×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयरको खेलमा यसरी हुन्छ झेल, खेलाडी बन्छ अर्बको मालिक, तपाईं सधैँ फेल… (भिडियो ब्रिफिङ)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेयरको खेलमा यसरी हुन्छ झेल, खेलाडी बन्छ अर्बको मालिक, तपाईं सधैँ फेल… (भिडियो ब्रिफिङ)

Artha Sarokar

१० पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

हो, यो सेयर बजार हो, यहाँ पैसाको खेल हुन्छ ।
पैसाको खेल हुन्छ, खेलकै बीचमा चलखेल हुन्छ
चलखेल हुन्छ, चलखेल खोजिन्छ, खोजीनीतिमै झेल हुन्छ
एउटा बाठोसँग, अर्को बाठो, बठ्याई नजान्दा फेल हुन्छ
हो, यो सेयर बजार हो, यहाँ पैसाको खेल हुन्छ ।

कानुन भन्छ- जेल हुन्छ, नियामक भन्छ- नेल हुन्छ
इन्साईडर भन्छ- सब बकवास ! यहाँ मात्र बाई र सेल हुन्छ
हो, यो सेयर बजार हो, यहाँ पैसाको खेल हुन्छ।
पैसाको खेल हुन्छ, पैसाको भेल हुन्छ, भेलभित्र फेरी खेल हुन्छ
खेल हुन्छ, भेल हुन्छ, यहाँ भेलभित्रै चलखेल हुन्छ
हो, यो सेयर बजार हो, यहाँ पैसाको खेल हुन्छ ।

हो, यो सेयर बजार हो, जहाँ हुनुपर्नेगरी खेल हुन्छ । नियामक कमजोर भएपछि, वा नियामकको कुर्सीमा बसेका केहि फटाहा कर्मचारीहरुका कारण डण्डा लगाउनुपर्नेबाटै चलखेल हुन्छ । बजारमा गलत भयो, गलत हुन दिनुहुन्न भन्दा तलका हाकिमबाटै झेल हुन्छ, यहाँ काम नगर्ने पास, र काम गर्न खोज्ने फेल हुन्छ । र त यो सेयर बजार हो, यहाँ सधैं खेल हुन्छ, झेल हुन्छ, चलखेल हुन्छ । र त जोगिनुपर्छ यो चलखेलबाट । जोगिनुपर्छ खेलाडीको खेलबाट । जोगिनुपर्छ, तपाईंलाई टोपी लगाईदिन स्ट्याण्डबाई बसेकाहरुसँग, टोपीवालहरुसँग । र आज हामी, सेयर बजारमा कसरी चलखेल हुन्छ, सो चलखेल कहाँकहाँबाट हुन्छ र तपाईंलाई कसरी टोपी लगाइन्छ भन्ने बुझाउने प्रयास गर्नेछौँ । हामीलाई थाहा छ, यो भन्दैगर्दा टोपीवालहरु र तिनका भाडाका टट्टूहरुले तल कमेन्ट फोहोर पार्नेछन् । तर पनि केहि छैन, हाम्रो काम भन्ने हो भनिरहनेछौँ ।

१. सेयर बजारमा टोपीवालाहरुको फरक फरक झुण्ड हुन्छ । यस्ता झुण्डहरुले सकेसम्म कम पूँजी भएको सेयरमा आँखा लगाउँछन् । पैसा उनीहरुसँगै, कित्ता उनीहरुसँगै, उस्तै परे नीति उनीहरुसँगै । अनि कसले सक्नु उनीहरुलाई पेल्न । यसरी सबथोक भएपछि टन्न पैसा बोकेर उनीहरु कम पूँजी भएको सेयरमा छिर्छन् । केहि समय बाई आएजति किन्छन् । सोझा लगानीकर्तालाई यस्तो लाग्छ, ओहो यो सेयरमा त भयङ्कर केहि हुँदैछ । खेलाडीले सबैजसो कित्ता आफ्नो हातमा सस्तोमा किनेपछि, अरु मान्छे प्रयोग गरेर टन्न बाई देखाउंछ । भएजति सेयर एउटासँग होल्ड भएपछि अरु बायरले सेयर किन्न पाउने कुरै भएन । त्यसपछि बजारमा हल्ला चल्छ– ओहो यो सेयरमा के चल्दैछ होला, आज पनि टन्न बायर छन्, बेच्ने सेलर कोहि छैनन् । बायरले बढी बढी पैसा कबोल गरेको गर्यै, तर सेयर त निश्चित मान्छेसँग छ, र ती नक्कली बायर पनि तिनकै हुन् । अनि हेर्नेलाई लाग्छ ओहो ! यो सेयरले त आज पनि सर्किट हान्यो, भोलि पनि सर्किट हान्यो । कित्ता उसंगै, पैसा उसँगै अनि किन लागोस् सर्किट भन्ने कुरा नयाँ लगानीकर्ताले बुझ्दैन । अनि यो सब सर्किट देखेर एउटा सोझो लगानीकर्ता बजारमा त्यहि सेयर किन्न आतुर हुन्छ । तर जव त्यस्ता सोझा, नयाँ र साना लगानीकर्ताको जमात सो सेयर किन्न आईपुग्छ, अनि खेलाडीले सबै सेयर महँगोमा बेच्छ आफु निस्किन्छ । १०० रुपैयाँ बोकेर सो सेयरको कित्ता किनेको सो खेलाडी प्रति कित्ता १०००मा बेचेर निस्किन्छ । मानौं उसको १० लाख कित्ता थियो, लगानी भयो एक करोड । अव प्रति कित्ता १००० हुन्छ, भनेपछि फाइदा कति भयो आफैं हिसाब गर्नुहोस् । बिचरा १००० रुपैयाँ हालेको सोझो लगानीकर्ता त्यसपछि सडकमा पुग्छ । सुरुमा केहि नबुझी लगानी गर्ने सो लगानीकर्ता अव सिकाई माग्न गुरु खोज्छ । बजारमा टाँट पल्टेको उ, फेरी पनि फण्डामेन्टल सिक्न चाहदैन । किनकि उ डुबेको सेयर आफैंमा सार्है कमजोर सेयर हो भन्ने उसले फसिसकेरा बुझेको हुन्छ । बिस्तारै उ बजारबाटै पलायन हुन्छ । बजारमा खेलाडी त उही हुन्छ, मात्र लगानीकर्ताहरु नयाँ हुन्छन्, जसलाई फेरी पनि लाग्छ– बजारमा कमाउने भनेको त खेलिएको सेयरमा हो । फेरी पनि खेल उस्तै हुन्छ, झेल उस्तै हुन्छ, चलखेल उस्तै हुन्छ । मात्र फस्नेहरु नयाँ हुन्छन् ।

२. बजारमा त्यस्ता सेयर खेलाडीसँगै संगत गर्न सकियो भने त करोडपति बन्न के समय लाग्छ र ? भन्ने पनि तपाईंलाई लाग्दो हो । हरेक बुलमा हरेक पटक फस्नेहरुलाई पनि यस्तै लाग्छ । हो, सुरुसुरुमा ती सेयर खेलाडीहरुले आफ्नो खेलमा तपाईंलाई मिसाउन पनि सक्छन् । अनि केहि पैसा कमाईदिन पनि सक्छन् । तर तपाईं त सोझो हुनुहुन्छ, नयाँ हुनुहुन्छ, तपाईंसंग कति कित्ता किन्ने ल्याकत हुन्छ र ? १० लाख रुपैयाँको सेयर ? ५० लाख ? १ करोड ? २ करोड ? ५ करोड ? यहि होइन ? उनीहरुसँग त हजारौं करोडको ल्याकत हुन्छ । जव उनीहरु खेल्न थाल्छन्, खेलमा को आफ्नो, को पराई कोहि चिन्दैनन् । मानौं सब उनीहरुका लागि मुर्गा हुन् । सुरुमा हालेको तपाईंको १ लाख २ लाख हुन्छ । अनि त्यहि खेलाडीले तपाईंलाई भन्छ– हेर त ५० लाख खोजेको भए तिमी करोड कमाउँथ्यौ । ५ करोड खोजेको भए, तिमी १० करोड कमाउँथ्यौ । तपाईंलाई लाग्छ– ओहो हो त है ! अस्ती फलानो सेयरमा हालेको १ लाख त २ लाख भयो । ५ करोड खोजेर हाल्न पाए त, ब्याज सहित फिर्ता दिंदा पनि अरुको पैसाले करोड कमाइन्छ । त्यसपछि एउटा सोझो लगानीकर्ता पैसा खोज्न थाल्छ, ब्याज लिएर पैसा खोज्छ, डबल हुने आशामा पैसा खोज्छ । तर त्यसरी एक एक गरी जव ५०–६० जनाले करोडौं रुपैयाँ ल्याउँछन्, त्यहि अघिको खेलाडीले सबै पैसा खानेगरी चलखेल गर्छ । आफु बेच्न थाल्छ, उनीहरुलाई किन्न भन्छ । आफु करोडौं रुपैयाँ लिएर उम्किन्छ, ती बिचराहरु नमज्जासँग फस्छन् । अनि ती सोझाहरु खेलाडीलाई सोध्छन्– ’लौ न दाई, हाम्रो त बरबाद भयो, ऋणमा लिएको ५ करोड १ करोड भईसक्यो । उसको सटिक जवाफ हुन्छ– अरे यार बजारमा यस्तो कहिलेकाहीं भईहाल्छ नि । तिम्रो त मात्र ४ करोड गयो, मेरो कति गयो होला ? मेरो त ४०० करोड गईसक्यो नि । तर खासमा उ निस्कीसकेको हुन्छ । अनि अव बाँकी रहेको पैसाले पासो किन्नुको विकल्प हुँदैन ती सोझा लगानीकर्ताहरुको । किनकि पैसा त खोजेको पैसा हुन्छ, पैसा दिनेले मागी नै हाल्छ । दिन पैसा छैन ।

३. अव तपाईंलाई लाग्ला यस्तालाई कारवाही हुँदैन ? कसरी हुनु ? ती खेलाडीहरु यस्तो बाठा हुन्छन् कि उनीहरुले गैरकानुनी काम गरेका हुँदैनन्, कानुनमा टेकेर तपाईंलाई जोगी बनाईदिएका हुन्छन् । कसैले कुरा उठायो भने कानुनका धारा उपधारा, दफा, उपदफा सबै खेलाउने भेट्रान वकिलहरु पनि उनीहरुकै हुन्छन् । उस्तै परे नियामकका कर्मचारी उनीहरुकै हुन्छन्, उस्तै परे पोलिटिकल पावर उनीहरुकै हुन्छ, अनि उनीहरुलाई कसले सक्ने ? कसले छुने ? को बोल्ने उनीहरुका विरुद्धमा ? एउटा बोल्ला रे, तर उ नै गलत सावित हुन्छ । किनकि उ त खेलाडी हो, उसले खेल्न जानेको हुन्छ । उसले बजारमा उसकै माहोल बनाएको हुन्छ, क्लब हाउसमा उसकै पक्षमा वाहवाही हुन्छ, उसको हातगोडा गरेर औंला २० होलान्, तर उसले चलाउने फेक एकाउन्टहरु २०० बढी हुन्छन् । उसले किनेको सेयर भोलिपल्टबाट आज त यो किन्ने हो, यसमा नाफा कमाएँ भनेर फेक अकाउन्ट बाट उसले नै हल्ला गर्छ । क्लब हाउसहरुमा उसकै रुम चल्छ, उसकै बोली चल्छ । मैले त महिनाको यति कमाएँ र उति कमाएँ भन्न उसैले लगाउँछ । सबै उसकै चलेपछि अनि कसले उसलाई चलाउनु ? त्यसपछि उ सधैं जित्छ, तपाईं सधैं हार्नुहुन्छ । सेयर बजारमा कमजोर कम्पनीमा लगानी गर्दा तपाईं कहिल्यै जित्नुहुन्न । आज जितेजस्तो लागे पनि भोलि कन्फर्म हार्नुहुन्छ । किनकि तपाईं त गलत बाटोमा हुनुहुन्छ, जुन बाटो तपाईंले चिन्नुभएकै छैन । न जाने कहाँ हो थाहा छ, न फर्किने कसरी हो थाहा छ ।

४. अनि यसरी फसेकाहरु, कोहि बिरक्तिएर त्यस्तै खेलाडी बन्ने ध्याउन्नमा अपराधकर्ममा मुछिन्छन्, कोहि सिकेकै त्यहि फेक अकाउन्ट चलाउन छ, त्यहि गरेर अघि बढ्न खोज्छन् । फेरी त्यहि खेलाडीले पुलिसमा उजुरी गरिदिएर त्यो सोझो लगानीकर्तालाई जेलको बास गराईदिन्छ । कोहि यहि बीचमा गुरु हुन्छन् । आफु फसेर सिद्धिए पनि उ टेक्निकल एनलिष्ट बन्छ, अनि बजारमा उ गुरु हुन्छ । अनि त्यस्ता गुरुहरुसंग सिकेर अरु सोझाहरु फस्छन् । यो फस्ने र फसाउने सिलसिला बर्षौंदेखि यसरी नै चलिरहेको छ ।

त्यसैले हामी भन्छौँ, तपाईंको पैसा हो, अरु कसैले पनि तपाईंको पैसाको माया गर्दैनन्, माया गर्नुपर्ने तपाईंले नै हो । माया गर्नुहोस् आफ्नो पैसालाई । रातारात धनी कोहि हुँदैन, त्यसैले यस्तो रातारात धनी हुने चाहाना त्यागीदिनुस् । फलानोले फलानो सेयर १०० मा किनेर ८०० मा बेच्यो रे भन्ने सुन्नुहुन्छ नि, कि त त्यो भ्रम हो, कि त भ्रम बाँड्न परिचालित गरिएको खेताला हो । कागताली नै परेर एक पटक कमाएको छ भने पनि उसले अर्को सेयरमा त्यो पैसा डुबाईहाल्छ। त्यस्ताले अरुलाई पनि नराम्रो नै कम्पनी किन्न सल्लाह दिन्छ, अनि फेरी उ पनि फस्छ, अरुलाई पनि फसाउँछ । त्यसैले त्यस्ता टोपीवालहरुको संगत नै नगर्दा सबैभन्दा बेस।

अव गर्ने के त ?
कुरो सिम्पल छ, तर यात्रा कठिन छ । सुरुमा अध्ययन गर्नुपर्यो । सिक्नुपर्यो, बुझ्नुपर्यो । बिजुलीबत्तीको थोरै आईडिया नभएको तपाईं, ट्रान्समिटरको फयुज परिवर्तन गर्ने हिम्मत राख्नुहुन्छ र ? राख्नुहुँदैन । सेयर बजारमाचाहिं किन फलानोले भनेको यसमा करेन्ट छैन रे भनेर लहलहैमा लाग्नुहुन्छ त । अनि लहैलहैमा लाग्दा तपाईंलाई करेन्ट नलागे कसलाई लाग्छ त । त्यसैले सकेसम्म कमजोर कम्पनीतिर हात नहालौँ । सेयर बजारलाई खेल होइन, लगानीको क्षेत्र बनाउँ । खेलमा त झेल पनि हुन्छ, हारिन्छ पनि । तर लगानी गरे कहिल्यै हारिन्न । पक्का जितिन्छ । खेलमा आज जिते भोलि हार्ने सम्भावना हुन्छ, लगानीले त प्रतिफल दिने हो । बस्, यति बुझे सेयर बजार सुन्दर छ । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी