×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारले निजी क्षेत्रको योगदान बिर्सियो, अझै पनि मागप्रति बेवास्ता गरे देश नै ठप्प हुनसक्छ’- पुष्पराज कुँवर (अन्तर्वार्ता)

PRIME CA

‘सरकारले निजी क्षेत्रको योगदान बिर्सियो, अझै पनि मागप्रति बेवास्ता गरे देश नै ठप्प हुनसक्छ’- पुष्पराज कुँवर (अन्तर्वार्ता)

१६ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरको विरोधमा निजी क्षेत्र सडकमा उत्रिएको छ । विगतमा ७ प्रतिशसम्ममा लिएको कर्जाको ब्याज अहिले १७ प्रतिशतसम्म पुग्दा व्यवसायी मर्कामा परेको भन्दै ब्याज घटाउन माग गर्दै देशव्यापी रुपमा आन्दोलनसमेत भईरहेका छन् ।

यसैबीच धनगढीमा उद्योगी-व्यवसायीहरुले चर्को ब्याजदरको विरोध गर्दै बजार नै बन्द गरेर आन्दोलन गर्दै आएका छन् । लामो समयदेखि व्यवसायीहरुको मागलाई सरकारले बेवास्ता गरेको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै व्यवसायीहरु सडक संघर्षमा उत्रिएका छन् । सोही क्रममा अर्थ सरोकारकर्मी भुमिदत्त तिवारीले कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरसँग आन्दोलनका बारेमा संवाद गरेका छन् । यस्तो छ अध्यक्ष कुँवरसँग गरिएको कुराकानीः

तपाईहरुको यो आन्दोलन खासमा के का लागि हो ? अनि आन्दोलन गर्दा बजार नै बन्द गर्नुपर्ने अवस्था किन आयो ?
यो आन्दोलन हाम्रो रहर होइन, बाध्यता हो । अहिले देशमा आर्थिक मन्दी छ, सोचेजस्तो व्यापार व्यवसाय हुने कुरै भएन । त्यसैमाथि बैंकहरुको चर्को ब्याज र राष्ट्र बैंकको अव्यवहारिक नीतिले व्यवसायीहरु झन् मर्कामा छन् । हिजोका दिनमा बैंक तथा वित्तीय संस्थाबाट ७ प्रतिशतमा लिएको कर्जाको ब्याज आज १५ प्रतिशतसम्म पुगेको छ । व्यापार नै नभईरहेको अवस्थमा यत्रो ब्याज कसरी तिर्ने ? हो, यही कारणले आन्दोलन गर्न बाध्य भएका हौँ र यो आन्दोलन यहाँमात्र होइन देशभर यसरी नै भईरहेको छ ।

अहिले देशको अर्थतन्त्र नै संकटमा छ । यो बेलामा त व्यवसायीहरुले सरकारलाई सहयोग गर्नुपर्ने होइन र ?
हो, देश र देशको अर्थतन्त्र अफ्ठ्यारोमा पर्दा निजि क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्छ । तर, व्यवसायी अफ्ठ्यारोमा पर्दा सरकारले चाहिँ व्यवसायीलाई सहयोग गर्नुपर्दैन ? हामीले त विगतमा हरेक संकटका बेला सरकारलाई सहयोग गरेका छौँ, चाहे त्यो भूकम्पको समयमा होस् वा कोरोना माहामारीको तर अहिले बैंक तथा वित्तीय संस्था र नियामककै कारणले व्यवापार व्यवसाय चौपट छ । अब व्यवसाय नै रहेन भने कसरी सहयोग गर्ने ? त्यसैले आन्दोलनको विकल्प रोज्नु परेको हो ।

बजार नै बन्द गर्दा झन् घाटा हुन्न र ? उपभोक्तालाई पनि सास्ती होला नि ?
हो, केही असहज अवस्था हुनसक्छ तर त्यो भन्दा असहज अवस्था बैंकको चर्को ब्याज र राष्ट्र बैंकको नीतिले उत्पन्न गराएको छ । देशमा आर्थिक मन्दी छ, त्यसैमाथि बैंकको चर्को ब्याजदरले गर्दा बजारमा मूल्यवृद्धि भएको छ जसको प्रत्यक्ष असर आखिर पर्ने आम सर्वसाधारणलाई नै हो । खासमा उपभोक्ताहरु पनि हाम्रो आन्दोलनमा सरिक हुनुपर्छ, व्यवसायी मर्कामा पर्नु भनेको उपभोक्ता र राज्य मर्कामा पर्नु हो त्यसैले क्षणिक कुरालाई भन्दा पनि दीर्घकालीन असर र प्रभावलाई ध्यान दिनुपर्छ ।

अहिले बैंकको ऋण तिर्नुपर्दैन भन्नेहरु पनि आन्दोलनमै छन्, तपाईहरुको आन्दोलनले त्यो कुरालाई प्रसय देला नि ?
त्यस्तो होइन, हामीले व्यवसायीले लिएको ऋण तिर्नुपर्दैन भनेर भनेका छैनौँ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नुपर्छ र तिर्छौं पनि तर अस्वभाविक रुपमा बढाइएको ब्याज घटाउनुपर्यो भन्ने हाम्रो माग हो । बैंकहरुको ब्याजदर एकल अंकमा कायम हुनुपर्छ र राष्ट्र बैंकले निजि क्षेत्रलाई कस्ने गरी ल्याएको नीति फिर्ता गर्नुपर्छ । बैंकले ब्याजदरमा सहजता ल्याओस्, राष्ट्र बैंकले व्यवसायीको हितमा नीति परिमार्जन गरोस्, हामीले त हिँजो पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिरेका थियौँ, आज पनि तिरिरहेका छौँ र भोली पनि तिर्छौं ।

यति गर्दा पनि माग सम्बोधन नभए के गर्नुहुन्छ ?
हाम्रा यी मागहरु आजका होइनन्, धेरै पुराना हुन् । हाम्रो माग पनि धेरै ठूलो होइन, केवल बैंकको चर्को ब्याज घटाउने र निजि क्षेत्रको हित विपरितका नीति परिमार्जन गर्ने मात्रै हो । यीनै मागसहित अहिले हामी आन्दोलनको पहिलो चरणमा छौँ, जुन शान्तीपूर्ण छ । तर, सरकारले हाम्रा माग सुनेन भने देशै ठप्प हुने अवस्था आउन सक्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: