काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नै बुद्धिमानी हुने टिप्पणी गरेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद शर्माले यस्तो बताएका हुन् ।
उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि संसद्मै स्वतन्त्र छानबिनको माग उठेको उल्लेख गर्दै गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्नु नै बुद्धिमानी हुने बताएका छन् ।
पार्टी पदाधिकारी बैठकले गरेको निर्णय स्वागतयोग्य भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरूको तर्क कायमै रहेको सांसद शर्माले जिकिर गरेका छन् । बजेट भाषण अघि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने समेत उनको भनाई छ ।
‘पार्टीका शीर्ष नेताहरूले गरेका निर्णयहरू हामीले स्वागत गर्नुपर्छ । यद्यपि हाम्रो व्यक्तिगत धारणाहरू हिजो जे बोलेको त्यो कायम छ । स्वतन्त्र छानबिनको विषयमा सदनमै कुरा उठिरहेको छ ।’, उनले भने, ‘ मलाई लाग्छ बेलुकासम्म केही आउला । नआए दुई/चार दिनभित्र आउला किनभने १५ गते बजेट भाषण छ । बुद्धिमानी कुरा र नैतिकवान् कुरा चाहिँ राजीनामा दिनु नै हुन्छ ।’
त्यस्तै, राजनीतिमा नैतिकता प्रदर्शन गर्ने कुरा स्वयम् नेतामा भर पर्ने भएकाले अहिलेको अवस्थामा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नु नै नैतिकवान् र बुद्धिमानी निर्णय हुने सांसद शर्माले दोहोराएका छन् ।