काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स डुब्ने खतरा बढेको छ । कम्पनीमा नयाँ बिजनेश नआउने र भएका पोलिसी भकाभक सरेन्डर हुन थालेपछी कम्पनी नै डुब्ने खतरा बढेको हो ।
चालु आर्थिक वर्षको पछिल्लो पाँच महिना (साउनदेखि मंसिर मसान्तसम्म) मात्रै सूर्यज्योति लाइफ इन्स्योरेन्समा २ हजार ४ सय ८८ वटा बीमा पोलिसी सरेन्डर भएका छन् । जुन पोलिसी सरेन्डरमार्फत कम्पनीबाट ३२ करोड ६४ लाख रुपैयाँ बाहिरिएको छ ।
त्यसयता पनि सूर्यज्योतिमा बीमा पोलिसी सरेन्डर गर्नेहरु बढेका छन् । ‘पछिल्लो केही महिनायता कम्पनीमा पोलिसी सरेन्डर गर्नेहरु बढेका छन् ।’, कम्पनीका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘नयाँ बिजनेश साह्रै कम मात्रामा आइरहेको छ । भएका पोलिसी सरेन्डर हुने र नयाँ बिजनेश नआउने स्थिति चलिरहे समस्या अलि बढ्ने देखिन्छ ।’
यसो त सूर्यज्योति लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था पनि खासै सन्तोषजनक छैन । त्यसैमाथि कम्पनीमा व्यथिति र विकृतिका चाङ्ग छन् । अझ योग्यता र अनुभव नै नपुगेका व्यक्तिलाई जागिर दिएर कम्पनीले संस्थागत सुशासनको धज्जी नै उडाएको छ । अझ कम्पनीले बिमितलाई दिएको दुःख झन् बेहिसाब छन् । बीमाप्रश्चात आफूले पाउनुपर्ने दाबी भुक्तानीका लागि बिमित बीमा प्राधिकरणदेखि अदालतसम्म धाउनुपर्छ ।
यसरी सूर्यज्योतिमा बीमा गराउनु भन्दा नगर्नूमा फाइदा देखेपछि अहिले पोलिसी सरेन्डर गर्नेहरु ह्वात्तै बढेका छन् । आफूले पाउनुपर्ने रकम पाउन पनि प्राधिकरण र अदालतसम्म पुग्नुपरेपछि कम्पनीबाट पीडित बनेका अंगद खड्काले त सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई ‘ठग कम्पनी’ भनेका छन् । कम्पनीमा पोलिसी सरेन्डर गर्नेहरु बढेपछि र संस्थागत सुशासनसँगै वित्तीय अवस्था पनि कमजोर हुँदै गएपछि सूर्यज्योति लाइफ इन्स्योरेन्स पनि कर्णाली डेभलपमेन्ट बैंक डुबेजस्तै डुब्ने खतरा देखिएको छ ।
यसो त कम्पनीले पछिल्लो समय शाखा कार्यालयहरु मर्ज गर्ने अभियान नै चलाएको छ । कम्पनीले एक सूचना नै जारी गरेर मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम शाखा र म्याग्दीको बेनी नगरपालिका–८ स्थित बेनी शाखा एकआपसमा गाभिन लागेको जानकारी गराएको छ । यसबाट पनि कम्पनीको अवस्था कमजोर हुँदै गइरहेको र कम्पनीले नयाँ बिजनेश पाइरहेको छैन भन्ने पुष्टी हुन्छ ।
कम्पनीको दाबी भने आफुहरु अब्बल छौं भन्ने छ । कम्पनीबाट बीमाको रकम पाउन निकै अफ्ट्यारो परेको खबर बाहिरिएपछि कम्पनीले आफुहरु अब्बल रहेको भन्दै विज्ञप्ति नै जारी गरेको छ । यसअघि राष्ट्र बैंकले टेकओभर गरेको कर्णाली डेलपमेन्ट बैंकले पनि कम्पनी अब्बल छ भन्दै वित्तीय विवरण सार्वजनिक गरेको थियो । पछि राष्ट्र बैंकले सो बैंकलाई टेकओभर गर्नुपरेको थियो । सूर्यज्योतिबारे पनि बीमा प्राधिकरणमा थुप्रै उजुरीहरु छन् । तरनियामकमा अध्यक्षको अभाव हुनुले पनि कम्पनीविरुद्ध परेका उजुरीउपर खासै कारवाही हुन नसकेको विमितहरुको आरोप छ ।