काठमाडौँ । शनिबारको दिन । काठमाडौँको एक अस्पतालको सातौँ तल्लामा बैंकरहरुको ठुलो भीड थियो । सबैले बैंकिङका समस्याहरुबारे बोल्दै थिए । कोहि अनुभव बाँड्दै थिए, कोहि हाकिमलाई गाली गर्दै थिए ।
त्यसैबीच एक बैंकर बोले- ‘हाम्रा सीइओ भगवानजस्ता छन् । हाम्रो बैंकमा त डेपुटी सीइओको यो हदसम्मको निरंकुशता छ भने, अरु बैंकमा कस्तो होला ?’
अर्का बैंकरले जवाफ फर्काईहाले- ‘हाम्रा सीइओ भगवान जस्तै भएर हो सब बिग्रिएको, अलि कडा भएको भए डेपुटी सीइओको साम्राज्य चल्दैनथ्यो ।’
बैंकरको सो भीडमा अधिकांश नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी थिए । बैंकका डेपुटी सीइओ बिजेन्द्र सुवालले मानसिक यातना दिएर बेहोस भएपछि दोलखा चरिकोट शाखाका शाखा प्रबन्धक कपिल भण्डारीलाई अस्पताल ल्याइएको थियो । एक पटकमा १ जनामात्र कुरुवा भित्र छिर्न पाउने भएकाले सबैले आ-आफ्नो पालो कुरिरहेका थिए ।
त्यतिकैमा बैंकका अर्का डेपुटी सीइओ महेश शर्मा ढकाल कपिललाई भेटेर फर्किए ।
बैंकरहरुबीच गाईगुई चल्न थालिहाल्यो, -‘साँच्चै यीनीविरुद्ध पनि एक महिलाले दुर्व्यवहारको केस गरेकी थिइन् नि, के भयो ?’
अर्का बैंकर बोले- ‘विचरा यीनलाई फसाए नि । पहिला नै बिग्रिसकेको फाइलमा कसरी ऋण थप्नु ? त्यहि ऋण नथपेको झोंकमा यीनलाई दुर्व्यवहार भनेर केस गरिछिन् । खै मिलिसक्यो पनि भन्थे, अझै मिलेको छैन पनि भन्छन् । तर, जे भए पनि राम्रो भएन । भोलि ऋण नदिएकै कारण कसैले हामीलाई पनि नभएको आरोप लगाउन सक्छ ।’
ढकालका पक्षमा बोलिरहेका बैंकरको कुरा नसकिंदै अर्का बैंकर फेरी बोले- ‘यीनलाई पनि त्यो एनआईबीएलको फाइल किन चलाउनुपर्थ्यो त ? मेगाबाट आएकाहरुको यस्तो हालत छ, उताको फाइल चलाएपछि यस्तै त हो नि ।’
‘के हो, के हो’ अर्का बैंकर सुस्केरा हाल्दै उठे ।
केहि समयपछि कुरा रिकभरीको उठ्यो । कपिल भण्डारी पनि रिकभरीमै थिए, जतिबेला उनलाई बैंकका डेपुटी सीइओ बिजेन्द्र सुवालले मनपरी बोलेर बेहोस नै बनाईदिए । ‘रिकभरी त सोचेभन्दा बढी टफ भईसक्यो । फागुन १ देखि फेरी दुर्गा प्रसाईंको आन्दोलन छ रे । त्यसपछि झन् टफ हुने हो कि भन्ने छ । यस्तो बेला बैंकले पनि प्रेसर कम गरिदिए हुन्थ्यो । तर खोई…’
बैंकरहरुबीच कुरा चल्दै गर्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका एचआर प्रमुख राजेन्द्र सुवेदी अस्पताल आईपुगे । एचआर प्रमुख भईकन पनि उनको व्यवहार रुखो थिएन । हुन त अस्पतालमा रुखो हुने कुरा पनि भएन । उनले कपिललाई भेटे, र बाहिर आए । अर्थ सरोकारकर्मीसँग पनि बडो राम्रोसँग बोल्दै उनले भने -‘चिन्ता लिनुपर्ने छैन । सब ठिक हुन्छ ।’
दोलखामा रहेका कपिलका साथीहरुको चासो उनको उपचार खर्चमा थियो । यसै विषयमा जिज्ञासा राख्दा सुवेदीले भने- ‘सबै बैंकले व्यहोर्छ । यसमा कुनै चिन्ता लिनुपर्दैन । यहाँ बस्ने व्यवस्था पनि बैंकले नै गरिदिएको छ ।’
कुरैकुरामा केहि समय अघि सोहि बैंकमा घटेको अर्को घटनाको प्रसङ्ग निस्कियो । एक बैंकरले बैंकले दिएको टर्चर सहन नसकेको भन्दै नदीमा हाम फालेको घटना बाहिर आएको थियो । प्रहरी स्वयमले पनि बैंकका कर्मचारीले नदीमा हाम फालेको भनेको थियो । तर उनका कतिपय आफन्तहरुले ती कर्मचारी अझै ज्युँदै रहेको बताईरहेका छन् । त्यतिबेला बैंकका कर्मचारीहरुले सामाजिक संजालमा कालो पोतेर विद्रोह गरेका थिए । विज्ञप्ति निकालेर कर्मचारी युनियनले घटनाप्रति ध्यानाकर्षण गराएको थियो । तर यसपाली जव कुरा डेपुटी सीइओको आयो, कर्मचारी युनियन चुप बसेको चर्चा चल्दै थियो अस्पतालमा ।
‘युनियनलाई गाली गर्न हतार नगरौँ । आज शनिबार हो । भोलिसम्म केहि आउला ।’ एक अर्का बैंकर युनियनको बचाउ गर्दै थिए ।
त्यसपछि कुरा डेपुटी सीइओ सुवालको उठ्यो । अधिकांशले सुवाललाई गाली गर्दै थिए । यसअघिको कर्मचारी नदीमा हाम फालेको भनिएको घटनामा पनि उनै सुवालको दोष रहेको दाबी गर्दै थिए केहि बैंकर । उनी भण्डारीलाई भेट्न आएको भए हुन्थ्यो भन्ने कुरामा अधिकांशको जोड थियो । तर भण्डारीलाई अस्पताल आउन जोखिम छ भन्नेतर्फ पनि बहस चलिरहेको थियो । ‘त्यो मान्छे यहाँ आज आयो भने त, म एक मुक्का हानेर जेल जाने हो ।’ अर्का बैंकरले बडो रिस देखाएर बोले ।
‘जे भए पनि बैंकिङ टफ भईसक्यो । रिकभरी सहजै हुने अवस्था छैन । गाउँगाउँमा त झन् दुर्गा प्रसाईंका कार्यकर्ताहरु अफिस नै खोलेर बसेका छन् । यता ऋण तिर्न नसक्नेहरु त्यहाँ अफिसमा गएर उजुरी गरिरहेका छन् ।’ चर्चाकै बीच अर्का बैंकर बोलिहाले ।
देशको अर्थतन्त्र ठिक नभएको र यस्तो बेला बैंकरहरुले पनि सम्हालिएर अघि बढ्नुपर्ने कुरा चलिरहेको थियो । ‘स्थिति ठिक छैन । ऋण लिएर व्यापार गर्नेहरुको पनि बिजोग छ । कतिको पैसा सेयरमा फसेको छ । एउटा कामलाई भनेर लागेको ऋण अर्को ठाउँमा दुरुपयोग हुँदा बैंकहरु पनि ब्याज आएकै छ नि भनेर बसिरहे । अहिले स्थिति भयावह भईसक्यो ।’
आफ्नो निजी जीवन नै नभएको, बैंककै काममा सबै समय गएको गुनासो थियो बैंकरहरुको । यति गर्दा पनि बैंकले आफ्ना समस्या नबुझे भविष्यमा देखा पर्नसक्ने सम्भावित अरु थुप्रै खाले घटना हुन सक्नेमा बैंकरहरु चिन्तित देखिन्थे । त्यतिकैमा गम्भीर विषय बोलेर अर्का बैंकर भित्र पसे । भन्दै थिए-‘हाकिमहरु अव सम्हालिनुपर्छ । बैंकिङ टफ भईसक्यो ।’