×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आईपीओ जारी गर्न वित्तीय विवरण म्यानुपुलेट गरियो, धितोपत्र बोर्ड नै मुख्य मतियार’- सांसद प्रदिप यादव

अर्थ सरोकार

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार

PRIME CA

‘आईपीओ जारी गर्न वित्तीय विवरण म्यानुपुलेट गरियो, धितोपत्र बोर्ड नै मुख्य मतियार’- सांसद प्रदिप यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदिप यादवले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने काममा कम्पनीले वित्तीय विवरणमा छेडखानी गर्ने गरेको बताएका छन् । प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद यादवले घाटामा रहेका कम्पनीहरुले पनि वित्तीय विवरण म्यानुपुलेट गरी आईपीओ जारी गरेर लगानीकर्ताको करोडौँ जोखिममा पारेको बताएका हुन् ।

देशभर निर्माण कार्य ठप्पप्रायः हुँदा र उत्पादन भएका सामाग्रीको बिक्री नहुँदा पनि कम्पनीहरु भने नाफामा देखाएर सेयर बजारमा आईपीओ जारी गर्ने खेल भएको सांसद यादवको भनाई छ । ‘कोभिडपछि निर्माण सामाग्रीको बिक्री तथा उपभोग घटेको छ । सिमेन्ट उद्योगहरु धमाधम घाटामा गइरहेका छन् । तर, त्यही घाटामा रहेका कम्पनीहरुले अडिटरमार्फत बुक्समा मुनाफा देखाई आईपीओका लागि धितोपत्र बोर्डमा निवेदन दर्ता गराउँछन् ।’, उनले भने, ‘धितोपत्र बोर्डले पनि कम्पनीको वास्तविक अवस्थाका बारेमा छानबिन र अध्ययन नै नगरी जस्तोसुकै कम्पनीलाई पनि आईपीओको स्वीकृति दिईहाल्छ । जसले गर्दा अन्तिममा सोझासाझा लगानीकर्ताकै करोडौँ रकम जोखिममा परेको छ ।’

त्यस्तै, उनले यसअघि आईपीओ जारी गरिसकेका घोराही सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, नेपाल वायर हाउसले पनि लगानीकर्तालाई आकर्षित गर्न कम्पनीको वित्तीय विवरण म्यानुपुलेट गरेको आरोप लगाएका छन् ।

‘घाटामा रहेका कम्पनीले अडिटरमार्फत नाफामा देखाएर आईपीओ जारी गरेका छन् ।’, सांसद यादवले भने, ‘त्यसैमाथि अहिले धेरै कम्पनीले कर छलि गरेको, बिजुलीको बक्यौता नतिरेको र मुद्दा विचाराधीन रहेको अवस्थामा पनि आईपीओको स्वीकृति दिईएको छ । यस्ता गम्भीर अपराधको मुख्य मतियार नै नियामक नेपाल धितोपत्र बोर्ड हो ।’

अहिले पनि धेरै घाटामा रहेका उद्योग तथा कम्पनीहरु बुकमा नाफा देखाएर धितोपत्र बोर्डसँगको सेटिङमा आईपीओ ल्याउने तयारीमा रहेको सांसद यादवले बताए । त्यसैमाथि आईपीओ जारी गर्नुपूर्व कम्पनीहरुले कम्पनीको वित्तीय अवस्था कस्तो छ भन्नका लागि गर्ने रेटिङमा पनि कुनै सत्यता नहुने सांसद यादवले दाबी गरेका छन् । ‘कम्पनीहरुको रेटिङ गर्ने केयर रेटिङ नेपाल र इक्रा नेपालले पनि गैरकानुनी रुपमा कम्पनीको रेटिङ गर्ने गरेको सूचना म कहाँ छ ।’, उनले भने, ‘यसतर्फ धितोपत्र बोर्डले किन नियमन गर्दैन ? यसरी रेटिङ एजेन्सीले पूर्वाग्रही भएर कम्पनीको रेटिङ गर्दा लगानीकर्ताको रकम डुब्ने जोखिम हुन्छ ।’

साथै सांसद यादवले पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेका बेला लगानीकर्ताहरु सेयर बजारबाटै पलायन हुनुपर्ने अवस्था आएको र केही लगानीकर्ता आत्महत्या नै गर्ने अवस्थामा पुगेको भन्दै सिमित व्यापारी र व्यक्तिको कब्जामा रहेको सेयर बजारलाई मुक्त गराउन पनि सरकारसँग माग गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: