×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रम निर्यातले बढाएको अर्थशास्त्रीय चिन्ता

PRIME CA

श्रम निर्यातले बढाएको अर्थशास्त्रीय चिन्ता

११ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < ६ मिनेट

एक हप्ता यता मैले भोगेका केही अनुभवहरू सुनाउँछु पहिला ।

पहिलो अनुभवः एक दिन पढाउने क्रममा कक्षा ११ का विद्यार्थीहरूलाई मैले प्रश्न गरेँ । ‘तिमीहरू प्लसटु अध्ययन सकेपछि के गर्छौं  ? २० जना रहेको कक्षामा १५ जनाले विदेश जाने योजना बनाएको सुनाए । अध्ययनका लागि विदेश जाने उनीहरूको योजना रहेछ । परिवारमा पनि त्यहि कुरा चलिरहेको रहेछ । बाँकी ५ जना भने स्वदेशमै बस्ने कुरा गरे । तर, उनीहरूको उत्तरमा दृढता थिएन । अनुमान गर्न सकिन्थ्यो कि ती ५ जनामध्ये पनि भविष्यमा केहीको उस्तै योजना बन्न सक्छ । प्रतिशतका हिसाबले कूल विद्यार्थीमा ७५ प्रतिशत विद्यार्थीहरू प्लसटुपछि अध्ययन गर्न विदेश जाने योजना बनाएको देखियो । मैले कारण सोधैँ उनीहरूले देशमा सिस्टम नभएको र अवसर पनि नभएकाले बसेर के गर्ने भनी प्रतिप्रश्न गरे । एकछिन् म अवाक भएँ ।

दोस्रो अनुभव : फेसबुक हेर्ने क्रममा साथीले क्यानडा जान एयरपोर्टमा खिचेको फोटो पोष्ट गरेको भेटेँ । उनी मसँगै अर्थशास्त्र पढाउने मभन्दा १-२ वर्ष जेठा मित्र हुन् । बुझ्दा उनी नेपालमा बसेर प्रगति नभएको, महँगी बढेको, सो अनुसार आम्दानी बढ्न नसकेको र देशमा सिस्टम नभएकाले भविष्य राम्रो नभएको जिकिर गरे । साथै केटाकेटीको लागि भए पनि विदेश जानु उपयुक्त भएर विदेश हिँडेको बताए ।

तेस्रो अनुभव (मिश्रित) : यो हप्ता मेरो मामाको बुहारी पनि दुबई गइन् । भाइ उतै भएकाले सँगै काम गर्ने अब कमाउनुपर्ने भनी उनी विदेशिएको थाहा पाएँ । माहिलो बुवाकी नातिनी पनि खाडी मुलुक हिडिन् । मामा माइजु पर्ने एक दम्पत्ति छोरी ज्वाँईले बोलाएर अमेरिका हिडेको पनि जानकारी प्राप्त भयो । यस्तै गरी अमेरिका हिडेका एक साहित्यिक दम्पत्ति करिब ३ वर्ष भो नेपाल फर्किएका छैनन् । उनलाई पनि मैले सम्झिएँ । मेरो एकदमै नजिकको नातेदार अस्ट्रेलिया गएको करिब ५ वर्षपछि उतै घर किन्न भनी पैसा नपुगेकाले बुबाआमालाई नपुग पैसा पठाइदिन आग्रह गरेको कुरा पनि मेरा कानमा पर्याे ।

मलाई यी घटनाहरूले निकै प्रभाव पारे । अर्थशास्त्रको विद्यार्थी भएकाले पनि यी घटनाहरूलाई अर्थशास्त्रीय दृष्टिकोले विशलेषण गर्न मन लाग्यो । आज तिनै कुराहरूबारे उठान गर्दै छु ।

माथि प्रतुत विभिन्न घटनाहरू मेरो परिवेशमा घटेका घटनाहरू हुन् । यस्ता कथाहरू नेपालका प्रत्येक गाउँ सहर र घरहरूमा छन् । आर्थिक वर्ष २०७९/०८० को तथ्यांक हेर्ने हो भने ७ लाख ७१ हजार ३ सय २७ युवाले वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएका थिए । यो वैदेशिक रोजगार विभागको तथ्यांक हो । यो संख्या दैनिक औषत दुई हजारभन्दा बढी हुन जान्छ ।

माथि प्रस्तुत पहिलो घटनामा युवाहरूमा देशमा बस्ने र केही गर्नुपर्छ भन्ने भाव पैदा भएको देखिन्न । राजनैतिक नेतृत्वहरूले देशमा प्रणालीगत विकास गर्न नसेकाले युवाहरूको देशप्रति विकर्षण बढ्दै गएको स्पष्ट हुन्छ । यतिमात्र होइन भ्रष्टाचार र झोले राजनीतिले विकास निर्माणमा ध्यान नदिँदा स्वदेशमा रोजगारीका अवसरहरू छैनन् । देशमा भविष्य नदेख्दा युवाहरू विदेश पलायन भइरहेका छन् । यो एक नमूना तथ्यांक हो । यस्तो प्रवृत्तिले देशको भावि अवस्था कस्तो होला अनुमान गर्न सकिन्छ । मुलुकबाट युवा पलायन हुन थाले देशमा वृद्धवृद्धाहरू मात्रै रहने निश्चित छ । युवाहरू विदेशमै सन्तान पाएर उतै वस्दा रेमिट्यान्स आउने भनेको बाँकी एक पुस्तासम्म मात्र हो । त्यसपछि त्यो पनि आउन छोड्छ । त्यसपछि सोचौँ देशको अवस्था कस्तो होला?

दोस्रो घटनामा ती मित्रले देशमै बसेर मासिक करिब एक लाख कमाउँथे । उनलाई यतिले पुगेन । छोराछोरीको भविश्यका लागि विदेशिने निर्णय लिए । जीवनको ४२ वसन्त पार गरिसक्दासम्म कहिले पनि विदेश जाने रहर र विचार नगरेका उनी स्वदेशमा सही नेतृत्व भएन र सिस्टम बन्न सकेन भन्दै भावि पिढीँको सुरक्षाका लागि विदेश पलायन भए । अहिले नेपालमा यो उमेरको पुस्ता पनि धेरै छ, जो विदेश नजानेबाट जाने निर्णयमा पुगेको छ । झट्ट हेर्दा यसलाई देखासिकी प्रभाव भन्न सकिएला । तर, देशको आटो र माटोसँगको नातालाई पर राखेर सन्तानको भविश्य खोज्दै विदेशिनु चानचुने निर्णय होइन । स्वदेशी नेतृत्व र सिस्टम सुधारका निम्ति युवाहरूको भूमिका हुनुपर्नेमा निराश हुँदै विदेशिनुले अब देशको भविश्य के हुने होला? चिन्ताको विषय बनेको छ ।

तेस्रो मिश्रित अनुभवमा युवाहरू आफूमात्र विदेश जाने होइन, बरु स्वदेशबाट पूँजीसमेत लाने गरेको देखिन्छ । यसका साथै प्रौढहरू पनि विस्तारै विदेशिने क्रम बढ्दो छ । यसरी सबै विदेशिए यो देशमा को वस्ने? कस्ले उत्पादन गर्ने? यो देशका विद्यालय, विश्वविद्यालयहरूमा कसलाई पढाउने? यो देशको राष्ट्रियताको पक्षमा को बोल्ने? भ्रष्ट, झोले र दुर्गन्धित राजनीतिलाई कस्ले सुधार्ने ? प्रश्नहरू सम्वेदनशील छन् । शासकहरूको ध्यान उत्पादनभन्दा पनि श्रमनिर्यातमा बढी छ । कसरी सजिलोसँग पासपोर्ट दिन सकिन्छ? कुनकुन देशसँग श्रम सम्झौता गर्न सकिन्छ? र कसरी भिसा दिलाउने? समग्रमा कसरी अधिकभन्दा अधिक रेमिट्यान्स भित्र्याउने? र त्यसैमा मोज गर्ने । यत्ति मात्रै ध्यान छ ।

आान्तरिक रोजगारीको विकल्पका रूपमा नेपाली नागरिकलाई अवसर प्रदान गर्ने गरी नेपाल सरकारले वैदेशिक रोजगार नीति, २०६८ जारी गरेको १२ वर्ष पुगिसकेको छ । वैदेशिक रोजगारी अहिले केहीको लागि रहर र धेरैको लागि बाध्यता बनेको छ ।

अघिल्लो आ.व. २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ६ लाख ३० हजार ९० थियो । अघिल्लो वर्षको तुलनामा गत आ.व.मा १ लाख ४१ हजार २ सय ३७ अर्थात् २२ प्रतिशतले बढी नेपाली विदेश गएका छन् । श्रमगन्तब्य मुलुकमा रहेको श्रमिकमैत्री कानुन, उक्त देशहरूमा चरम श्रमिक अभावका कारण श्रम माग बढ्दै गएको छ । त्यसैगरी नेपालमा रोजगारीको पर्याप्त अवसरहरू नहुनु, भए पनि ज्यालादर न्यून रहनु, राजनैतिक अस्थिरता, देखासिखी प्रभाव आदि कारणले पनि बैदेशिक रोजगारी बढ्दै गएको हो ।

गतवर्षको तथ्यांक हेर्ने हो भने विदेशमा अध्ययन गर्न जाने नेपालीहरूले ६० अर्बभन्दा माथिको रकम विदेश लगेको देखिन्छ । एक लाखभन्दा बढीले ‘नो अब्जेक्शन’ प्रमाणपत्र लिएकोमा यो वर्ष त्यो तथ्यांक वृद्धि भएको छ । अहिले १ लाख २१ हजारले एनओसी लिएको र ६४ अर्बभन्दा बढी रकम बाहिर पठाएको तथ्यांक भेटिन्छ । मेडिकल कमिसनले उल्लेख गरेअनुसार एमबीबीएस र एमडी अध्ययनका लागि १ हजार जना विद्यार्थीले देश छोडेका छन् । स्वदेशी विश्वविद्यालयमा पढाई नहुने वा पढाई भए पनि थोरै कोटामा पढाई हुने विषय पढ्न विदेश जानु स्वभाविकै हो । तर, नेपालमा अध्यापन हुने स्नातक शिक्षामा विद्यार्थी आकर्षण घट्दो क्रममा रहनु चिन्ताको विषय हो । उच्च तहको शिक्षामा घट्दो भर्ना क्रम रहनु शैक्षिक-अर्थतन्त्रका निमित्त खतराको घण्टी भनेर बुझ्न सकिन्छ ।

नेपालमा करिब ५६ प्रतिशत घरपरिवारहरूले विप्रेषण रकम पाउने गरेका छन् । विप्रेषणले वित्तीय एवम् बाह्य क्षेत्र सन्तुलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । त्यसैले नेपाली अर्थतन्त्रमा यसलाई निकै महत्वका साथ हेर्ने गरिन्छ । वैदेशिक रोजगारीले सीप, प्रविबद्धता, उद्यमशीलता र काम गर्ने संस्कारमा परिवर्तन ल्याएको छ । अर्थतन्त्र चलायमान बनाउन यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । रोजगारीको अवसर प्रदान गर्नुका साथै गरिबी घटाउन पनि बैदेशिक रोजगारीले सहयोग गरेको छ । कृषिमा आधारित नेपाली अर्थतन्त्रलाई सेवा क्षेत्रमा रुपान्तरण गर्न पनि बैदेशिक रोजगारीले टेवा दिएको छ । तर दुर्भाग्य के छ भने बैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्र आत्मनिर्भरताको बाटोमा हिड्न सकेन र समृद्धिको सिँडी पनि चढ्न सकेन ।

नेपालबाट बर्सेनि मलेसिया र खाडी मुलुकमा जाने युवाको विप्रेषण आइरहेको छ । अमेरिका, क्यानडा र अस्ट्रेलियाजस्ता देशमा गइरहेका युवाले अध्ययनका नाममा ठूलो धन लगेका छन् । तिनीहरूबाट देश भित्रिने विप्रेषणमा ठूलो योगदान छैन । आगामि दिनहरूमा त्यो अझ कम हुँदै जानेछ । बरु यताको सम्पत्ति बेचेर उतै जाने प्रवृत्ति बढ्दो छ । त्यसैगरी खाडी, मलेसिया, कोरियाबाट आउने विप्रेषण सधैँ नेपाली अर्थतन्त्रको दीगो माध्यम बन्न सक्दैन । देशभित्रै उत्पादन बढाउन नीति, योजना र कार्यक्रम अब जरुरी छ । श्रम बेचेर आएको पैसाले फेरि विदेशी वस्तु तथा सेवा खरिद गरी अर्थतन्त्र चलाउने अहिलेको प्रवृत्तिमा आमूल परिवर्तन गर्नुपर्छ ।

नेपालमा भित्रिने विप्रेषण रकममध्ये अधिकांश हिस्सा उपभोगमा खर्च हुने कारणले गर्दा नै आयात बढ्दै गएको हो । नेपाल जीवनस्तर मापन सर्वेक्षणअनुसार रेमिट्यान्स आम्दानीको ७९ प्रतिशत रकम दैनिक उपभोगमा खर्च हुने गरेको छ । करिब ७ प्रतिशत रेमिट्यान्स कर्जा तिर्न, साढे ४ प्रतिशत घरायसी सम्पत्ति जोड्न र साढे ३ प्रतिशत शिक्षामा खर्च हुने गरेको छ भने पूँजी निर्माणमा २ दशमलव ४ प्रतिशत मात्रै प्रयोग हुने गरेको छ ।

कृषि क्षेत्रमा संलग्न युवाशक्ति विदेशिएका कारण यस क्षेत्रको उत्पादन आशातितरुपमा बढ्न सकेको छैन । विकसित देशहरू हाम्रो जस्तो गरीव मुलुकबाट सस्तो श्रम प्रयोग गरेर उत्पादन गरेको वस्तु हमीलाई नै वेचिरहेका छन् । यसले गर्दा विप्रेषणबाट प्राप्त आय पुनः विदेश गइरहेको छ । श्रम पलायन, पूँजी पलायन र रेमिट्यान्सबाट आएको रकम पुनः आयात मार्फत पलायन हुनाले मुलुकको आर्थिक समृद्धिमा कुनै पनि प्रभाव पर्न सकेन । यही नै नेपाली अर्थतन्त्रको दुर्भाग्य हो ।

अबको बाटो सहज बनाउने हो भने नेतृत्वमा अर्थतन्त्रप्रतिको सम्बेदनशीलता जागृत गराउनु आवश्यक छ । उर्जा, पर्यटन र कृषिमा लगानी गर्दै उत्पादन, रोजगारी र आर्थिक वृद्धि मार्फत् देशको विकासमा लगानी केन्द्रित गर्नु आजको आवश्यकता हो । त्यसको लागि पूँजी र श्रम पलायन रोक्दै स्वदेशमै उत्पादन बढाउनु जरुरी छ । खास गरी देशमा भ्रष्टाचार र झोले राजनीतिको अन्त्य गर्दै देशभक्ति जागृत गर्ने र उत्पादनमुखी अर्थतन्त्रको विकास गर्नु आवश्यक छ । यसो गर्न सकेमात्र रोजगारी वा अध्ययनको नाममा भइरहेको मानव पूँजी पलायनलाई रोख्न सकिन्छ ।

मैले पछिल्लो हप्ता देखे भोगेका घटनाहरूले देशको भविष्य र आगामि अर्थतन्त्रको जुन अवस्था अनुमान हुन्छ, त्यसले अर्थतन्त्रबारे चासो र चिन्ता लिने जोकोहीलाई पनि दुःखित बनाउँछ । त्यसैले नेतृत्वले मुलुकको अवस्था परिवर्तनका लागि समयमै सचेत भई कार्य गर्नु जरुरी छ । आशा गरौँ मुलुकले अर्थतन्त्रप्रति गम्भीर नेतृत्व प्राप्त गर्नेछ वा नेतृत्वमा अर्थतन्त्रप्रति गम्भीरता देखा पर्नेछ ।

-सुरज घिमिरेको लेख

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: