×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक प्रकरणमा Ground Zero : कहाँ-कहाँ चुक्यो बैंक ? कहाँ-कहाँ झुक्यो मुख्य अभियुक्त ? प्रहरी किन बोल्न छोड्यो ?

अर्थ सरोकार

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार

PRIME CA

एभरेष्ट बैंक प्रकरणमा Ground Zero : कहाँ-कहाँ चुक्यो बैंक ? कहाँ-कहाँ झुक्यो मुख्य अभियुक्त ? प्रहरी किन बोल्न छोड्यो ?

काठमाडौँ । अर्थ सरोकार डटकमले केहि समय अघि एभरेष्ट बैंक निक्षेप राख्ने मामलामा हुनुपर्ने जति सुरक्षित नभएको खबर सम्प्रेषण गर्यो । बैंकका कर्मचारी निरज प्रधानको मुख्य योजनामा बैंकमा रहेका निष्क्रिय खाताबाट पैसा चोरिएको छ भन्ने सो खबरको प्रमाण त्यतिबेला सतहमै छताछुल्ल भयो, जव बैंककी एक ग्राहकले आफ्नो खाताबाट अनाधिकृत रुपमा पैसा चोरीएको भन्दै बैंक पुगेको र बैंकले यस विषयमा अनुसन्धान थालेको थाहा भयो । सुरुमा बैंकले आलटाल गरे पनि आफ्ना कर्मचारीबाट बदमासी भएको पुष्टी नै भईसकेपछि बैंकले घटनालाई ढाकछोप गर्न आफ्नो पैसा चोरिएको भन्दै बैंक पुगेकी ग्राहक रेखा गुरुङलाई पैसा फिर्ता दियो । तर गुरुङको ७ लाख रुपैयाँ बैंकले फिर्ता दिए पनि बैंकको करोडौं रुपैयाँ निरज प्रधानले अपचलन गरिसकेका थिए ।
आन्तरिक अनुसन्धानबाट बैंकको करोडौं रुपैयाँ हराएको तथ्य फेलापारेपछि बैंकले यस विषयमा नेपाल राष्ट्र बैंक गुहार्यो र प्रहरीमा पनि जाहेरी दियो । बैंकको जाहेरी प्राप्त भएपछि प्रहरीले गत चैत्र १२ गते निरज प्रधानलाई पक्राउ गर्यो । निरज प्रधानको बयानका आधारमा प्रहरीले बैंकका अन्य कर्मचारी र प्रधानले प्रयोग गरेका २ खातावालालाई पनि पक्राउ गर्यो । पक्राउ पर्नेमा बैंकका ब्रान्च मेनेजर र टेलरसमेत छन् । प्रहरीले उनीहरुलाई पक्राउ मात्र गरेन, बरु अनुसन्धानकै सिलसिलामा रहेका उनीहरुलाई पक्राउ गरेको भन्दै सार्वजनिकसमेत गर्यो । प्रहरीले यस्ता मुद्धामध्ये कतिपयमा सुरुमै सार्वजनिक गरेर अनुसन्धान गर्छ भने कुनै केसमा अनुसन्धानबाट दोषी देख्ने आधार देखेपछि मात्र सार्वजनिक गर्छ । तर यो केसमा भने प्रहरीले अनुसन्धानकै क्रममा रहेका उनीहरुलाई पक्राउ गरिएको भनी सार्वजनिक नै गरिदियो, जसमा बैंकको आपत्ति छ ।
बैंकले जाहेरी पनि निरज प्रधानले गलत गरेको भनेर मात्र दिएको थियो । तर आफ्ना कर्मचारीहरुलाई भकाभक समातेर सार्वजनिक गर्न थालेपछि बैंक आत्तिएन मात्र, भोलि पक्राउ परेकाले सीइओकै नाम पोलिदिए, वा अन्य सिनियर हाकिमको नाम लिईदिए भने सोहि नाम लिएकै आधारमा प्रहरीले पक्राउ गर्ने देखेर बैंक व्यवस्थापन तनावमा पर्यो । त्यसपछि बैंकले तुरुन्त आफुले चिनेजानेका प्रहरीका हाकिम र राष्ट्र बैंककोसमेत पावर लगाएर यस विषयमा अनुसन्धानका क्रममा प्रहरीले गरेको कामप्रति आपत्ति जनायो ।
 प्रहरी किन बोल्न छोड्यो ?
यो समाचार लेखिरहँदा अर्थ सरोकार सम्बाददाता सुनसरीस्थित एक होटलमा बसेका छन् । पूर्वकै अर्को होटलमा एभरेष्टका कर्मचारीहरु पनि बसेका छन् । यो प्रकरण बाहिर आएपछि एभरेष्टका सीइओसहित अन्य माथिल्लो तहका कर्मचारी पनि पूर्व आएका थिए । उनीहरुले प्रहरीलाई भेटेका छन् । बैंकका कर्मचारीले भेटेपछि प्रहरी सार्वजानिक रुपमा बोल्न नै छोडेको छ । यसअघि यो प्रकरणबारे खुलेरै बोल्ने प्रहरी एभरेष्ट बैंकको नेतृत्वले भेटेपछि बोल्नै छोड्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
स्थानीय कतिपय र बैंककै केहि कर्मचारीले त प्रहरीलाई बैंकले प्रभावमा पारेको आरोपसमेत लगाएका छन् । यो आरोप सुनेपछि हामी बुधबार एभरेष्ट बैंकका कर्मचारीलाई थुनामा राखिएको ठाउँसम्म पुग्यौँ र प्रहरी प्रवक्तासमेत रहेका डिएसपी राजकुमार राईलाई उनको फोन नम्बर ९८५२०५४७२८ मा फोन गर्यौं । उनले सुरुमा फोन उठाएनन्, पछि आफैं कल ब्याक गरे । दिउँसोभर काममा बिजी हुने हुनाले उनीसँग बेलुकी कुराकानी गर्न सहज हुन्छ भनेर हामी बेलुकी ५ बजे पछि प्रहरी कार्यालय पुगेका थियौं । तर बुधबार बेलुकी त्यहाँ  पुगेका हामीलाई उनले आफु बिजी भएको र शुक्रबार आउन भने । यहि बीचमा केहिले हामीलाई ‘अव डिएसपी साप’ बोल्नुहन्न, हेर्दैजानुहोला’ भनेर दाबीसमेत गरेका थिए । तर सो दाबीमा कुनै तर्क थिएन । एक त प्रवक्ता, अर्को यसअघि सबैजसो मिडियामा बोलेका, अर्को पत्रकारसम्मेलन नै गरेर अभियुक्त सार्वजनिक गरेकाले यस विषयमा नबोल्ने कुरै भएन । त्यसमाथि उनले शुक्रबार आउनु भनेर समय नै दिएका थिए । तर जव हामी शुक्रबार उनलाई भेट्न गयौँ, उनले कसैगरी पनि हामीसँग बोल्न मानेनन् ।
हामीले पटक-पटक उनलाई हाम्रो क्यामरामा अहिलेको केसको बारेमा बोलिदिन आग्रह गर्यौँ, तर उनी मान्न तयार नै भएनन् । घटनाको बेलीविस्तारसहितको खबर अर्थ सरोकारमा आएको, सोहि घटना बुझ्न अर्थ सरोकारकर्मी स्थलगत नै आएको खबर एभरेष्टका कर्मचारीसँग थियो । राईको कुरा सुन्दा एभरेष्टका कर्मचारीले सो खबर प्रहरीलाई दिएको र यस विषयमा सकेसम्म नबोल्न अनुरोध गरेको भान हुने हुन्थ्यो । यतिसम्मकि ‘नयाँ केहि अपडेट छैन भने यो केसमा तपाईंले पहिला नै सार्वजनिक गर्नुभएको वा अरु मिडियामा बोल्नुभएको कुरा नै हामीलाई क्यामरामा बोलिदिनुहोस न’ भनेर अनुरोध गर्दा पनि उनी, ‘पहिलाको कुरा त पहिला नै भनिसकें नि’ भन्दै पन्छिए । कसैगर्दा पनि उनी बोल्न नमानेपछि यस विषयमा भिडियो सामाग्री बनाउने हाम्रो योजना सफल भएन । हामी  फर्कियौँ ।
कहाँ-कहाँ चुक्यो बैंक ? 
यो प्रकरण घट्नुमा बैंककै कमजोरीको मुख्य दोष देखिन्छ । अरु बैंकमा भएको भए आजसम्म बैंकका प्रदेश नम्बर १ प्रमुख, र उनले रिपोर्ट गर्ने कर्मचारीमाथि स्पष्टीकरण सोध्ने काम भईसक्थ्यो, तर एभरेष्ट बैंकले अहिलेसम्म यसो नगर्नुले पनि बैंकले कमजोरी स्वीकारेको स्पष्ट हुन्छ । अर्को महत्वपूर्ण कुरा के हो भने बैंकले यस अघि पनि गलत गर्ने कर्मचारीलाई कारवाही नै नगरी छोड्ने गरेको थियो । यसअघि ग्राहकका नागरिकता दुरुपयोग गरेर नक्कली डिम्याट खाता खोल्ने एक कर्मचारीलाई कारवाही गरेको थिएन । यस विषयमा स्वयम् निरज प्रधान पनि जानकार थिए । गलत गरेको थाहा नै भए पनि बैंकले कारवाही नगर्ने गरेको नजिर देखेका उनलाई यसले थप आत्मविश्वास दिएको थियो । यतिसम्मकि बैंकमा अहिले पनि खासै कुनै पनि कुरा सुरक्षित रहेको स्थिति देखिंदैन । बैंकले कर्मचारीहरुलाई पठाएको आन्तरिक सर्कुलरमात्र होइन यस्ता थुप्रै संवेदनशील डकुमेन्टहरु बाहिरिएका छन् । अर्थ सरोकार डटकमले बैंकको सर्कुलर नै छापिदिएपछि बैंकले आन्तरिक लुपहोलहरुलाई सुधार्नुको सट्टा उल्टै युनियनका तर्फबाट सो सर्कुलर कसरी बाहिर गयो भनेर धम्कीपूर्ण इमेल आएको छ । हामीलाई सो सर्कुलर पठाउने बैंकका कर्मचारी भन्छन्- ‘मैले तपाईंलाई सर्कुलर पठाएजस्तै हाम्रो बैंकमा त जसको जानकारी जसलाई पनि दिने गरिएको छ । यसमा कुनै पनि रोकतोक छैन । ग्राहकको नागरिकता दुरुपयोग गरेको प्रमाणित हुँदा पनि एभरेष्ट बैंकमा कारवाही हुँदैन, यसअघि पनि भएन ।’
यता बैंकका सूचना अधिकारी केशब पौडेल भने बाहिर कसरी सर्कुलर गयो भन्ने विषयमा आफुलाई थाहा नभएको तर यो गम्भीर विषय भएको तर यसलाई बैंकले नियमन गर्न गाह्रो हुने बताउँछन् । ‘बैंकका सर्कुलर, आन्तरिक मेमो, वा ग्राहकका डकुमेन्ट नै बाहिर जान्छ भन्ने खबर गम्भीर विषय हो । तर यति धेरै कर्मचारी छन्, कसले किन यस्तो गर्यो भनेर थाहा पाउन सकिने अवस्था नै हुँदैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘हामीलाई त यस विषयमा थाहा पनि थिएन, अर्थ सरोकारमा सर्कुलर नै छापिएको भनेपछि अव यस विषयमा हामी बुझ्छौँ ।’ उनले भने ।
यसो त बैंक निरज प्रधानलाई मात्र आफुले जाहेरी दिएको र बाँकीलाई प्रहरीले आफैं समातेको दाबी गर्छ । तर अनुसन्धानका क्रममा पक्राउ परे पनि उनीहरुलाई सार्वजनिक नगर्न बैंकले अनुरोध गर्न सक्थ्यो, जुन गरेन । यस अघि थुप्रै बैंकहरुले पक्राउ परेका आफ्ना कर्मचारीहरु अनुसन्धानको सिलसिलामा पक्राउ परे पनि उनीहरु निर्दोष पनि हुन सक्ने भन्दै सार्वजनिक नगर्न प्रहरीलाई अनुरोध गरेपछि प्रहरीले त्यसै गरेका थुप्रै उदाहरणहरु पनि छन् । तर बैंक यहाँनेर चुक्यो । प्रहरीले आफ्ना कर्मचारीहरुलाई सार्वजनिक गर्न सक्छ भन्ने तथ्यसमेत ख्याल नगरी बैंक चुप लाग्यो, अन्तत: अनुसन्धानकै क्रममा रहेकाहरुलाई प्रहरीले सार्वजनिक गरिदियो ।
बैंक यो प्रकरणमा आफ्ना कर्मचारीप्रति उत्तरदायी पनि देखिएन । आफ्नी कर्मचारीहरुबारे अनर्गल प्रचार सामाजिक संजालमा भाइरल हुँदा पनि बैंक यस विषयमा चुइक्क पनि बोलेन । बरु बैंकका कतिपय ब्रान्चका हाकिमले बैंककि कर्मचारी निर्दोष हुन सक्छिन् भन्ने आशयको खबरमा नेगेटिभ कमेन्ट गर्न मौखिक निर्देशन नै दिए । हाकिमको निर्देशनपछि कतिपय कर्मचारीले पक्राउ परेकी पवित्रा कटवालका बारेमा बाहिर आएका हल्ला गलत हुन् भनेर आएका समाचारमा समाचार लेख्ने संचारमाध्यामलाई तथानाम गाली गरे । यसको नियमन र नियन्त्रणसमेत बैंकले गरेन । समग्रमा भन्दा कहीं कतै पनि आफ्ना कर्मचारीको चरित्र माथि नै प्रश्न उठ्दा पनि बैंकले त्यसको खण्डन गर्न आवश्यक ठानेन । बरु बैंकले प्रहरीले गलत गर्यो र प्रहरीले विभिन्न संचारमाध्यममा पठाएको खबर गलत छ भन्ने आशय व्यक्त गर्यो ।
कहाँ-कहाँ झुक्यो मुख्य अभियुक्त ? के हुन सक्ला अवको सम्भावित परिदृश्य ?
सुरुमा प्रहरीको प्रारम्भिक बयानमा घोटालाका मुख्य अभियुक्त निरज प्रधानले अन्य कर्मचारीलाई पोलेका थिए । उनले बैंकका तत्कालीन ब्रान्च मेनेजरसँगसमेत मिलेमतो गरेको आशय व्यक्त गरेका थिए । तर पछि थप बयानका क्रममा उनले आफुले गल्ती गरेको स्वीकारेका छन् । उनले यो केसलाई थप ‘कम्प्लीकेटेड’ बनाउन त खोजेका छन्, तर आफु कसैगरी नबच्ने देखेपछि उनले आफ्नो गल्ती पनि स्वीकारेका छन् । समग्रमा भन्दा उनले आफुले बैंकमा रहेको ग्राहकको खाताबाट पैसा चोरेको स्वीकारेका छन् ।
यस अघिका घटनाका नजिरहरु हेर्ने हो भने र उनको बयान हेर्ने हो भने उनले बयान दिएकै आधारमा समातिएका अन्यलाई दोषी देखाउने ठाउँ छैन । तर उनीहरुको नै युजर आईडी प्रयोग भएर बदमासी गरिएको हुनाले उनीहरुलाई पोल्न प्रधानलाई सहज भएको छ । प्रहरीले यस विषयमा कसले कसको आईडी कहिले प्रयोग गरेको भन्ने विषयमा सीसीटिभि अध्ययन गर्नेसमेत भनेको छ । तर सो सिसिटिभी फुटेज उपलब्ध छ कि छैन भन्ने विषयमा बैंक र प्रहरी दुवै बोल्दैनन् । यदी सीसीटिभी फुटेजमा प्रधानले नै अन्य कर्मचारीको आइडी प्रयोग गरिरहेको देखिएको खण्डमा प्रधानलाई मात्र दोषी देखाइनेछ र अन्य छुट्नेछन् । सो प्रमाण फेला नपरेको अवस्थामा घोटालाको मतियारका रुपमा अन्यलाई पनि सजाय हुन सक्छ । तर स्वयम् बैंकले पनि यस प्रकरणमा प्रधानमात्र दोषी भएको भन्दै प्रहरीमा बयान दिएका कारण अन्य कर्मचारी छुट्ने सम्भावना छ ।
पूराना यस्तै घटनाको नजिर हेर्ने हो भने बैंकका अन्य कर्मचारी धरौटीमा छुट्नेछन् र निरज प्रधान पुर्पक्षका लागि थुनामा जानेछन् । मुद्धाको अन्तिम किनारा लाग्दा उनी दोषी ठहर भएमा उनलाई बिगो र जेल सजाय दुवै हुन सक्ने कानुनी व्यवस्था छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: