×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ढुक्क हुनुस्, एनआईसी एशियाजतिको ‘बलियो बैंक’ डुब्दैन, डुब्दै डुब्दैन, तर, ‘सफेद झुट’ कहिलेसम्म ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ढुक्क हुनुस्, एनआईसी एशियाजतिको ‘बलियो बैंक’ डुब्दैन, डुब्दै डुब्दैन, तर, ‘सफेद झुट’ कहिलेसम्म ?

सुरज प्याकुरेल

४ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: ८ मिनेटभन्दा कम

एनआईसी एशिया बैंक । अहिले यहि बैंकको चर्चाले बजार तताएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले खुलमखुला यो बैंकबाट आफ्नो पैसा झिक्नु भनेर दिएको अभिव्यक्ति दिनु, यहि बेला राष्ट्र बैंकको इन्सपेक्सन चलिरहेको खबर विभिन्न बाहिर आउनु, बैंकका डेपुटी सीइओले राजिनामा दिनु लगायतका विषय एकैपटक सतहमा आउनु र बैंकले कहिल्यै नगरेको काम अर्थात ‘लौ बर्बाद नै पो हुने भो’, भन्ने शैलीमा ती सबै खबरबारे ३ दिनमा ४ विज्ञप्ति जारी गर्नुले सर्वसाधारणमा झन् त्रास बढेको छ । अझ केहि संचारमाध्यममा ‘बैंक भित्रभित्रै डुबिसक्यो, खराब कर्जा अनुपात १५ प्रतिशत पुग्योसक्यो, निक्षेपकर्ताले पैसा नै पाउन छोडे’ लगायतका खबर सार्वजनिक हुन थालेपछि के एनआईसी एशिया बैंक साँच्चै डुब्न लागेको हो त भन्ने प्रश्न उठेको छ । आज त्यसलाई केहि खोतल्ने प्रयास गरौँ ।
सुरुमा बुझौँ, बैंकमा राष्ट्र बैंकले चलाईरहेको इन्सेपेक्सन के हो भन्ने विषय बारे । 
नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकमा सुपरिवेक्षण गरिरहेको सत्य हो । स्वयम् बैंकले पनि यसलाई ‘रेगुलर क्यालेण्डर’ अन्तर्गतको सुपरिवेक्षण भएको स्वीकारेको छ । राष्ट्र बैंकले कुनै विशेष परिस्थितिमा र रेगुलर क्यालेण्डर अनुसार गरी दुईखाले इन्सपेक्सन गर्छ । रेगुलर इन्सपेक्सनचाहिँ सामान्य औपचारिकताका लागि मात्र र विशेषचाहिं विशेष भन्ने होइन । राष्ट्र बैंकको रेगुलर इन्सपेक्सनमा पनि बैंकले गर्ने बदमासी राष्ट्र बैंकले केलाउँछ, गल्ती भेटिए त्यसलाई सच्याउन आवश्यक निर्देशन दिन्छ वा कार्वाही पनि गर्छ । राष्ट्र बैंकले गरेको पछिल्लो इन्सपेक्सन पनि रेगुलर क्यालेण्डर अन्तर्गत त हो, तर एनआईसी एशिया बैंकका बारेमा राष्ट्र बैंकमा पनि सबैभन्दा बढी उजुरीको चाङ हुने हुनाले यो बैंकको हकमा राष्ट्र बैंकको इन्सपेक्सन सधैँ विशेष खालको हुन्छ ।
अझ सिधा भन्दा, अरु बैंकको विशेष इन्सपेक्सन र एनआईसी एशियाको रेगुलर इन्सपेक्सन उस्तै उस्तै हुन्छ । र, यो स्वाभाविक पनि हो । बैंक ठुलो छ, संस्था ठुलो भएपछि फाइल धेरै हुने भए, फाइल धेरै भएपछि समस्या धेरै हुने भए । समस्या धेरै भएपछि इन्सपेक्सन विशेष हुने भइहाल्यो । यसपटकको इन्सपेक्सनका क्रममा पनि राष्ट्र बैंकले थुप्रै कैफियत भेटाएको सत्य हो । खराज कर्जा अनुपात कम देखाउन खराब हुन लागिससकेका वा भईसकेका ऋणीलाई थप ऋण देखाएर गुड लोन बनाएको, ‘एभरग्रिनिङ’ देखिएको लगायतका कैफियतबारे राष्ट्र बैंकले बैंकलाई इन्सपेक्सनका क्रममा सोधेको पनि हो ।
यसो त एनआईसी एशियाभित्रै थुप्रै ‘लफडा’ छन्, विकृति छन् । उदाहरणका लागि,  बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको प्रमाणित भएपछि अहिले बैंकका कर्मचारी जेलमा छन् । बैंकको सप्तरीस्थित राजविराज शाखामा कागज किर्ते गरी पौने तीन करोड रुपैयाँ ऋण दिएको प्रकरणमा बैंकका कर्मचारी जेलमा छन् । यो त एउटा प्रतिनिधि उदाहरणमात्र हो । यस्ता केस एनआईसी एशियामा अरु बैंकको तुलनामा अलि बढी छन् । राष्ट्र बैंकले यस्तै विभिन्न फाइलमा इन्सपेक्सनका क्रममा प्रश्न उठाएको पनि छ । राष्ट्र बैंकले अन्य बैंकमा इन्सपेक्सनका क्रममा प्रश्न उठाउने, जवाफ माग्ने, सच्याउन लगाउने र आवश्यक परे कार्वाही गर्ने गर्दछ । फरक यति हो, एनआईसी एशियालाई हत्तपत्त कार्वाही गरेको देखिँदैन ।
राष्ट्र बैंकले गरेको इन्सपेक्सनको यहि खबर अर्थ सरोकार लगायतका मिडियाहरुले सार्वजनिक गरेका थिए । तर बैंकले त राष्ट्र बैंकको इन्सपेक्सन रिपोर्ट नै मिडियामा आयो, ‘बर्बाद हुने भो’ जसरी विज्ञप्तिबाजी गरे, जसले नागरिकमा ओहो, बैंक त साच्चै पो डुब्न लाग्यो कि क्या हो भन्ने भ्रममा आगो थपिदियो ।
शाखा बन्दका कुरामा बैंकको सफेद झुट !
यहि बीचमा, अर्को खबर बाहिर आयो, एनआईसी एशियाले विभिन्न विस्तारित शाखा, शाखा काउन्टर र केहि साखाहरु बन्द गर्न राष्ट्र बैंकमा निवेदन दियो भनेर । यो खबर वास्तवमा सामान्य खबर थियो । बैंकहरुले विभिन्न शाखा बन्द गर्न राष्ट्र बैंकमा निवेदन दिईनै रहेका हुन्छन् ।
अव यस्तो किन हुन्छ भन्ने पनि बुझौँ ।
कुनै पनि शाखा खोल्न र बन्द गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ । एनआईसी एशिया बैंकले विभिन्न पालिकाहरुमा, वा विभिन्न सरकारी निकायमा एक्सटेन्सन् काउन्टर खोल्यो । तर पछि सो पालिकाले एनआईसी एशियालाई बिजनेश दिएन, अर्को बैंकसँग कारोबार गर्यो भने ती एक्सटेन्सन काउन्टर, वा भनौं विस्तारित शाखाहरु बन्द गर्नुपर्यो । एनआईसीले पनि गरेको त्यहि हो । अरु बैंकहरुले पनि गर्ने यस्तै हो । बिजनेश नहुने ठाउँमा बसिरहने कुरा पनि त भएन । यसपटक एनआईसी एशिया बैंकले थुप्रै यस्ता विस्तारित शाखा वा भनौं एक्सटेन्सन् काउन्टर यसकारण पनि बन्द गर्नुपर्ने भयो कि बिजनेश भईरहेकाहरुले अर्कै बैंकसँग कारोबार गर्ने निर्णय गरे । र सोहि अनुरुप बैंकले राष्ट्र बैंकसमक्ष ती विस्तारित शाखा वा शाखा काउन्टरहरु बन्द गर्न निवेदन पनि दिएको हो । विभिन्न पालिका, ठुला संघ संस्थामा बैंकले कारोबार सहज बनाउन छुट्टै एक्सटेन्सन् काउन्टर खोलिदिन्छ । बिजनेश नपाए बन्द गरिदिन्छ ।
त्यसैले एनआईसी एशियाले विस्तारित शाखाहरु बन्द गर्न निवेदन दिएको पनि सत्य हो, कति त बन्द गरिसकेको पनि सत्य हो, अझै पनि त्यस्ता कतिपय शाखा बन्द हुने कुरामा पनि दुईमत छैन । संचारमाध्यममा आएको पनि मात्र यति थियो । तर एनआईसी एशिया बैंकले नै यो विषयलाई यति ठुलो बनाएर, झुट बोल्न खोज्दा उल्टै पछारियो । अव कुन दिन राष्ट्र बैंकबाट एनआईसी एशियाबाट आएका ती निवेदन लिक भयो भने, फेरी अर्को झुट बोल्नुको एनआईसीसँग विकल्प हुँदैन । तर यहाँ तपाईं झुक्किनुपर्ने आवश्यक छैन । बैंकले टाँट पल्टिन लागेर शाखा बन्द गर्न लागेको भने होइन ।
अव बुझौं बैंकको खराब कर्जाको स्थिति ह्वात्तै बिग्रेको हो त ? भन्ने विषय
वास्तवमा मन्दीका कारण ऋण नतिर्नेहरु बढेका हुन्, निष्क्रिय कर्जा बढेको हो । राष्ट्र बैंकको नियम अनुसार निष्क्रिय कर्जा अनुपात अर्थात एनपीएल ५ प्रतिशतभन्दा बढी हुनु हुँदैन । एनआईसी एशियाको प्रकाशित एनपीएल ५ प्रतिशत भन्दा निकै कम छ । तर सत्यचाहिं के पनि हो भने विभिन्न बैंकहरुले अहिले निष्क्रिय कर्जालाई पनि थप कर्जा दिएर सक्रिय बनाईरहेका छन् ।
अझ यसलाई यसरी सहज भाषामा बुझौँ । मानौँ, तपाईंले १ करोड रुपैयाँ ऋण लिनुभयो र तिर्नुभएन वा तिर्न सक्नुभएन । तपाईंले किस्ता बुझाउन छोडेको केहि समयभित्र त तपाईंको कर्जा निष्क्रियमा गणना हुन्छ । यसरी गणना हुँदा त बैंकको समग्र निष्क्रिय कर्जा अनुपात बढ्ने भयो । त्यसपछि बैंकले के गर्छ भने, तपाईंलाई थप ऋणको अफर गर्छ । बैंकको ऋण तिर्न नसकेका बेला ऋण नतिरेको भनेर कालोसूचीमा पर्नुभन्दा त थप ऋण लिएर व्यवहार चलाउनु बढी व्यावहारिक हुने भइनै हाल्यो । त्यसपछि बैंकले तपाईंलाई थप ऋण दिन्छ, सोहि ऋणबाट आफ्नो किस्ता पनि लिन्छ । दीर्घकालीन रुपमा यसले तपाईंको ऋण बढाउँछ, तर बैंकको एनपीएल यसरी नै साइजमा बसिरहेको छ । ऋणीको ऋण बढिरह्यो, बैंकले किस्ता पाईरह्यो, एनपीएल साइजमा बसिरह्यो ।
एनआईसी एशियाले पनि थुप्रै ऋणमा यस्तो गरेको छ । एनआईसी एशियालाई यस्तो गर्न किन सहज छ भने उसले सानासाना कर्जा बढी दिएको छ । ५ करोडभन्दा बढीका फाइल त कम नै छन् भनेर त बैंकले नै दाबी गर्ने गरेको छ । यसरी हेर्दा बैंकको एनपीएलको ‘रियल पिक्चर’ के हो भन्ने कुरा बाहिर आउँदैन । एनआईसी एशियाको केसमा मात्र होइन, धेरै बैंकको एनपीएल यसरी नै ‘मेनेज्ड’ भईरहेको छ ।
राष्ट्र बैंक स्वयममले इन्सपेक्सनका क्रममा यस्तो तथ्य अलि बढी भेटेको छ एनआईसी एशियामा । त्यसैले बैंकले सार्वजनिक गर्ने तथ्यांक भन्दा एनपीएलको खास तथ्यांक केहि फरक छ भन्ने विषयमा कुनै शंका नै रहेन । तर अरु बैंकको भन्दा यो केसमा पनि एनआईसी एशियाको बैंकको स्थिति बढी नराम्रो छैन । त्यसैले एनपीएलकै कारण बैंक डुबिहाल्छ भन्ने होइन । एनपीएल बढ्न नदिन बैंकले थप कर्जा स्वीकृत गर्दा पनि धितोचाहिँ हेरेको छ, जसका कारण बैंक सुरक्षित छ । अव एकाध केसमा त ‘गोलमटोल’ हुने नै भयो, जुन एनआईसी एशियामा पनि भएको छ ।
अव दुर्गा प्रसाईंले भनेको कुराबारे पनि चर्चा गरौँ । प्रसाईंले केहि दिनअघि सामाजिक संजालमा बैंकबाट सबैलाई पैसा निकाल्न सुझाव दिँदै बैंक डुब्न लागेको चर्चा गरेका थिए । बुधबार सामाजिक सञ्चालमा लेखे- ‘एनआइसी एसिया बैंक डुब्दै, बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला। सञ्चालक भागे भने सहकारीका बचतकर्ताको जस्तो हालत होला। बेलैमा होस् पुर्‍याउनु होला।’
तर बैंकको खास स्थिति त्यस्तो छैन । एनआईसी एशिया बैंक डुब्ने नै भयो भने ढुक्क हुनुस्, त्यो भन्दा अघि अरु केहि बैंक डुबिसक्छन् । त्यसैले पनि एनआइसी एशिया बैंक अहिले नै डुबिहाल्छ भन्ने कुरा सहि होइन । बजारमा एनआईसीले पैसा दिन नै सक्न छोडिसक्यो भन्ने हल्ला पनि छ, तर त्यसमा कुनै सत्यता छैन ।
राष्ट्र बैंकले बैंकहरुको निरीक्षण गर्छ, नियमन गर्छ । त्यसैले बैंक डुब्ने अहिलेकै अवस्थामा देखिंदैन ।
फेरि, तपाईंहरु भन्नुहोला, कुनै बेला क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स डुब्दा वा नेपाल बिकास बैंक डुब्दा पनि त राष्ट्र बैंक थियो होला नि । हो, पक्कै थियो, तर यी सब केसमा निक्षेपकर्ताले पैसा पाएका थिए । मान्नुस, एनआईसी एशिया बैंक कुनै दिन डुब्यो नै भने पनि तपाईंको पैसा फिर्ता हुन्छ । अहिले सहकारीको बिजोग देखेर बैंकले पनि कतै पैसा फिर्ता नदिने त होइन ? भन्ने प्रश्न उठ्न सक्छ । सहकारीको हकमा राष्ट्र बैंकजतिको बलियो नियमनकारी निकाय नभएकोले स्थिति बिग्रिएको हो । बैंकको हकमा त्यस्तो हुँदैन । त्यसैले अव यो बैंक डुब्दैछ, पैसा फिर्ता नहुने हो कि भन्ने हल्लाको पछी लाग्नु आवश्यक छैन ।
हो, एनआईसी एशिया बैंकभित्र थुप्रै समस्या छन् । बैंकभित्र धेरै कर्मचारीहरु पीडामा छन् । बैंकको निष्क्रिय कर्जा अनुपात बढ्छ भनेर बैंकले निष्क्रिय कर्जा भएकाहरुलाई पनि ऋण थपेर सक्रिय बनाएको उदाहरण पनि छ। ऋण लिनेको रुवाबासीको कुरै नगर्दा भईहाल्यो, बिजोग नै छ । र पनि बैंक बलियो छ । बैंक डुबिहाल्ने अवस्था छैन । केहि फाइल नमज्जाले बिग्रिएका, ऋण असुलीमा समस्या भएको सत्य हो, जुन यति ठुलो बैंकमा सामान्य हो ।
र जाँदाजाँदै डेपुटी सीइओको राजिनामाको विषयमा पनि चर्चा गरौँ ।
हो, एनआईसी एशिया बैंकका डेपुटी सीइओ सुधिर पाण्डेले बैंकको जागिरबाट राजिनामा दिएकै हुन् । उनको ठाउँमा जो भए पनि जागिर छोड्थ्यो, किनकि डेपुटी सीइओजस्तो व्यक्तिलाई मधेश प्रदेशको प्रमुख बनाएर पठाउने तयारी थियो बैंकमा । यहि बेला राष्ट्र बैंकको इन्सपेक्सनले उनलाई केहि सिरियस म्याटरमा प्रश्न गरेको थियो । उस्तै परे उनी जेल जानेसम्मको चर्चा बैंकमा चलिरहँदा एउटा डेपुटी सीइओलाई मधेश प्रदेश पठाउने तयारीबारे सुनेपछि उनले बैंकबाट राजिनामा दिएका थिए । पछि सरुवाको फण्डा पनि फिर्ता भयो, राजीनामाको चर्चाले पनि ब्रेक पायो । तर मान्नुस, अव पाण्डे सो बैंकमा लामो रहँदैनन् । उही बाहिरिएको घोषणा हुन मात्र बाँकी हो ।
भएको यति थियो, अन्य बैंकमा पनि यस्तो लफडा परेर थुप्रैले जागिर छोडेका छन् । तर एनआईसी एशिया बैंकका डेपुटी सीइओले दिएको राजिनामाले बजार ततायो । अझ बैंकले विज्ञप्ति जारी गरेपछि त एउटा सामान्य विषय ‘ओहो यो त ठुलो विषय रहेछ’ भनेजस्तै भयो । त्यसमा दुई विज्ञप्ति त कसैको हस्ताक्षर र बैंकको छापविनै आएपछि झन् तर्सिए सर्वसाधारण । समग्रमा भन्दा बिज्ञप्तिको आइडिया ‘फ्लप’मात्र थिएन, सो काम बैंकका लागि नै प्रत्युत्पादक ठहरियो । पत्रकारिता छोडेर बैंकको जागिर खान गएकाको कुरा सुन्दा बैंक चिप्लियो ।
यसमा सूचना अधिकारीको ग्यापको समस्याले काम गर्यो । बैंकका सूचना अधिकारी सुधिर पाण्डेलाई भनिएको छ, तर कुनै पनि सूचना उनले दिंदैनन्, मिडियासँग उनले कुरा गर्दैनन्, अझ बैंकले सूचनाको हकसम्बन्धि प्रचलित कानुन नै मिचेर प्रमुख सूचना अधिकारीको फोन नम्बर वेवसाइटमा नराखेर सूचना अधिकारीसम्म पुग्दै नपुग्ने कष्टमरका लागि प्रयोग गरिने ट्रोल फ्री नम्बर रकहेको छ । एक जना अर्जुन खनियाँले कतामात्र जवाफ दिनु, कसलाई मात्र सूचना दिनु । यसपटक त अझ बैंक बिरामी भएको अफवाह फैलिनु र खनियाँ सर साँच्चै बिरामी पर्दा मिडियामाथि रिस पोख्न बाटो कुरेर बसेका बैंकरहरुले एनआईसी एशियामा ठाउँ पाए । जसले मिडिया र बैंक दूरीमात्र बढाएन, बैंकलाई नै असर गर्नेगरी बैंकले गरेको निर्णय ठिक नभएको सावित हुँदै गएको छ ।
अन्त्यमा फेरि पनि बुझ्नुपर्ने कुरा के हो भने- ‘एनआईसी एशिया बैंक डुब्न लागेको छैन र डुब्दैन ।’
यो बैंक डुबिहाल्यो भने, सो स्थिति आउँदासम्म अरु थुप्रै बैंक डुबिसकेका हुन्छन् । त्यसैले ढुक्क भएर यो बैंकसँग कारोबार गर्दा हुन्छ । बैंक साच्चै डुब्न लागेको केहि समय अगाडी हामी भनिनै हाल्छौं नि । तर यो बैंक ऋण खानलाई बेष्ट छ भनेको चाहिं होइन है । अझ ‘छुच्चो बनेर सत्य बोल्दा’ ऋण खानका लागि यो बैंक ठिक विकल्प नहुन सक्छ । ऋणका विषयमा कुनै अर्को अंकमा कुरा गरौँला ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी