काठमाडौं । अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् । मंगलबार संसदको अर्थसमितिमा बोल्दै डा. महतले यस्तो बताएका हुन् ।
‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन । समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ ।’ अर्थमन्त्री महतले भने, ‘हामीले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेका हौं । यो कालखण्डमा हामीले राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले हामी भौतिक विकासमा हामी धेरै पछाडि छौं । आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै छन् । माग धेरै छ, पूरा गरेका कुरा कम छ । यस अर्थ असन्तुष्टि आउनु स्वभाविक हो । ’
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन अर्थ मन्त्रालय समन्वयकारी भूमिकामा रहेको उल्लेख गरे । ‘समस्या न्यून गरियो भने हामी विकास र समृद्धिको बाटोमा अगाडि बढ्न सक्छौं,’ उनले भने ।
राजस्व उठ्ने विषयमा समस्या देखिएको तर प्रगति भएको महतले बताए । ‘राजस्व संकलन संशोधित लक्ष्यअनुसार पनि भएन, तर प्रगति भएको छ । हामीले गत वर्षभन्दा ०.५२ प्रतिशत बढी उठाउन सक्छौं,’ मन्त्री महतले भने, ‘कसिलो मौद्रिक नीति राष्ट्र बैंकले अपनायो, जसले गर्दा आवश्यक मुद्रा प्रवाह हाम्रो अर्थतन्त्रमा भएन । ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पुँजीगत खर्च त्यही रुपमा हुन सकेन । जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन ।’
एकातिर आयात कम हुँदा भन्सार कम उठ्यो र अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा भन्सार लक्ष्यअनुसार नउठेको महतले बताए । ‘गैरकर गत वर्षभन्दा ११.८८ प्रतिशत बढी उठेको छ,’ उनले भने, ‘जो सम्पन्न छ, कर तिर्नुपर्ने स्थितिमा छ, उनीहरुलाई करको दायरामा ल्याएका छौं । यसले गर्दा हामी आगामी वर्ष राजस्व बढाउन सक्छौं ।’
आउँदो वर्ष अर्थतन्त्र चलायमान हुने संकेत देखिन थालेको उनले बताए । ‘मौद्रिक नीतिका लागि हामीले राष्ट्र बैंकलाई भनेका छौं, समयसीमाभित्र बजेट कार्यान्वयनका लागि कर्मचारीलाई निर्देशन गरिसकेका छौं,’ उनले भने ।
क्षमताभन्दा पनि बढी पैसा सामाजिक सुरक्षामा खर्च गरेको उनको स्वीकारोक्ति छ । ‘पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई हामी सामाजिक सुरक्षा खर्च दिन्छौं । यसबाट हामी पछाडि फर्किन सक्दैनौं,’ उनले भने, ‘अव निर्णय गर्दा विचार गर्नुपर्छ, अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्यांक आउँदै छ, जो निश्चित आयभन्दा तल छन्, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गछौं ।’
प्रशासनिक खर्च घटाउन सबै समर्पित भएर लाग्नुपर्ने मन्त्री महतले बताए । उनले भने, ‘सानो-सानो बचतबाट हामी ठूलो बचत गर्न सक्छौं । बचत गर्ने काममा हामी सबै गम्भीर भइयो भने ठूलो बचत हुन्छ । यो ठूलो बचतलाई हामी सही ठाउँमा उपयोग गर्न सक्छौं । यसो भयो भने स्रोत र साधनको हाहाकार रहँदैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्