×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘निलो पेसिफिक, निलो आकाश र निलो कोट’

PRIME CA

‘निलो पेसिफिक, निलो आकाश र निलो कोट’

८ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < ४ मिनेट

यो लेख कताबाट सुरु गरौं द्धिविधा छ । नियमित लेख्ने बानी पनि छैन, यसो कहिलेकाहीँ एक दुई लेखमा प्रयास गरेको हुँ । संजालमा अलि खरो छु, लागेको कुरो भन्छु । यस बाहेक कहिलेकाही संजालमा भिनाजुसँगका गन्थन आउँछन्, कहिले आफ्नै मनोवाद, तर त्यही गन्थनले पनि पोल्ने मान्छे भेटिन्छन् ।

केहि समय भयो, यता साउथ पेसिफिकको किनारमा घुम्न थालेको । पौडिन खास अनुभव नभएको मान्छे । म किनारमा बसेर अगाडीको निलो पेसिफिक हेर्ने हो । साथमा सारै नजिक जस्तो देखिने निलो आकाश र कहाँ हो कहाँ देखिने क्षितिज । त्यो खुल्लामा परप-रसम्म केही बाधा देखिदैन । आफुलाई केहिले सिमित गर्छ भने त्यो हो आफ्नो दृष्टी र आफ्नो सोच ।

यता आएदेखि नै लेखापरिक्षण पेशामा आबद्ध छु । सन् २००२ को अन्त्यदेखि लेखा व्यवसायमा काम गर्न थालेको तर पनि यहाँ आएपछि सुरुको केहि समय त लाग्यो -‘म भर्खर लेखापरीक्षण सिक्दैछु, नियम र पद्धतिमा गरिने लेखापरीक्षण ।’ अनायासैै आफ्नो उताको अभ्याससँग तुलना गरिँदो रहेछ । सामाजिक संजालले बिर्सन पनि कहाँ दिन्छ ? न बिर्सिने इच्छा नै अहिलेसम्म जागेको छ । त्यसैले चित्त नबुझेको कुरो भन्छु । चुनावमा भोट चल्छ भने विचार पनि चल्नु पर्यो । विदेश बस्दैमा नेपालको पेशामा कसैले चासो नदिने भन्ने हुन्छ र ? १५ वर्ष काम गरेको पेशा, आफु पढेको संस्था, छुट्टै लगाव छ । हामी जहाँ पुग्छौँ आइक्यानको मार्कसिट देखाउछौँ । कति चार्टर्ड एकाउन्टेन्ट सदस्यले यो भन्न सक्छन् ?

केहि वर्ष अघिदेखि सिएहरुको क्लब एक्यानमा सिए भर्सेस आरए (रजिस्टर्ड लेखापरीक्षक)को राजनीति विधिवत् रुपमा भित्र्याईयो । खासगरी एक व्यक्ति, एक पेशाको विषय उठेदेखि । सीएलाई सधैं लाग्छ आरएहरु केहि जान्दैनन्, पेशा बिगारे । म त भन्छु, ‘नेपालमा लेखापरिक्षण बजारमा आरएको भुमिकाको सधै अवमुल्यन गरिएको छ ।’ गाउँ-गाउँका स्कुल, क्लब, स-साना संस्थादेखि अधिकांस प्रालिसमेत (तोकिएका सीमा भित्रका)को लेखापरीक्षण कसले गर्छ ? हाम्रो सिए जनशक्तिमात्रैले कति प्रतिशत निकायलाई सेवा दिन्छौ ? दशकौंदेखि नेपाली बजारमा काम गरेको व्यवहारिक अनुभवलाई भर्खर पास भएका सिएहरूकोभन्दा किन संधै कम आकिन्छ ?

सिए फर्महरुको क्षेत्र र विशेषज्ञता बढाउन फर्महरुमा कानुनविद, इन्जिनियर, व्यवस्थापन विज्ञजस्ता अन्य पेशाकर्मीसँग साझेदारी गर्न मिल्नेतर्फ हामी किन छलफल गर्दैनौं ? सिएले आरएसँग साझेदारी गर्न मिल्ने व्यवस्थाले आरएको क्षमता वृद्धि, सिए फर्मको आकार बढ्नेतर्फ हामी किन बहस गर्दैनौं ? त्यसो गर्दा सिएको इज्जत कसरी घट्छ ? साझेदार भएपछि आ-आफ्नो सिमामा बसेर अडिट गरे त भैगो नि ।

आरएले सेवा दिदै आएका र सिएको सेवा लिन नसक्ने कम्पनी-संस्थालाई पनि राम्रो हुने थियो । यस्ता प्रयासले समग्र अर्थतन्त्रलाई फाइदा गर्छ होइन र ? यस्ता छलफल गरिएको कुरो कहिल्यै बाहिर आउदैन । हामीले कि सिए भएर हेर्यौ, कि आरएको चस्मा लाएर । त्यसैले आरएहरुलाई पछाडिको ढोकाबाट सिए सदस्यता दिने खालका बहस बरु हुन्छन यहाँ । ज्वरोको कारण उपचार नगर्ने, तर सिटामोल खुवाएर मक्ख पार्ने । नेपालमा सिए र आरएबीचको खाडल त्यसले पूर्ति गर्दैन, न लेखा व्यवसायमा देखिएका समस्यालाई नै हल गर्छ ।

मैले पहिला अर्को लेखमा भनेको थिए (‘साला भिनाजुको गन्थन– ’के लेखापरीक्षण सस्तो पेशा हो ?’)- नेपालमा अधिकांश संस्थामा लेखापरिक्षकले गर्ने काम लेखापरीक्षण नै होइन । जर्नल बनाइदिने, लेखानिती बनाइदिने, वित्तीय विवरण बनाउने, करको गणना गर्ने, आय विवरण भर्ने अनि लेखापरीक्षणको काम गरे भनि प्रतिवेदन दिने ? त्यो कानुन सम्मत कसरी भयो ? काम जेनेरल फिजिसियनको गर्ने अनि नसा रोग विशेषज्ञको गरे भनि प्रतिवेदन दिने ? कम्मल ओढेर घ्यु किन खाने ? निश्चित कारोबार सम्मका स-साना क्लब, प्रोप्राइटर फर्म, साझेदारी, कम्पनी, एनजीओहरु कसैलाई पनि बाह्य लेखापरीक्षण जरुरी छैन तर आइक्यानका सिओपि हुनेले कर विवरण प्रमाणित गरे पुग्छ भनि नियम बनाए आरएको आम्दानी पनि घट्दैन, राजस्व विभागको आवस्यकता पनि पुग्छ । यस्तो आधारभुत सुधारको निम्ति कसले पहल गर्यो ?

थोरैपनि लेखा बुझेका मान्छेलाई सोध्नुभयो भने अडिटर (सिए/आर)ले मेरो सब मिलाई दिन्छन भन्ने जवाफ आउँछ । कम्पनी दर्ता, वासलात तयारदेखि त्यसको लेखापरीक्षणसम्म गलत हिसाबले हुने गरेको भन्दै मूल्य मान्यता भन्दा बाहिर गएर लेखा परीक्षण नगर्न अर्थ मन्त्रीले आइक्यान सदस्यलाई आग्रह गर्नुभएको उदाहरण छन् । पौष २०७६ को एक कार्यक्रममा तत्कालिन अर्थ मन्त्री डा. युवराज खतिवडाले जरैदेखि फ्रड भएको कम्पनीमा ‘अडिटर जानुहुन्छ, मैले जाने-बुझे अनुसार सबै विवरण ठिक छ भन्नुहुन्छ, सही गर्नुहुन्छ’ भन्नुभएको थियो । महालेखापरिक्षक श्री टंकमणि शर्माले समेत पटक-पटक यस्ता विषयतर्फ इंगित गर्नुभएको छ । देशका अर्थमन्त्री र महालेखापरिक्षकले सार्वजनिक रुपमा यस्ता अभिव्यक्ति दिन किन बाध्य हुनुभयो ? देशको लेखा व्यवसायमा यो अवस्था कसरी आयो ?

सिएहरुको इज्जत नामको अगाडी सिए लेख्न थालेपछि बढ्छ भनि केही वर्षअघि नियम आएको थियो । बढ्यो होला, खै ! यसपल्ट एक्यानले अर्को ओखती पत्ता लायो- ‘सबै सिएले आकाशे निलो कोट लगाउने, एकरुपता देखिएपछि साख बढ्छ । चुनाब जितेर गएपछि जंगबहादुर शैलीले निर्णय गर्ने हाम्रो पुरानो रोग । न सदस्यको मनसाय बुझ्न कुनै सर्भे गर्नुपर्यो, न सुझाव माग्नु पर्यो । सार्वजनिक फोरममा निर्णय चित्त नबुझेकाले केहि भने व्यक्तिगत मानमर्दनमा ओर्लने । हाम्रा चुनावले जंग बहादुरहरु जन्माउँछ भनेको यसै होइन । बन्द कोठामा दुईचार जना बसेर निर्णय ठोके भयो । स्वार्थ मिले पास हुन्छ । धन्न यो निर्णय एक्यान मार्फत आयो । आइक्यानले भनेको भए त मान्नै पर्ने । साधारण सभा समेत नगर्ने तर अरुलाई संस्थागत सुशासन सिकाउने भनि मैले आइक्यानलाई भनेको थिए ।’

(हेर्नुहोस् पुरा लेख) – नयाँ आउने आइक्यान काउन्सिललाई एक बुँदे सुझाव…!

लेखापरिक्षक सिए/आरएको साख जोगाउने सजिलो छ- ‘सबैले नियमसंगत काम गर्ने, गर्न नमिल्ने काम नगर्ने, गलत गर्नेलाई कारवाही गर्ने । लेखा व्यवसायको गरिमा राख्न विकशित देशमा लेखापरीक्षक स्वयम् सचेत छन्, सहि नियम बनाउछन, बनाउन अघि पारदर्शी ढंगमा छलफल गर्छन, बनेको नियम मान्छन ।’ त्यति गरे कसैलाई निलो कोट चाहिदैन । नियम बाहिर जाने अडिटर यता पनि हुन्छन् । तर छानविन हुन्छ, कारवाही हुन्छ । गलतलाई गलत भनिन्छ । आफ्नो मान्छे बचाउन पदको दुरुपयोग गर्ने खेलाडीहरु संजालमा आएर सधै आदर्श ओकल्दैनन् । त्यसो गरिहाले वाहवाह गर्ने जमात पनि हुँदैन । नेपालको लेखाव्यवसाय पेसिफिक र एटलान्टिकको किनारमा आहाल खेल्ने जीवहरुले बिगारेका होइनन् । जसले बिगार्न भुमिका खेलेका छन्, उनीहरुको लाज जतिवटा निलो कोट लाएपनि छोपिदैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: