×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल र भारतबीच ऊर्जा व्यापारमा ऐतिहासिक सहमति

PRIME CA
GLOBAL IME BANK

नेपाल र भारतबीच ऊर्जा व्यापारमा ऐतिहासिक सहमति

१९ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको प्रतिनिधिमण्डल शान्ति अहिंसाका प्रवर्तक महात्मा गान्धीको समाधिस्थल पुग्दै गर्दा बिहीबार बिहान हल्का वर्षा भइरहेको थियो । उष्ण मौसम भएको राजघाटमा हल्का वर्षा भइरहेका कारण गर्मीको अनुभव गर्न परेको थिएन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले त्यसलाई आफ्नै शब्दमा बिहीबार साँझ आयोजित कार्यक्रम व्यक्त गरे । ‘बिहान हामी महात्मा गान्धीको समाधिस्थल जाँदै गर्दा हल्का वर्षा भइरहेको थियो । त्यसले हामी सबैलाई सकारात्मक अनुभूति गराएको थियो ।’, प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध आजका दिनदेखि नयाँ चरणमा प्रवेश गरेको छ ।’

प्रधानमन्त्री दाहालले आफ्नै शब्दमा प्रस्तुत गरेजस्तै नेपालले लामो समयदेखि माग गर्दै आएका केही महत्वपूर्ण विषयमा यस पटक सहमति भएको छ । बिजुली व्यापारको तीव्र प्रतीक्षामा रहेको नेपालले आफ्नो आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने गरी अनमति पाएको छ । उच्च राजनीतिक तहमा सहमति भएपछि केही प्राविधिक विषयमा क्रमशः सहमति बन्दै जान्छ ।

भारतले आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली नेपालबाट आयात गर्ने भएको छ । यस्तै, माथिल्लो तामाकोशीलगायतका आयोजनाको बिजुुलीसमेत खरिद गर्ने भएको छ । यो आफैँमा महत्वपूर्ण सहमति हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बिजुली व्यापारमा त यो ऐतिहासिक ‘ब्रेक थ्रु’ नै हो । बुधबार भारतको औपचारिक भ्रमणमा पुगेका प्रधानमन्त्रीले बिहीबार उनका भारतीय समकक्षीदेखि भारतका राष्ट्रपति, उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको नेपाल बिजनेश समिटलाई समेत सम्बोधन गरे । भ्रमणका क्रममा केही ऐतिहासिक र दूरगामी महत्वका विषयमा सहमति र समझदारी भएका छन् । जुन नेपालको समग्र आर्थिक विकास र समृद्धिका लागि कोसे ढुङ्गा सावित हुनेमा कुनै दुविधा नरहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ ।

प्रधानमन्त्रीले बिहीबार हैदरावाद हाउसमा आफ्ना समकक्षीका बीचमा गरेको छलफलपछि विभिन्न सात वटा विषयमा सहमति भएका छन् । त्यसमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको शिलान्यास, फुकोट कर्णाली जलविद्युत् आयोजना, रेल्वे लाइनको उद्घाटन, एकीकृत जाँचचौकी, दोधारा चाादनीमा सुक्खा बन्दरगाहको निर्माण, पेट्रोलियम पाइप लाइनकोे निर्माण र तल्लो अरुण जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पीडिए) छन् । यस्तै, नेपालले हवाई मार्गका सम्बन्धमा राखेको विषयमा समेत महत्वपूर्ण सहमति भएको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

यस्तै, नेपालको बिजुली बङलादेश निर्यात गर्ने विषयमा समेत महत्वपूर्ण समझदारी बनेको छ । बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चाहेको र त्यसमा भारतको सहमतिसमेत खोजिरहेको अवस्थामा आजको सहमति त्रिदेशीय विकासका लागि समेत महत्वपूर्ण परिघटना बन्न पुगेको छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीसँग स्पष्ट शब्दमा सीमा समस्या समाधानका लागि आग्रह गरेका छन् । नेपाल र भारतका बीचमा सीमा समस्या छन् । ती समस्या समाधानका लागि दुवै प्रधानमन्त्रीको सहमति छ । प्रधानमन्त्री प्रचण्डले हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा नै आफूले आफ्ना भारतीय समकक्षीसँग सीमा समस्या समाधानका लागि अनुरोध गरेको जानकारी दिएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: