×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारमा उधारोको मार : आधा दर्जन बढी ब्रोकर ‘टाँट पल्टिने’ अवस्थामा, कानुन मिचेर काम गर्दा सामस्या !

काठमाडौँ । दोश्रो बजारमा सेयर कारोबार गर्ने कारोबारीले चाहेर-नचाहेर ठोकिनुपर्ने ठाउँ हो सेयर दलाल कम्पनीहरु । दलालमार्फतनै कारोबार गर्नुपर्ने बाध्यात्मक स्थितिका बीच सेयर दलाल कम्पनी नभई नेपालमा सेयर कारोबार हुँदैन । त्यसमाथि अहिले नेपालमा ५० ब्रोकरको सिन्डिकेट छ । नयाँ ब्रोकरका लागि नेपाल धितोपत्र बोर्डले लाइसेन्स खोल्न खोज्दा अदालतमा मुद्धा परेको छ र यो मुद्धा अदालतमा विचाराधीन छ । र त आजको दिन कुरा गर्दा तीनै ५० ब्रोकरमध्ये कुनैसँग नठोकीई नेपालमा सेयर कारोबार सम्भव नै छैन ।
प्रचलित कानुन अनुसार कारोबार भएको दिनमा थप २ दिन जोडेर अर्थात टि प्लस टु अन्तर्गत सेयर कारोबार गर्नेले ब्रोकरबाट पैसा पाउनुपर्छ । तर सेयर ब्रोकरहरुले समयमा पैसा नदिने, दिए पनि पूरा नदिने, अझ कतिपय केसमा त महिनौंसम्म पैसा नदिने गरेका गुनासाहरु पनि सेयर लगानीकर्ताले पटक पटक गर्ने गरेका छन् । तर कहिले बैंक खातालाई दोष दिएर त कहिले प्राविधिक समस्या भन्दै सेयर ब्रोकरहरुले लगानीकर्ताको पैसा समय नदिने गरेका थुप्रै उदाहरणहरु छन् ।
ब्रोकर हाउसको ब्यालेन्ससिट हेर्ने हो भने कतिपय ब्रोकरहरुले त बैंकखातामा राखिएको रकमबाटसमेत आम्दानी गरिरहेको देखिन्छ । अर्थात लगानीकर्ताको पैसा होल्ड गरेर बैंकमा राख्ने र सो रकमको ब्याजसमेत खाने गरेका रहेछन् कतिपय ब्रोकरहरुले । अझ, कतिपय ब्रोकरहरुमाथि लगानीकर्ताको पैसा होल्ड गरेर आफैँ सेयर कारोबार गर्ने गरेको आरोप पनि छ । अर्थात, पैसा लगानीकर्ताको कारोबार र नाफा ब्रोकर हाउसको । हुन त सबै ब्रोकर यस्तै फट्याई  गर्छ भन्नु गलत हुन्छ । किनकि ५० ब्रोकरहरुमध्ये कोहि सार्है ज्ञानी ब्रोकरहरु पनि छन्, कोहि सार्है ‘हरामी’ ब्रोकर पनि छन् । तर समग्रमा भन्दा केहि ब्रोकरहरुले गर्ने गलत कामका कारण समग्र ब्रोकरहरु नै बदनाम भएका छन् ।
टाँट पल्टिने अवस्थामा आधा दर्जन ब्रोकर
तपाईंहरुले पनि ब्रोकरबाट कतिपटक समयमा पैसा पाउनुभएको छैन होला । ब्रोकरले लिमिट कम राखिदिने, समयमा पैसा नदिने समस्या धेरैका लागि सामान्य भयो । साना तथा नयाँ लगानीकर्तालाई समस्यामा पार्ने ब्रोकरहरु ठुला लगानीकर्तालाई भने लाख होइन, करोड, करोड होइन करोडौं उधारो कारोबार गर्न दिन्छन् । ठुला कारोबारीले गरेको कारोबारबाट कमिसन पनि मोटो आउने गरेकाले उनीहरुको खुब चाकडी गर्छन् ब्रोकरहरु । सूचना ठुला लगानीकर्तासँग, पहुँच पनि तिनैसँग, पैसा पनि तिनैसँग भएकाले ब्रोकरहरुले यसो गर्नु कानुनत: गलत तर व्यवहारिक रुपमा सामान्य पनि होला । तर तिनै ठुला लगानीकर्ता र आफ्नै त हो नि भनेर गरिएका कारोबारको पैसा नउठ्दा अहिले करिब आधा दर्जन ब्रोकरहरु टाँट पल्टिने अवस्थामा छन् ।
आजकै दिन, अहिले नै, भर्खरै सबै ब्रोकरहरुको सम्पत्ति र दायित्व हिसाब गर्ने हो भने करिब आधा दर्जन ब्रोकरहरुको हिसाब निद हराम हुने खालको आउँछ । अर्थात तिर्नुपर्ने भन्दा कयौँ गुणा पैसा उनीहरुले बजारबाट उठाउनुपर्ने छ । यस्तो रकम लाख होइन, करोड पनि होइन, अर्वमा छ । अर्थात ठुला लगानीकर्ताले सेयर किन्दा नदिएको पैसा वा भनौं उठ्न बाँकी पैसा अर्वमा छ । आजकै दिन हिसाब किताब गर्ने हो भने करिब आधा दर्जन ब्रोकरहरु टाँट पल्टिने अवस्थामा छन् ।
नेपालमा ब्रोकर कमिसन अन्य देशको तुलनामा महँगो त छ, तर बजार सधैं बुल हुने कुरै भएन । ३२०० को बिन्दु चुमेर तल गएको बजार यतिबेला साइडवेजजस्तै स्थितिमा छ । सेयर कारोबारीहरु बजारमा सक्रिय देखिएका छैनन् । ठुला खेलाडीहरु बजार प्रवेश गरिनसकेको स्थिति छ । ऋण लिएर सेयर कारोबार गर्ने स्थिति पनि छैन, र गर्दा पनि रिटर्न खास छैन । त्यसैले पनि पैसा नदिई बसेका ठुला लगानीकर्ताका कारण ब्रोकरहरु समस्यामा छन् ।
कानुन मिच्दा समस्या !
उधारोमा सेयर बेच्न पाइन्छ त ? यसको सटिक कानुनी उत्तर हो, पाइन्न । तर यो उत्तर कानुनी हो, व्यवहारिक होइन । व्यवहारमा हुने कुरा र तीतो सत्य बोल्ने हो भने कुनै पनि ब्रोकरमा कारोबार गर्ने नियमित कारोबारी र ठुला लगानीकर्ताले नगदै दिएर सेयर कारोबार गर्दैनन् । किन्ने, नाफा खाने र बेच्ने, अनि मात्र ब्रोकरको पैसा सेटल गर्नेको संख्या त झन् ठुलो छ । अझ भनौं नियमित कारोबारी र ठुला लगानीकर्ताले गर्ने पनि यहि हो । तर बजार सधैं बुल हुने कुरा भएन । अनि बढ्छ भनेर किनेको सेयर, बजार घटेपछि त नाफा हुने कुरै भएन । नाफा नभएपछि सेटल हुने पनि कुरा भएन । सेटल नभएपछि सो सेयर किनेको रकम उधारो बस्ने नै भयो । हो, यसरी अहिले ब्रोकरको अरवौंको उधारो बजारबाट उठ्न बाँकी छ ।
अव सानातिना लगानीकर्ता भए त तिनको सेयर नै बेचिदिएर पैसा उठाउन पनि हुन्थ्यो, तर ठुला लगानीकर्तालाई ब्रोकरले त्यसो गर्न सक्ने कुरै भएन । त्यसो गरे अर्को पटक सो ब्रोकरकहाँ ठुला लगानीकर्ताले काम नै गर्दैनन् । बिजनेश खोसिनुभन्दा बरु अनुनय बिनय गरेर बिस्तारै ती लगानीकर्ताबाट पैसा उठाउँछन् ब्रोकर । अहिले त बजार पनि घटेको छ । यस्तो बेलामा त झन् पैसा उठ्ने कुरै भएन । त्यसमाथि पनि बजारमा आर्थिक मन्दी छ । यस्तो बेलामा त ब्रोकरहरुको पैसा उठ्ने कुरै भएन ।
यसो त ब्रोकरको पैसा फस्ने कारण ठुला लगानीकर्ताको कारोबार मात्र होइन, नियमित कारोबार गरिरहेका साना र मध्यमस्तरका लगानीकर्ताहरुमध्ये पनि धेरैले सेयर किनेर पैसा तिरेका छैनन् । अव सेयर बेचिदिउं भने, आफ्नो पैसा पनि उठ्दैन, सम्बन्ध पनि बिग्रिन्छ । त्यसैले उनीहरु बढी फलोअप नै गर्दैछन् । अझ धेरै लगानीकर्ताले त ब्रोकरले दिने सबै लिमिटमा सेयर किनिदिने र बजार घटेपछि पैसा तिर्न नसकेर अहिले मोबाइल नै अफ गरेर बसेका छन् ।
ब्रोकरहरुकै अनुसार यसरी उधारो उठ्न बाँकी रकम यति धेरै छ कि एक पटक बजारमा राम्रो बुल नआई सबै पैसा उठ्न सक्ने स्थितिमा छैनन् । पैसा तिर्नुपर्नेहरु कोहि मोबाइल नै अफ गरेर बसेका छन्, कोहि मोबाइल त अन छ तर फोन उठाउँदैनन् । कोहि फोन त उठाउँछन्, तर पैसा छैन भन्छन्, कोहि १० करोड तिर्नुपर्ने ठाउँमा १० लाखको चेक पठाउँछन् । र त उधारो बजारले सेयर ब्रोकरहरुलाई यतिसम्म पिरोलेको छ कि, के भन्नु, अहिले नै लेनदेन हिसाब गर भन्ने हो भने आधा दर्जन ब्रोकर हाउसका मालिक सडकमा देखिनेछन् ।
यसरी बढी उधारो हुने ब्रोकरहरुमा केहि ठुला ब्रोकरहरु पनि छन् । जसमा उधारो पनि ठुलै छ । तर पैसा उठ्ने तत्कालको सम्भावना भने सार्है सानो छ । जसका कारण एक्सेलमा हिसाब गर्नु र औंला भाँच्नुबाहेक ब्रोकरसँग विकल्प छैन । कानुनी रुपमा जाउँ भने, कानुनले त उधारोमा सेयर नै बेच्न पाइन्न भन्छ, कसरी जानु ? फलोअप गरौँ पैसा दिन तयार नै छैनन्, उधारोमा सेयर किन्नेहरु । तयार होउन् पनि कसरी ? उनीहरुले त पैसा दिएर सेयर किन्नेगरी कारोबार नै गरेका होइनन् । सेयर किन्छु, बढेपछी नाफा बुक गर्छु अनि ब्रोकरको पैसा तिर्छु भनेर कारोबार गरेका उनीहरुसँग त्यहि नाफा बाहेक अरु पैसा हुने कुरा पनि भएन । र त धेरै ब्रोकरहरु टाँट पल्टिने अवस्था छ अहिले ।
के अव केहि ब्रोकर टाँट नै पल्टिन्छन् त ? 
पल्टिन्छन् होइन हिसाबका अनुसार त पल्टिसके । तर अन्तिम हिसाब नभएको र बजारबाट पैसा उठ्न बाँकी भएकाले यी ब्रोकरहरु यति छिटो टाँट पल्टेर व्यवसाय नै बन्द हुने अवस्था भने पक्कै होइन । सिन्डिकेट बजारमा भएका थोरै ब्रोकरहरुले किन यति छिटो हार मान्थे र ? त्यसमाथि पैसा नहुनेसँग गरेको कारोबार कम नै छ, उधारो उठ्न बाँकी त अर्वपतिहरुसँग न हो ।
यसो त बजारमा धेरै उधारो भएपछि केहि ब्रोकरहरु ब्रोकर हाउस बेच्न ग्राहक खोजिरहेका छन् । पछिल्लो २ महिनामा केहि ब्रोकरहरु किनबेचबारे कुरा पनि भएको छ । तर पैसा हाल्नेहरु एक त लाइसेन्स खुल्छ, अर्को उधारो धेरै छ कसरी उठाउने भनेर ब्रोकर किनिहाल्न नहतारिएका मात्र हुन् । बिगतमा उधारो उठाउन नसकेर कम रकममै ब्रोकर बेचिएका उदाहरण पनि धेरिया छन् हाम्रो बजारमा ।
अझ खास कुरा त के छ भने तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ, बजारमा धेरै ब्रोकरहरुले ठुला लगानीकर्तालाई कारोबार अनुसार लिएको कमिसनसमेत फिर्ता गर्ने गरेका छन् । यसका आपसी समझदारी धेरै किसिमको हुन्छ । हामीले भन्न खोजेको यति हो कि, कानुनले नदिए पनि ब्रोकर र ठुला लगानीकर्ताको साँठगाँठमा धेरै कुरा चलिरहेको छ बजारमा । यहि कारण बजारमा थुप्रै पैसा ब्रोकरले उठाउनुपर्ने छ तर उठ्न सक्ने तत्कालको स्थिति छैन ।
अव अर्को प्रश्न उठ्न सक्छ, म यस्तै ब्रोकरमा काम गरिरहेको छु भने के गर्ने त ? यसमा लगानीकर्ताले तनाव लिनुपर्ने अवस्था छैन । लिनुपर्ने पैसा समयमा नै दिनैपर्छ ब्रोकरहरुले र दिन्छन् पनि । अव तपाईंलाई यस्तो पनि लाग्दो हो, सुरुमा राम्रो सम्बन्ध बनाएर कारोबार गरिराख्ने र पछी उधारोमा सेयर किनेर भागे के हुन्छ ? यसको सटिक जवाफ हो, तपाईंको ब्रोकरसँग सम्बन्ध जस्तो छ, त्यहि अनुसार हुन्छ । सम्बन्ध एकदम राम्रो भए सो पैसा मिलाएर भएका बेला तिर्दा पनि हुन्छ, जुन अहिले धेरै ठुला लगानीकर्ताको हकमा भईरहेको छ । ब्रोकरसँगको सम्बन्ध ठिकै मात्र छ वा बिग्रेको छ भने तपाईं उल्टो समस्यामा पर्नुहुन्छ र तपाईं उठ्नै नसक्नेगरी लड्न पनि सक्नुहुन्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: