरा खुवाउन थाल्नुपर्छ तर आमाको दुध भने २ वर्षसम्म निरन्तर खुवाउने गर्नुपर्दछ । डा.मिश्रा बताउछिन् -‘यस कारण महिलामा आलस्यता नहुने हुँदा स्तनपानलाई शिशुको आहाराको रूपमा हेरिए पनि नियमित स्तनपान गराउनाले सुत्केरी अवस्थामा बढेको तौल घटाउन सहयोग पुग्नुका साथै आमाको शारीरिक सौन्दर्यमा निखार आउँछ ।’
स्तनपानले आमाको सुन्दरता बिग्रन्छ भन्ने गलत सोच र भ्रम कतिपय व्यक्तिमा पाइन्छ । विशेषगरी सहरी क्षेत्रका महिलामा स्तनपान गराउँदा आमामा शारीरिक परिवर्तन आउने, स्तन झुन्डिने, सुन्निने आदि हुन्छ भन्ने भ्रम छ । साथै, आमाको व्यस्त जीवनशैलीका कारण पनि आमाको दुधको विकल्पमा ‘फोर्टिफाइड मिल्क’ अर्थात् बजारमा उपलब्ध पाउडर दुध÷कृतिम दुध खोज्न थालिएको छ । यसर किसिमको फोर्टिफाइड मिल्कले शिशुको पोषणको सन्तुलन बिग्रने गरेको पोषणविद् रश्मी बजिमायाको भनाइ छ । ‘यस प्रकारको दुध खुवाएमा बच्चाले आमाको दुध धेरै खोज्दैन भन्ने सोच्छन्’, बजिमाया भन्छिन्, ‘किनभने यस्तो दुध तयार पार्दा प्रयोग हुने ‘सप्लिमेन्ट्सֹ’ जसमा अत्यधिक मात्रामा गुलियो हुन्छ, त्यसको सेवनले बच्चाको स्वाद बिगार्दै लैजान्छ र यस्तै दुधमात्र खोज्ने लत बस्दै जान्छ, जसकारण बच्चालाई आवश्यक पोषण पुग्दैन । पाउडर दुधको सेवनले बच्चामा अप्राकृतिक तौल वृद्धि हुँदै जाने समस्या देखा पर्ने भएका कारण सकेसम्म आमाको दुध मात्र खुवाउनु नै उपयुक्त हुन्छ ।
स्तनपान गराउँदा हुने ठुलो फाइदा भनेको स्तन क्यान्सरको सम्भावनालाई न्युन पार्नु रहेको क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीको भनाइ छ । डा.शाही भन्छन् -‘एक वर्षभन्दा बढी समय स्तनपान गराएमा महिलामा स्तन क्यान्सरको जोखिमलाई समेत कम गर्छ । नियमित स्तनपानले स्तन क्यान्सरका सेललाई नष्ट गर्ने काम गर्दछ र क्यान्सरको सम्भावना स्वतः कम भएर जान्छ ।’ महिलामा हुने स्तन क्यान्सरको क्षेत्रमा काम गर्ने वैज्ञानिक अनुसन्धानकर्ताको समुह कोल्याबरेटिभ ग्रुप अफ हर्मोनल फ्याक्टर्स इन ब्रेस्ट क्यान्सरको अध्ययन अनुसार, १२ महिनासम्म स्तनपान गराउने महिलामा स्तन क्यान्सरको सम्भावना ४.३ प्रतिशतले कम हुन्छ ।
प्राकृतिक रूपमा प्रसुति भएको अवस्थामा शिशु जन्मने बित्तिकै आमाको दुध चुसाउँदा सालनाल छिटै बाहिर निस्कन्छ । शिशु जन्मिएको एक घण्टा भित्रै शिशुले दुध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ । यस प्रक्रियाले शिशु जन्माएपछि आमाको शरिरबाट बढी रगत बग्ने खतरालाई घटाउँदछ । यतिमात्र नभएर शिशु जन्मने बित्तिकै आमाको दुध चुसाउनाले स्तन गानिनबाट रोक्दछ र धेरै दुध आउन सहयोग गर्दछ । यसले गर्दा बच्चालाई आवश्यक दुधको मात्रा पुग्दछ ।
केन्द्रीय तथ्याङ्क विभागले गर्ने नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण २०१९ को तथ्याङ्कमा शिशु जन्मेको एक घण्टाभित्र दुध खुवाउनेको सङ्ख्या ४२ प्रतिशत रहेको छ । यसैगरी, ६ महिनासम्म दुध खुवाउनेको सङ्ख्या ६२ प्रतिशत छ भने २ वर्षसम्मको ८७ प्रतिशत रहेको छ । प्रदेशगत आधारमा सबैभन्दा बढी ६९.९ प्रतिशत मधेस प्रदेशमा, त्यसपछि क्रमशः कर्णाली प्रदेशमा ६८.३ प्रतिशत र लुम्बिनी प्रदेशमा ६३.२ प्रतिशत देखिन्छ भने सबैभन्दा कम बागमती प्रदेशमा ५२ प्रतिशत रहेको तथ्याङक छ । त्यसैगरी शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने आमाको सङ्ख्या ४१.७ प्रतिशत छ । पूर्ण स्तनपान गराउने आमाहरु ६२.१ प्रतिशत छन् भने शिशुलाई उमेरको मापदण्ड अनूरुप स्तनपान गराउने आमा ८१.४ प्रतिशत छन् ।
सहरी क्षेत्रमा कृत्रिम दुध खुवाउने प्रचलन बढ्दै गएको नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण २०१९ को तथ्याङ्कले पनि प्रष्ट पार्छ । सन् २०१४ मा कृतिम दुध खुवाउने आमाको सङ्ख्या १२ प्रतिशत थियो भने यो सङ्ख्या बढेर २०१९ मा २३ प्रतिशत पुगेको परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालले बताए । ‘निःशुल्क हुने आमाको दुध नखुवाएर बजारमा पाइने महँगा कृत्रिम दुध खुवाउने बानीको विकास सहरमा, त्यो पनि शिक्षित महिलामा बढी देखिन्छ’। उनले भने, ‘कृतिम दुध खुवाउने गरिबको सङ्ख्या १६ प्रतिशत छ भने धनीको सङ्ख्या ४२ प्रतिशत रहेको छ ।’
स्तनपान प्रवर्धनको प्रयास
स्तनपानलाई प्रवर्धन गर्न नेपालमा स्तनपानसम्बन्धी भएको कानुनी व्यवस्थामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा प्रसुति बिदाको अधिकारबारे उल्लेख गरिएको छ । नवजात शिशुलाई स्तनपान गराउन तथा सुत्केरी आमाको सहजीकरणका लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था छ भने आवश्यकता अनुसार चिकित्सकको सल्लाह बमोजिम बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको पनि व्यवस्था छ । सरकारी, गैर सरकारी वा निजी संघ-संस्थाले कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध खुवाउनको लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने समेत उल्लेख गरिएको छ । साथै, हरेक सार्वजनिक स्थानमा स्तनपान कक्ष हुनुपर्ने व्यवस्थाबारे पनि उल्लेख छ । साथै, प्रसूति गृह तथा अस्पतालहरुमा मातृ शिशुमैत्री कक्षको व्यवस्था गर्नु पर्ने रहेको छ ।
आमाको दुध खान नपाएर समस्यामा परेका बच्चाका लागि सरकारले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गरेको छ । सात वटै प्रदेशमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने लक्ष्यअनुसार नेपाल सरकारले काठमाडौंबाट सुरु गरेको हो । अहिले पाइलट प्रोजेक्टका रूपमा थापाथलीस्थित प्रसूति गृहमा सुरु गरिएको यस मिल्क बैंकबाट सकारात्मक प्रतिक्रिया आएमा अन्य प्रदेशमा पनि मिल्क बैंक स्थापना गर्ने लक्ष्य रहेको छ । आमाको दुधबाट बञ्चित बच्चाका लागि मिल्क बैंक महत्वपूर्ण हुने विश्वास सरकारको छ ।