×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याजदर घट्न थालेपछि बैंकहरुमा ऋण लिनेको ओहिरो !

PRIME CA

ब्याजदर घट्न थालेपछि बैंकहरुमा ऋण लिनेको ओहिरो !

११ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो तीन महिनायता बैंक तथा वित्तीय संस्थाहरुमा ऋण लिनेको संख्या बढ्दो छ । उच्च ब्याजदरका कारण गत फागुनदेखि बैंक तथा वित्तीय संस्थामा घटेका ऋण लिनेको संख्या साउनदेखि बढ्न थालेको हो । हाल बैंकहरुको ब्याजदर घट्दो क्रममा रहेकाले पनि बैंक तथा वित्तीय संस्थामा ऋण लिनेहरु बढेका हुन् ।

पछिल्लो भदौयता बैंकहरुमा ऋण लिनेको संख्या बढिरहेको एक बैंकका सीईओले पुष्टि गरेका छन् । ‘हो, केही समय बैंकिङ प्रणालीमा कर्जा प्रवाह निकै चुनौतिपूर्ण देखिएको थियो । लगानीयोग्य रकम हुँदाहुँदै पनि लगानी गर्न नसकिने अवस्था थियो । तर, अहिले स्थिति सहज बन्दै गएको छ ।’, ती सिइओले भने, ‘अहिले बैंकहरुको ब्याजदर पनि घट्दो क्रममा छ । स्थिति सामान्य बन्दै गएर पनि होला पछिल्लो तीन महिनायता कर्जा लिनेहरु बढेका छन् ।’

यसो त जेठमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेको संख्या १८ लाख ५५ हजार ७ सय ८० पुगेको थियो । जुन संख्या गत फागुनयताकै उच्च हो । तर, असारमा यो संख्या पुनः घटेर १८ लाख ४५ हजारमा सीमित भएको थियो । यद्यपि साउनयता भने बैंक तथा वित्तीय संस्थाहरुमा ऋण लिनेको संख्या बढ्दो छ ।

गत फागुनमा बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर १३.०३ प्रतिशतसम्म पुग्दा ऋण प्रवाह ह्वात्तै घटेको थियो । तर, असोज महिनासम्म आइपुग्दा बैंकहरुमा कर्जाको ब्याजदर १२.११ प्रतिशतमा झरेको छ । यही कारण पनि पछिल्लो समय कर्जा प्रवाह बढेको बैंक तथा वित्तीय संस्थाहरुको दाबी छ ।

तर, यहिबेला लघुवित्त वित्तीय संस्थाहरुको भने हरिबिजोग देखिएको छ । दुर्गा प्रसाईं र मनिराम ज्ञवालीको आन्दोलनका कारण ऋण असुलीमा ठूलो चुनौतीको सामना गरिरहेका लघुवित्त संस्थाहरु यतिबेला कर्जा प्रवाह भन्दा पनि कर्जा असुलीमा बढी केन्द्रित छन् । यसै पनि अहिले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएकाहरु आन्दोलनमा हिँडेपछि लघुवित्तमा कर्जा असुली झन् अप्ठ्यारो देखिएको छ ।

त्यसैमाथि कर्मचारीहरुको आन्दोलनका कारण पनि लघुवित्त क्षेत्र थप मर्कामा परेका छन् । यही कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश लघुवित्त घाटामा गएका छन् । यसले आगामी दिनमा लघुवित्तको अवस्था अझै कठिन हुने जानकारहरु बताउँछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: