×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसद प्रेम सुवालसँग सेयरका कुरा – ‘सेयर बजारमा डुबेकाहरुलाई सरकारले क्षतिपुर्ति दिनुपर्छ…(अन्तर्वार्ता)

PRIME CA

सांसद प्रेम सुवालसँग सेयरका कुरा – ‘सेयर बजारमा डुबेकाहरुलाई सरकारले क्षतिपुर्ति दिनुपर्छ…(अन्तर्वार्ता)

२२ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । संसदमा खरो बोलेरै लामो समयदेखि चर्चाका पात्र बनिरहेका प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सेयर बजारसम्बन्धि दिएको अभिव्यक्तिका कारण फेरि चर्चामा आएका छन् । बिहिबारको प्रतिनिधि सम्भा बैठकमा उनले सेयर बजार बन्द गर्नुपर्ने धारणा राखेपछि उनी पुन: चर्चामा आएका हुन् । अन्य क्षेत्रका विज्ञहरु पनि सेयर कारोबारमा लाग्दा मुलुकलाई घाटा भएको भन्दै सेयर बजारसम्बन्धि कानुन खारेज गर्नुपर्ने धारणा राखेका सुवालले डाक्टर, इन्जिनियर, शिक्षक तथा कर्मचारीहरु दिनभरी मोबाईल, ल्यापटप अथवा कम्प्युटर अगाडी बस्ने, सेयर बजारको उतार चढाव हेर्ने गरेको भन्दै बजारकै कारण धेरै सर्वसाधारणहरु आत्महत्या गर्नुपर्ने स्थितिमा पुगेको समेत दाबी गरे ।
उनको प्रश्नपछि जवाफमा अर्थमन्त्रीले सेयर बजारमा लगानी गर्न सबैले पाउने र त्यसलाई अन्यथा लिनु नहुने बताएका थिए। उनले संसदमा यस्तो धारणा राखेपछि सेयर बजारका लगानीकर्तामाझ उनको यो अभिव्यक्ति अहिले विवाद, आलोचना र चर्चाको विषय बनेको छ । आखिर उनले किन यस्तो भने ? उनी आफैंले बुझेर भने वा कसैले टिपाएर भने ? प्रस्तुत छ अर्थसरोकारकर्मी सुदर्शन श्रेष्ठले उनै सुवालसँग गरेको कुराकानी :

१.तपाईंले संसदमै सेयर बजार खारेज गर्नुपर्छ भनेर अभिव्यक्ति दिनुभयो । बजार खारेज नै गर्दा लगानीकर्ताको खरबौँको लगानीको जिम्मा कसले लिन्छ ? ख्याल गर्नुभएको छ ?

डुब्ने पैसाको जिम्मा कसले लिन्छ भन्दा पनि साना लगानीकर्ताको १७ खर्ब रुपैयाँ डुबेको छ । त्यसको जिम्माचाहिँ कसले लिन्छ  ? ४४ खर्बको कुल सेयर कारोबारमध्ये अब जम्मा २७ खर्ब बाँकी छ । अनि डुबेको पैसा कसले तिरिदिन्छ ? मान्छेहरु भकाभक आत्महत्या गर्दैछन् । उनीहरुको पैसाको चाहिँ कसले जिम्मा लिन्छ ? मैले यो सब देखेर यो सेयर बजार नै खारेज गरौँ भनेको हो ।

२. सेयर बजार खारेज गरौँ भनेर बुझेरै भन्नुभएको हो कि, नबुझेर भन्नु भयो कि कसैले टिपाईदिएर भन्नुभएको हो ? 
बुझेरै भनेको हो । सेयर बजारमा धेरै मान्छेहरुको सम्पत्ति डुबेको छ । डुब्नेहरुको पैसा कसले तिरिदिन्छ ? यो त जुवाजस्तै खेलाईरहेको छ सरकारले ।

३. सेयर बजार त अर्थतन्त्रको ऐना हो नि, होइन र ? 
यो सेयर बजार भनेको पूँजीवादको रक्तनलीजस्तै हो । यसले पूँजीवादलाई बलियो बनाउँछ । अनि पूँजीवादले सिमित मुख्य घरका व्यक्तिहरुको हातमा देशको सम्पत्ति र स्रोतसाधन पुर्याउँछ । यसको अर्थ असंख्य गरिब जनतालाई दुःख हुनु हो । अब अहिले सेयर कारोबारको कुल ४४ खर्ब पूँजी २७ खर्बमा झरेको छ । झण्डै १७ खर्ब रुपैयाँ त डुब्यो नि ! अब त्यो डुबेकाहरुमध्ये कतिले आत्महत्या गरे, उनीहरुको डुबेको सम्पत्तिको क्षतिपूर्ति कसले दिन्छ ? एक सय जना सेयर कारोबारीले सेयर बजारलाई घटाउने र बढाउने गर्छन् । तर, सरकार निरिह छ, अनि जनताचाहिँ मर्नुपर्ने ? त्यसकारण यस्तो व्यवस्था राख्नु हुँदैन ।

४. त्यसो भए तपाईको निष्कर्ष सेयर बजार खारेज नै गर्नुपर्छ भन्ने हो ?
गरिब जनता मार्ने नीति राख्न मिल्छ र ? केही सयजना कारोबारीले सेयर बजारलाई कब्जा गरेका छन्, अनि यस्तो चिज राखेर जनताको कल्याण हुन्छ ? यसरी त बर्बाद नै हुन्छ ।

५. बजार नै खारेज गर्दा त झन् धेरै डुब्छन् नि होइन र ?
त्यो त हो । तर, त्यसको जिम्मा सरकारले लिनुपर्छ । सरकार भनेकै त्यसैको लागि चाहिएको त हो । सरकार भनेको प्रधानमन्त्री-मन्त्री भएर झण्डावाला गाडीमा सिंहदरबारको भित्र बाहिर गर्ने होइन नि । यस्तै चल्ने हो भने त यो सेयर बजारले झन् दुःख दिन्छ । सारा चिज विदेशबाट आयात हुन्छ, अनि जनतालाई सेयरमा लगानी लगाएर डुबाउनु त भएन नि ।

६. समस्या बजारमा पक्कै छन् । तर समस्याको त समाधान गर्ने हो, खारेजी नै विकल्प हो र ?
होइन ।  ठगीजस्तो भईरहेको काम कसरी समाधान हुन्छ खारेज नगरी ? समाधान हुने भएको भए पहिले नै भइसक्थ्यो नि । सेयर घटेर मान्छेहरु डुबिरहेका छन्, झनझन् डुब्ने स्थिति छ । जनतालाई बरु अरु काममा लगाउनुपर्यो । भएजति सबै सेयर बजारमा लाग्ने अनि हासिल गरेको विशेषज्ञता कामै नलाग्ने स्थिति भयो यो देशमा ।

७. विकल्प नखोजी खारेज नै गर्नुपर्छ भन्नु त फेरि पनि सार्है हतार हुँदैन र ?
के को हतार ? अब लगानीकर्ता झन्झन् डुबिरहेकाछन्, आत्महत्या गर्नेहरु झन् बढ्दैछन्, अनि खारेज नगरी हुन्छ त ? अप्रेशन गर्नुपर्ने बिरामीलाई मलहमपट्टी मात्रै लगाएर हुँदैन नि । मलहमपट्टी मात्रै लगाउँदा झन् घाउ बल्झिन्छ नि । धेरैले बैंक, वित्तीय संस्था र सहकारीबाट ऋण लिएर सेयर बजारमा लगाएका छन् । अहिले सेयर बजारमा पनि डुब्यो, ऋण तिर्न पनि सकेनन् । बैंक तथा वित्तीय संस्था पनि डुब्ने, सहकारी पनि डुब्ने, जनता पनि डुब्ने अनि के गर्ने त ? त्यसैले अब कोही पनि नडुब्ने गरी सबैको जिम्मा सरकारले लिनुपर्छ र सेयर बजारमा कारोबार नगर्नुस् भन्नुपर्छ । यो सरकारले सेयर बजारलाई सुधार गर्छ भनेर सोच्नु नै गलत हो, त्यसैले सेयर बजार खारेज नै गर्नुपर्छ ।

८. तपाईंको चाहिँ सेयरमा लगानी छ कि छैन ?
छैन । सेयर बजारमा लगानी नै गरेको छैन । डिम्याट खाता पनि छैन, केही छैन अहिलेसम्म । मैले त जनताको गुनासो आएको भएर मात्रै यो कुरा उठाएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: