×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणः न खुल्यो कोरला नाका, न आउने भो चिनियाँ बैंक, ‘भ्रमण सकियो, आस पनि सकियो’

PRIME CA

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणः न खुल्यो कोरला नाका, न आउने भो चिनियाँ बैंक, ‘भ्रमण सकियो, आस पनि सकियो’

९ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को एक साता लामो चीन भ्रमण सकिएको छ । तर, प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएका सम्झौता र समझदारीमा खासै नयाँ केही नपरेपछि अपेक्षित वर्ग निराश बनेका छन् । खासगरी प्रधानमन्त्रीको चीन भ्रमणले वर्षौंदेखि चर्चाको विषय बनेको कोरला नाका खुल्छ भन्नेमा धेरैको अपेक्षा थियो तर दुई देशबीचको सम्झौता तथा समझदारीमा उक्त विषयले स्थान नपाएपछि नेपालीहरु निराश भएका हुन् ।

यसो त उत्तरी छिमेकी चीनसँग जोडिने उपल्लो मुस्ताङको कोरला नाका व्यापारिक दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । सन् १९६० को दशकअघि कोरला नाका नेपाल र तिब्बतबीचको महत्वपूर्ण व्यापारिक नाका थियो । सन् १९४९ सम्म तिब्बतको छुट्टै अस्तित्व भाए पनि सन् १९५० मा तिब्बतमा चीनको शासन शुरु भयो । चीनको विरोधमा सन् १९६० मा तिब्बतको खामका बासिन्दा (खम्पा)हरूले नेपालको भूमि (मनाङ र मुस्ताङ) प्रयोग गरी विद्रोह थालेपछि यो नाका बन्द भएको थियो । सन् १९६० देखि बन्द रहेको यो नाका ६३ वर्ष बितिसक्दा पनि अझै खुल्न सकेको छैन ।

यो नाका सञ्चालनमा आएको खण्डमा दुई पक्षबीचको व्यापारिक सम्बन्ध मजबुत हुने र नेपालको आयात निर्यात व्यापारमा सहज हुने विश्वास गरिएको थियो । तर, प्रधानमन्त्रीको चीन भ्रमणमा सो नाका सञ्चालनको विषयले ठाउँ नपाएपछि नेपालका व्यवसायीहरु निराश भएका छन् ।

‘प्रधानमन्त्रीको चीन भ्रमणले कोरला नाका खुल्छ भन्ने थियो । यो नाका खुल्दा नेपालका व्यापारीलाई सहज मात्रै हुने थिएन बरु व्यापारिक समृद्धीमा कोषेढुँगा नै साबित हुनेथियो ।’, एक व्यापारीले भने, ‘तर, प्रधानमन्त्रीको भ्रमणमा यो विषयले ठाउँ पाएन । नाका खुल्ने विषय सम्झौता र समझदारी पत्रमा अटाएन । अब त प्रधानमन्त्रीज्यूको भ्रमण पनि सकियो, आस पनि सकियो ।’

यता प्रधानमन्त्रीको चीन भ्रमणअघि खुब चर्चा कमाएको नेपालमा चिनियाँ बैंक भित्रिने विषयले पनि मूर्त रुप पाएन । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा २०७२ सालमा नेपाल राष्ट्र बैंक र चिनियाँ केन्द्रीय बैंकका तत्कालीन प्रमुखहरुबीच वित्तीय सहकार्य बढाउने गरी दुई देशमा एक अर्काका देशका बैंकिङ सेवा विस्तार गर्ने सम्झौताको ‘ब्रेक थ्रु’ हुने धेरैको अपेक्षा थियो । तर, भ्रमणमा यो विषयले पनि प्राथामिकता पाएन ।

यसो त प्रधानमन्त्रीको चीन भ्रमणअघि नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमेसन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रुपमा नेपाल चीन बिजनेश समिटको आयोजना गरेको थियो । जहाँ महासंघका अध्यक्ष चन्द्र ढकालले दुई देशबीच कारोबार बढिरहेको सन्दर्भमा नेपालमा चिनियाँ बैंकको आवश्यकता रहेको बताएका थिए ।

तर, प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग उक्त विषयमा कुनै पनि छलफल तथा वार्ता नगरेपछि नेपालमा चिनियाँ बैंक आउने विषय पनि दुई देशबीचको सम्झौता तथा समझदारी पत्रमा अटाउन सकेन । यसले व्यवसायीहरुलाई थप निराश बनाएको व्यवसायीहरुले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: