×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘माथिको दबाब’ भन्दै सिटजन्स बैंकमा ‘मनपरीको हद’: भेनाले ऋण नतिर्दा सालीलाई तनाव, बैंकको छापको चरम दुरुपयोग !

अर्थ सरोकार

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार

PRIME CA

‘माथिको दबाब’ भन्दै सिटजन्स बैंकमा ‘मनपरीको हद’: भेनाले ऋण नतिर्दा सालीलाई तनाव, बैंकको छापको चरम दुरुपयोग !

काठमाडौं । सिटिजन्स बैंकले ‘माथिको दबाब’ भन्दै ग्राहकलाई हुँदै नभएको कार्यविधिको हवला दिँदै अनावश्यक दुःख दिएको पाइएको छ । बैंकको नवलपरासीस्थित कोल्हुवा शाखाले नाताले भिनाजु पर्ने ऋणीले ऋण नतिर्दा ‘माथिको दबाब’ भन्दै सालीलाई दुःख दिएको पाइएको हो ।

भएको के हो ?
रेजिना ढुंगानाले सिटिजन्स बैंकबाट ऋण लिएकि थिइन् । उनले सो ऋण चुक्तासमेत गरिसकेकी छिन् । तर उनको धितो फुकुवा गर्न बैंकले मानेन । बैंकले उनका भिनाजुले ऋण लिएको र किस्ता नतिरेका कारण सो ऋणमा साक्षी बसेकी रेजिनाले ऋण तिरेपनि उनको धितो फुकुवा नगर्ने र गर्नुपरे भिनाजुको ऋण पनि चुक्ता गर्न दबाब दियो । जवकी दुई छुट्टछुटै ऋणको प्रक्रिया नै फरक छ । तर बैंकले उनलाई दबाब दिएर अर्को ऋण पनि असुल्न खोजेपछि तनाव निम्तियो ।

ढुंगानाले सिटिजन्स बैंकबाट ९ लाख रुपैयाँ ऋण लिएकोमा सोको साँवा-ब्याज सबै चुक्ता गरिसकेकि छिन् । रेजिनाले बैंकबाट लिएको नौ लाख रुपैयाँ ऋण गत जेठ ८ गते नै चुक्ता गरिससक्दा पनि बैंकले उनको धितो अहिलेसम्म पनि फुकुवा गरेको छैन ।

अझ अचम्मको कुरा त के छ भने, कहिँ नभएको जात्रा हाँडिगाउँमा भनेजस्तै बैंकले पुस ७ गते रेजिना ढुंगानाको नाममा हस्तलिखित पत्र लेखेको छ । हस्तलिखित सो पत्रमा सिटजन्स बैंकको छाप समेत लगाइएको छ, जुन बैंकको सम्पत्तिको चरम दुरुपयोग हो । बैंकले यसरी खाली पानामा लेखेको पत्रमा लगाईएको छापको कुनै जिम्मा लिँदैन । र सो पत्र बैंकको आधिकारिक रेकर्डमा पनि छैन ।

‘हजुरको भिनाजु नाता पर्ने श्री गणेश प्रसाद कँडेलले पनि हाम्रो बैंकबाट ३० लाख रुपैयाँ कर्जा उपभोग गर्दै आउनुभएको छ । तर, उहाँले ५ महिनाको किस्ता, ब्याज तिर्न बाँकी रहेको हुँदा उहाँ हजुरको कर्जामा कर्जामा धनजमानी रहेको हुँदा हाललाई हजुरको जग्गा कित्ता नं.१८५३, क्षेत्रफल ०-०-७ फुकुवा गर्न नसक्ने व्यहोरा जानकारी गराउदछु ।’ -बैंकको छापको दुरुपयोग गरि लेखिएको पत्रमा उल्लेख गरिएको छ ।

बैंक मेनेजरले स्वीकारे गल्ती, भन्छन्- ‘सबै माथिको दबाबले भयो’
यता बैंकको कोल्हुवा शाखाका शाखा प्रबन्धक हरि प्रसाद अधिकारीले हस्तलिखित पत्रमा बैंकको छाप लगाउनु गल्ती भएको स्वीकारेका छन् । ‘हस्तलिखित पत्रमा बैंकको छाप लगाउनु गल्ती भयो । तर, छापको दुरुपयोग गरेको होइन’, ब्रान्च मेनेजर अधिकारीले भने, ‘सार्वजनिक हुन्छ भन्ने थाहा भएको भए यस्तो चिठ्ठी नै पठाउँदैन थिँए, आवश्यक परे लेटरहेडमै चिठ्ठी दिन्छु । उनलाई मात्र भनेर सो पत्र दिएको हुँ ।’

उनले आफुहरुले माथिकै दबाबमा भिनाजुको केसमा सालीलाई प्रेसर दिएकोसमेत स्वीकारे । ‘म त कर्मचारी मात्र हुँ । माथिबाट त्यसै गर्नु भनेपछी त्यसै गरेको हुँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘सबै कुरा मेरो बसमा मात्र रहँदैन । धेरै कुरा माथिबाट नै हेरिन्छ ।’

हामीसँगको कुराकानीमा सुरुमा उनले भिनाजुले ऋण नतिरेको खण्डमा बैंकले ग्यारेण्टर बसेकि सालीको धितो फुकुवा नगर्न पाउने दाबी गरे । तर, हामीले यस्तो गर्न पाउने कहाँ लेखेको छ ? भन्ने सोधेपछि उनले माथिको आदेश भन्न थाले । कुराकानीको केही समयपछी पुनः फोन गर्दै उनले आफुहरु उनको धितो फुकुवा गर्न तयार भएकाले यस विषयलाई न्युज नबनाईदिनु भन्ने आशय प्रकट गर्न थाले ।

‘अनि धितो फुकुवा गर्न मिल्नेरहेछ भने किन ग्राहकलाई दुःख दिएको त ?’ भन्ने प्रश्नमा उनले भने- ‘माथिको प्रेसरले यस्तो काम गरियो । धितो फुकुवा गरिदिन्छौँ, यो विषय टुंग्याईदिनुपर्यो ।’ उनले पटक पटक माथिको आदेश भनेपनि माथी भनेको को हो भन्ने कुरा भने खुलाएनन् ।

जानकार भन्छन्- ‘जेल जान सक्छन् मेनेजर’
यता यसरी कानुन विपरित ऋणीको धितो फुकुवा नगरेको र बैंकको छाप दुरुपयोग गरेको केसमा मेनेजर अधिकारी जेल जान सक्ने सम्भावना औँल्याएका छन् । घटनाको प्रकृति हेर्दा बैंकको छाप दुरुपयोग मात्र भएको छैन, बरु ऋण तिरिसकेपछी आफ्नो सम्पत्तिको उपभोग पाउने अधिकारमाथी नै धावा बोलिएको छ ।

बैंकिङ कानुनका जानकार कृष्ण न्यौपाने भन्छन् – ‘यो केसमा मेनेजर जेल जान सक्छन् । बैंकले मुद्धा हालेको केसमा सम्पत्ती दुरुपयोग र ग्राहकले मुद्धा हालेको केसमा आफ्नो सम्पत्तिको भोगचलन गर्नबाट रोक लगाएको कसुरमा उनी जेल जान सक्छन् । उनले आफ्नो ऋण तिरिसकेको अवस्थामा उनको धितो फुकुवा हुनुपर्छ ।’

यस विषयमा बैंकको थप जानकारी लिन खोज्दा बैंकका सूचना अधिकारी नारायण प्रसाद अधिकारीले आज र भोलि बिदा भएकाले आइतबार थप बुझेर खबर गर्ने भन्दै थप कुरा गर्न चाहेनन् ।

ऋण तिर्दा पनि धितो फुकुवा नहुँदा अहिले रेजिना समस्यामा छिन् । बैंकले उनका भिनाजुकोसमेत ऋण चुक्ता गर्न पटक पटक अनावश्यक दबाब दिईरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: