×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नबिल इन्भेष्टमेन्टले गैरकानुनी काम गरेको पुष्टी भएपछि नेप्सेले गर्यो कारवाही, सीइओ भन्छन्- ‘जानेरै पनि गल्ती भयो’

काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड ‘गैरकानुनी’ काममा संग्लग्न भएको पाइएपछि नेप्सेले सो कम्पनी अन्तर्गतका २ म्युचुअल फण्डको कारोबार रोक्का गरेको छ । बुधबार सो अन्तर्गतका २ म्युचुअल फण्डहरु क्रमशः नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ को कारोबार नेप्सेले रोक्का गरेको हो । कम्पनीले नेप्सेको नियम विपरित काम भएको पुष्टी भएपछि धितोपत्र सूचीकरण विनियमावली, २०७५लाई टेकेर कम्पनीलाई कारवाही गरेको हो ।
भएको के हो ?
इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड अन्तर्गतका दुई म्युचुअल फण्डले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गर्यो । नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ गरी कम्पनीले संचालन गरेका दुई सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेका हुन् । तर लाभांश घोषणाको सूचना प्रचलित नियम विपरित सेयर कारोबार समयमा सार्वजनिक गरेको पाइएपछि नेप्सेले नबिललाई कारवाही गरेको हो । नबिलले यस्तो गलत काम गरेको भन्दै नेप्सेले दुई फण्डको कारोबारसमेत रोकी कम्पनीलाई स्पष्टीकरसमेत सोधेको छ । नेप्सेले बुधबार नै कम्पनीलाई स्पष्टीकरण पत्र थमाईसकेको छ । कम्पनीको चित्तबुझ्दो जवाफ नभएमा प्रचलित कानुनबमोजिम कम्पनीलाई कारवाही गर्नेसमेत नेप्सेले जनाएको छ ।
के भन्छ नबिल ?
यता नबिल नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष जोशीले पनि कम्पनीले नियम विपरित काम गरेको स्वीकारेका छन् । ‘हामीबाट गल्ती भएको हो । नेप्सेले कारोबार रोक्का पनि गरेको हो । स्पष्टीकरण सोधेको पनि हो । तर सो पत्र हामीलाई आईपुगिसकेको छैन । पत्र आएपछि हामीले त्यसको जवाफ दिनेछौं ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै सीइओ जोशीले भने, ‘हाम्रो सो लाभांश घोषणाको निर्णय लामो समयदेखि पेण्डिङ थियो । हतार हतारमा काम गर्दा यस्तै भयो ।’
‘अनि हतार भयो भन्दैमा यति ठुलो कम्पनीले नेप्सेको नियम नै ख्याल नगर्ने पनि हुन्छ र ? यसले बजार प्रभावित हुन्छ भन्ने थाहा थिएन ?’ हाम्रो प्रश्नमा उनले लाचार जवाफ दिंदै भने- ‘थाहा पनि थियो । तर अव यस्तो भईहाल्यो ।’ उनको जवाफपछि हामीले पुन: प्रतिप्रश्न गर्यौँ, ‘यो त सार्है गैरजिम्मेवार जवाफ भएन र ? यस्तो काम गर्नु हुँदैन भन्ने थाहा हुँदा हुँदै किन जथाभावी गरेको ? कि मैले जे गर्न पनि हुन्छ, सब मिलाईहाल्छु नि भन्ने तपाईंको दम्भ हो ?’ हाम्रो प्रश्नमा उनले पुन: थपे- ‘ म त्यस्तो दम्भ राख्ने मान्छे त होइन । यसपालीचाहिं गल्ती भयो ।’
यसो त मनिस जोशी मर्चेन्ट बैंकिङ क्षेत्रमा ‘विवादित छवि’मा व्यक्ति हुन् । उनी सानिमा क्यापिटलका सीइओ हुँदा पनि कम्पनी ३ इन वान नामक प्रोडक्टमा विवादमा तानिएपछि कम्पनीले उनलाई मार्ग प्रसस्त गर्ने आशय व्यक्त गरेको थियो । त्यसपछि सानिमा छोडेर नबिल हानिएका जोशीकै लापरवाहीका कारण नबिल पनि कारवाहीको सिकार भएको छ ।
‘तपाईं जहाँ जानुहुन्छ, त्यहीं यस्तो ‘मनपरी’ किन गर्नुहुन्छ ?’ सानिमा क्यापिटलमा हुँदाको प्रसङ्ग जोड्दै हामीले सोधेको प्रश्नमा उनले भने -‘मनपरी त होइन । अव यसपाली गल्ती भईहाल्यो । सानिमामा पनि त्यस्तो बिग इस्यु केहि पनि थिएन । तर मिडियामा सानो इस्युलाई ठुलो बनाईयो ।’
अव के हुन्छ ?
अव नेप्सेलाई नबिलले ‘गोलमटोल’ जवाफ दिन्छ । हतार-हतारमा काम गर्दा यस्तो भएको र यसमा कुनै बदनियत नभएको भन्ने नबिलको जवाफपछि नेप्सेमा सो फण्डको कारोबार खुला हुन्छ । कम्पनीले अर्कोपटक पनि यसरी नै नियम मिच्यो भने, फेरी पनि हुने केहि होइन । फेरी पनि नेप्सेले एउटा पत्र काट्छ, कमपनीले जवाफ दिन्छ र कुरा सकिन्छ । बर्षौंदेखि नेपालको सेयर बजारमा यस्तै भईरहेको छ । जानाजान यस्तो गल्ती गर्नेलाई वा नियम मिच्नेलाई नेप्सेले कारवाही नगर्दा मनिष जोशीहरुको कन्फीडेन्स अझै बढेको छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको थियो ।नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७८–७९ को लागि योजनाको ईकाइधनीहरुलाई ५ प्रतिशत (कर सहित)का दरले हुन आउने रकम रु. ६ करोड २५ लाख रुपैयाँ मात्र प्रतिफल वितरण गर्ने निर्णय गरेको छ भने नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल व्यालेन्स्ड फण्ड २ले आर्थिक वर्ष २०७८–७९को लागि योजनाको ईकाइ धनीहरुलाई ७ प्रतिशत (करसहित)का दरले हुन आउने रकम रु.७ करोड ८४ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । कम्पनीका अनुसार लाभांश वितरण प्रयोजनको लागि दुवै योजनाले कार्तिक १८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णयसमेत गरेका छन् । कार्तिक १७ गतेसम्म कायाम इकाईधनीले मात्र उक्त लाभांश पाउने कम्पनीले जनाएको छ ।
नबिल इन्भेष्टमेन्टको मनपरीले नबिल बैंकमा ‘ब्राण्ड एफेक्ट’
नबिल बैंक लिमिटेड नेपालको बैंकिङ क्षेत्रमा सार्है राम्रो छवि भएको बैंक हो । कम्प्लाइन्सको मामलामा त नबिल झनै बलियो छ । तर सोहि बैंकको सहायक कम्पनीले मनपरी गर्दा यसको मार नबिलको ब्राण्डमा पनि परेको छ । ‘नबिलले पनि बजार प्रभावित गर्ने काम गर्न थाल्यो है’ भन्ने चर्चाले नबिलको ब्राण्डलाई असर गर्ने देखिन्छ । तर सानिमा क्यापिटलदेखि नै गल्ती गरिरहने र गल्तीको प्रयास्चित नगर्ने नेतृत्वका कारण नबिल इन्भेष्टमेन्ट बैंकिङ त बदनाम बनेको छ नै, यसले नबिल बैंकको ब्राण्डलाईसमेत अफ्ट्यारोमा पारेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: