×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा हदैसम्मको मनपरी, लगानीकर्तामारा कम्पनीलाई सेटिङमा छोडिन्छ, अरु लफडा त कति हो कति ! (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : १ पुष २०८०, आईतवार

PRIME CA

नेप्सेमा हदैसम्मको मनपरी, लगानीकर्तामारा कम्पनीलाई सेटिङमा छोडिन्छ, अरु लफडा त कति हो कति ! (भिडियो)

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अर्थात नेपाली सेयर बजारमा अहिलेसम्मको एक मात्र फ्रन्टलाइन रेगुलेटर । जिम्मेवारीका हिसाबले सार्है जिम्मेवार हुनुपर्ने संस्था । तर जिम्मेवारीको कसीमा सधैँजसो असफल हुने गरेको नेप्सेको रबैया, र मनपरी जसरी पछिल्लो समय बढिरहेको छ, त्यसले अव नेप्सेलाई सौता हाल्नुपर्छ भन्ने आवाज उठिरहेको छ । कहिले कारोबार नै नहुने, कहिले कारोबार नदेखिने, कहिले कारोबार भित्रभित्रै हुने तर आम लगानीकर्तालाई थाहा नहुने, जस्ता समस्याले नेप्से कि अव सच्चिनुपर्छ कि अर्को स्टक एक्सचेन्ज आउनुपर्छ भन्ने भन्ने आवाज उठिरहेको छ नेपाली सेयर बजारमा ।

तर नेप्सेका हाकिमले नेप्सेको नाममा खुलेआम कसैले रक्सीको व्यापार गर्दा पनि निजलाई कारवाही गर्न नसक्ने, बरु त्यहि रक्सी खाएर कुरा मिलाउन खोज्नेहरुलाई पोस्ने, कम्पनीले गरेको गलत काममा लगानीकर्तालाई सोस्ने, सकेसम्म सोझा लगानीकर्तालाई कस्ने, र आफ्नो दोष लुकाउन अरुलाई डस्ने नेप्सेको रबैयाका कारण लगानीकर्ताहरुले अर्को स्टक एक्सचेन्ज चाहियो भनिरहेका छन् । तर नेप्से हामी चल्न पनि यसरी नै चलिरहन्छौँ, र नयाँ स्टक एक्सचेन्ज पनि आउन दिनु हुन्न भनिरहेको छ । हुन पनि हो, अर्को स्टक एक्सचेन्ज आयो भने त प्रतिष्पर्धा गर्नुपर्छ, लगानीकर्ताहरुलाई सेवा दिनुपर्छ, लगानीकर्ताप्रति जिम्मेवार हुनुपर्छ, अनि यस्तो गर्दा फेरी दाम आउने ठाउँ झ्याप्प बन्द हुन्छ भन्ने डर छ ।

यहि डरका कारण नेप्से आफु पनि राम्रो काम नगर्ने, अनि नयाँ स्टक एक्सचेन्ज पनि ल्याउन नदिने काम गरिरहेको छ । र आजको अंकमा हामी नयाँ स्टक एक्सचेन्ज अव बजारमा किन आवश्यक भइसक्यो भन्ने तथ्य सविस्तार बताउँदैछौँ । ठिक लागे वा नलागे कमेन्ट गर्नुहोला ।

१. केही समय अघिको मात्र कुरा हो, नेप्सेमा ११ बज्दा पनि सेयर कारोबार सुरु भएन । बत्ति गएको निहुँ पारेर, कुन्नि के चलखेल गर्नु थियो नेप्से भित्रका खेलाडीहरुलाई उनीहरुले नेप्सेको सिष्टम नै जाम गरिदिए । केही मिनेट नेप्से चलेन । तर जव चल्न थाल्यो, भित्रभित्रै कारोबार भइसकेको रहेछ । आम लगानीकर्ताका लागि नचलेको बजार कुन्नि कसका लागि भित्रभित्रै चलिसकेछ । यस्तो रबैयाले नेप्से भित्र चलखेल छ भन्ने स्पष्ट देखाउँछ । तर नेप्सेको यस्तो रबैयाबारे कसले बोल्ने ? को बोल्ने ? नेप्सेको यो रबैयाको एकमात्र कारण उसको मोनोपोली हो । लगानीकर्तालाई पनि विकल्प छैन । केहीलेकाहीं नेपाल टेलिकममा फोन नलागे एनसेलमा गर्ने, र एनसेलबाट फोन नलागे नेपाल टेलिकम ट्राई गर्ने लगानीकर्ताका लागि सेयर बजारमा अर्को कुनै विकल्प छैन । यही कुराको फाइदा उठाउँदै नेप्से भित्र चलखेल गर्नेहरुले चलखेल गरिरहेका छन्, सोझा लगानीकर्ता फसिरहेका छन् । तर यस विषयमा नेप्सेलाई प्रश्न गर्ने आँट कसैले गर्दैनन् ।

२. अव, आजकै कुरा गरौँ । फरवार्ड माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का भएको छ । सेयर मुल्यलाई प्रभावित पर्नेगरी कारोबार समयमा लाभांश सम्बन्धि जानकारी सार्वजनिक गरेको भन्दै नेप्सेले फरवार्डको सेयर कारोबार रोक्का गरेको हो । सेयर कारोबार रोक्का गर्दै नेप्सेले फरवार्डलाई स्पष्टीकरणसमेत सोधेको छ । कम्पनीको सेयर कारोबार रोक्का हुँदा लगानीकर्ताहरु भने मारमा परेका छन् । अव गल्ती गर्ने फरवार्ड नामको कम्पनी, अनि त्यसको सजाय भोग्नेचाहिं सोझा लगानीकर्ता ? यो त हद भएन र ? नेप्सेलाई थाहा छ, मैले यसो स्पष्टिकरण सोधेजस्तो गर्ने हो, फरवार्डले पनि जवाफ पठाएजस्तो गर्ने हो अनि पछि सेयर कारोबार फुकुवा गर्ने हो ।बीचमा तनाव भोग्नेचाहिं लगानीकर्ता मात्र हो भनेर ।

यसअघि पनि नेप्सेले यसरी थुप्रै कम्पनीको सेयर कारोबार बन्द गर्दै, स्पष्टिकरण बुझ्दै कारोबार खुलाउँदै गरेको छ । लगानीकर्ता केही दिन मारमा पर्ने त हो, केही हुने होइन क्यार भनेर कम्पनीका संचालक र सिइओ पनि मनपरी गरिरहेका छन् । नेप्सेले अझसम्म कारवाही कसैलाई गर्न सकेको छैन । गरोस् पनि कसरी, कारवाही गरे त फेरी अरुलाई पनि कारवाही गर्नुपर्छ, सुशासनको बाटो रोज्नुपर्छ । त्यो गर्ने त आँट नै छैन । परिणाम बदनियत बोकेर नै कम्पनीहरुले बजारमा खेलाँची गरिरहेको बुझ्न गाह्रो छैन ।

आजको फर्वाडकै केस हेर्ने हो भने पनि, नेप्सेले केहि समय सेयर कारोबार रोक्का गर्ने, थप कारवाही नगर्ने, र स्पष्टीकरणका नाममा सामान्य जवाफ पठाउँदा कम्पनीले गर्न खोजेको चलखेलमा क्लिन चिट पाउने थाह पाएर फरवार्डका संचालकहरुकै निर्देशनमा यस्तो गलत काम भएको स्वयम् कम्पनीका संचालकको दावी छ । जसका लागि कम्पनीले कम्पनी सचिव/सीईओलाई प्रयोग गरेको र नेप्सेका हाकिमलाई ‘मिलाउने’ जिम्मा पनि सीईओलाई नै दिइएको ति संचालकको दावी छ । यस विषयमा जानकारी लिन खोज्दा गुनासो सुनुवाइ अधिकृत हिरा कुमारी ठण्डरले नेप्सेको स्पष्टीकरणबारे आफुलाई केहि पनि थाहा नभएको दावी गरेकी छिन् । कति सजिलोसँग ठण्डरले नेप्सेले स्पष्टिकरण सोधेको बारे आफुलाई थाहा नै नभएको र डेपुटी सीइओ सीईओ कृष्ण प्रसाद भट्टराईलाई सम्पर्क गर्न आग्रह गरिन् । तर भट्टराई दाजु बाठा, फोन नलाग्ने बनाएर बसिदिए, सक्किगो

यसअघि पनि नेप्सेले यस्तो गलत काम गर्ने कुनै कम्पनीलाई पनि कारवाही गरेको छैन । जसका कारण नेप्से र सम्बन्धित कम्पनीकै मिलेमातोमा लगानीकर्ता डुबाउने खेल हुने गरेको आरोप लाग्दै आएको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने जानकारी नेप्सेलाई बिहीबार कारोबार समयमा पठाएको थियो । संस्थाले बुधबार साझ ७ बजे बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको बताईए पनि सो जानकारी केहि दिन अगावै बजारमा लिक भईसकेको थियो । सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ । यद्यपि, यो स्पष्टीकरण औपचारिकताका लागि मात्र सोधिएको छ, जसमा फरवार्डलाई कुनै पनि कारवाही नहुने निश्चित छ । यो घटनाले पनि स्पष्ट पार्छ, नेप्सेले गर्न सक्ने केहि होइन, उसले जानेको भनेको लगानीकर्तालाई दुख दिने काम मात्र हो ।

यसअघि इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड अन्तर्गतका दुई म्युचुअल फण्डले गत वर्षको मुनाफाबाट लाभांश घोषणाको केसमा पनि यस्तै भयो । नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड २ गरी कम्पनीले संचालन गरेका दुई सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरे। तर लाभांश घोषणाको सूचना प्रचलित नियम विपरित सेयर कारोबार समयमा सार्वजनिक गरेको पाइएपछि नेप्सेले नबिललाई स्पष्टिकरण सोध्यो, तर अहँ कारवाही गरेन, वा भनौं कारवाही गर्न नेप्सेको ल्याकत पुगेन।

३. अझ नेप्सेमा यस्तोसम्म रमाइलो देख्न पाइन्छ कि समाज लघुवित्त वित्तीय संस्था र स्वस्तीक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिन लाग्दा सार्वजनिक सूचनामा समाज लघुवित्तको सेयर कारोबार रोक्का राखिएको हुनुपर्नेमा वोमी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको सूचना निकालिदियो नेप्सेले । आफ्नो डोमेनसमेत एक्सपायर भएको थाहा नपाउने नेप्सेले गरेको सोहि लापरवाहीका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मुख्य वेबसाईट केहि समयअगाडी एक हप्तासम्म डाउन भएको थियो । डोमेन नवीकरणवापतको १ हजार ५ सय रुपैयाँ नतिर्दा नेप्सेको मुख्य वेब साईट डाउन भएको थियो । नेप्सेले हरेक वर्ष गर्नुपर्ने डोमेन नविकरण समयमा नै नगर्दा यस्तो समस्या आएको हो ।

यसले नेप्सेको आइटी विभागमा कुन हदसम्मको लापरवाही हुन्छ र नेप्सेका कर्मचारी लगानीकर्ताप्रति कुन हदसम्मको वेप्रवाहा छन् भन्ने पुष्टि हुन्छ । सन् २००४ अप्रिल ११ तारिखमा दर्ता भएको सो डोमेन २०२२ जनवरी २ तारिखका दिन एक्सपायर भएको थियो । लगानीकर्ताहरुबाट मोटो कमिशन लिएर चल्ने नेप्सेले गरेको यस्तो गल्ती लापरवाहीको पराकाष्टा भएको प्रविधि विज्ञहरुले बताएपछि र अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि बल्ल नेप्से ब्युँझिएको थियो ।

४. नेप्सेमा नेप्सेका कर्मचारी कम, वाइकोका कर्मचारीले बढी काम गर्छन्, काम पनि के भन्नु चलखेल गर्छन्, जसका कारण नेप्सेको सूचांक नै ठिक हो कि होइन भन्नेमै कन्फ्युज्ड छन् लगानीकर्ताहरु । यस्तो अविश्वासको भारी बोकेर कहिलेसम्म बस्ने लगानीकर्ता ? यो त हद भएन र ?

५. बजार कहाँ पुगिसक्यो, प्रविधिले संसार कहाँ पुर्याईसक्यो, तर हामी भने उही टुकुचा खोला छेउ बसेर सुशासनका मामलामा टुकुचाजस्तै डुङ डुङ भएको नेप्सेमै भर परिरहने हो त ? के अव यही बढ्दा नाफा हुने सूचक घट्दा घाटा हुने नेप्से मात्र लगानीकर्ताको भविष्य हो त ? के सर्ट सेलिङजस्ता अन्य टुल्सहरुमा लगानीकर्ताले लगानी गर्न नपाउने हो त ? के यहि अविश्वाशिलो थोत्रो सिष्टमभित्र भएका चलखेलमा मात्र लगानीकर्ता डुब्ने हो त ? होइन, जरुर होइन । त्यसका लागि पनि नयाँ स्टक एक्सचेन्ज आउनुपर्छ ।

हो, नयाँ स्टक एक्सचेन्ज ल्याउने केही निश्चित कानुनीबाटो छ। यो बाटोमा चलखेल भयो भन्ने आरोप त्यहि आफु केही नगर्ने नेप्सेले नै पनि लगाईरहेको छ । तर सत्य यो हो कि देशमा भ्रष्टाचार भए त्यसउपर कारवाही गर्ने निकाय छ, र सो निकायले नै ठेगान लगाउँछ, कसैले भ्रष्टाचार गरे । अनि आफु नसुध्रिने तर, पहिला हामीलाई सुधारेर मात्र अर्को स्टक एक्सचेन्ज ल्याउनुपर्छ भन्ने नेप्सेको तर्कमा कुनै तुक छैन । त्यसैले कि सच्चिन तयार हुनुपर्यो नेप्से, कि सुध्रिनु पर्यो, होइन पनि सक्किन तयार हुनुपर्यो । तर जहिल्यै कम्पनीका हाकिमहरुको गुलामी गरेर, तिनले ल्याईदिएका रक्सी उपहार लिएर उनीहरुले जे गरे पनि छुट दिईरहने हो भने नेप्से फगत बिग्रिएको एउटा सरकारी संस्थाबाहेक अरु केहि रहनेछैन । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: