काठमाडौँ । पुँजी बजारमा केही अदृश्य रहस्य रहेका हुन्छन् । यसलाई पहिचान गर्नसक्नु नै लगानी सफलताको हो । एकै समय एकथरी लगानीकर्ता बजारमा लाभका हिसाबले उच्च आशा र भरोसा राख्ने गर्दछन्, भने अर्काथरी डर र त्रासले भरिएका हुन्छन् । यसले गर्दा बजारको सूचाङ्क घटबढ भइरहन्छ । बजारको वास्तविक सुन्दरता नै यसको उतारचढाव हो । यही तलमाथि भइरहने बजारको चरित्ररुपी रसीले मान्छेलाई बजारबाट भाग्न दिँदैन, कसेर राखी राखेको हुन्छ । हरेक लगानीकर्तामा पैसाको भोक रहनु सामान्य हो तर त्यसको खुराक भेटाउन सक्ने उर्बर ठाउँ धितोपत्र बजार हुन सक्छ । यसका लागि पैसा कमाउनेभन्दा बनाउन जान्नु आवश्यक छ, पुँजी बजारले कसरी पैसा छाप्छ ? भन्ने जादुमयी रहस्य बुझेपछि मात्रै सम्भव छ ।
बजारमा भएको जोखिम थाहा पाउँदै आफ्नो अध्ययन, क्षमता, सीप र अनुभव बढाउँदै त्यसको न्यूनीकरण गरेर बजारबाट खजना कसरी लिन सकिन्छ ? त्यो बताउनु यसको मुख्य प्रयास हो । धितोपत्र बजारले सीमित आयमा खुम्चिएका र एक किसिमलेभन्दा अभावमा बाँचिरहेका व्यक्तिलाई कसरी अवसर दिन सक्छ ? त्यो अवसरले कसरी आर्थिक सुरक्षाबाट स्वतन्त्रताको स्तरसम्म पुर्याउन सक्छ ? र त्यो रहस्यमयी काम कसरी गरिरहेको हुन्छ ? हरेक व्यक्तिले बुझेर बजारमा डुबुल्की मार्ने हो भने उसले वित्तीय स्वतन्त्रता पाउने पक्का छ । बजारले गर्ने चमत्कारी काम थोरै समय निकालेर अध्ययन गर्ने हो भने सजिलै पहिचान गर्न सकिन्छ । यस्तो भित्री तत्व थाहा नपाई लगानी गर्नेले भन्दा थाहा पाएर गर्नेले धेरै लाभ बजारबाट उठाउन सक्छ, प्रतिस्पर्धाको दौडमा विजेतालाई दिइने पदकको हकदार हुने पक्कापक्की छ ।
पैसा कमाउने विभिन्न स्मार्ट तरिकाहरु हुने गर्छन् । कुनै समय एउटा खर्बपति जन्मन दशकौँ लाग्थ्यो तर वर्तमान समयमा एक दुई वर्षमा जन्मनसक्ने भएको छ । यस्तो कसरी सम्भव भयो ? हरेक व्यक्तिमा जिज्ञासा रहनु स्वाभाविक हो । खासगरी प्रविधिको विकास र फैलँदो धितोपत्र बजारका कारण यो जादु देखिने गरेको छ । बिलिनियर बन्ने थुप्रै स्मार्ट तरिकामध्ये धितोपत्र बजारको महत्व सबैभन्दा माथि छ । यदि हामीले त्यसले कसरी काम गर्छ ? बजारमा कस्तो जादु हुन्छ ? रहस्य के छ ? थाहा पाउन सक्यौँ भने धनी हुने बाटो धेरै टाढा रहँदैन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्यांकलाई हेर्ने हो भने सन् १९९३ मा १५७ विन्दुबाट सुरुआत भएर सन् २००० मा ५४५ विन्दुमा पुग्यो तर त्यसको १८ महिनामा नै बजार १८६ अंकमा झर्यो । पुनः सुधार हुँदै सन् २००८ मा ११७५ को विन्दु चुम्न पुग्यो तर २०१२ मा परिसूचक २९८ मा झर्यो ।
सन् २०१६ मा १८८१ विन्दुको शिखर टेक्न सफल भएकामा फेरि २०१६ देखि २०१९ भित्रमा परिसूचक ११०४ मा ओर्लियो । त्यसपछि २०२१ मा लगभग ३२०० अंकको सर्वकालीन उच्च विन्दुमा पुग्यो र २०२२ मा आइपुग्दा पुनःलगभग १८०० अङ्कमा सीमित भयो । क्रमशः सुधार हुँदै सन् २०२५ मा आइपुग्दा सूचकाङ्क २७१० को सेरोफेरोमा घुमिरहेको छ । यस तथ्याङ्कले के देखाउँछ भने बजार बुल हुँदा प्रवेश गरेकाहरु पनि अघिल्लो बुलदेखि दोस्रो बुलसम्म धैर्यता राख्न सक्छन् भने बढ्दो बजारको फाइदा नै पाउनेछन् । तथ्याङ्कमा एक बुलदेखि अर्को बुलमा पुग्दा बजारको वृद्धि औसतमा ७० प्रतिशत देखिन्छ । हरेक पटक उच्चविन्दुमा परेकाहरु अर्को पटकको उच्च विन्दुमा निस्कन पाउने हो भने सम्पत्ति ७० प्रतिशत बढ्ने देखिन्छ । आफ्नो लगानीको ६०० प्रतिशत प्रतिफल बजारबाट लिनसक्ने इतिहास विगतको अवस्थाले देखाउँछ ।
सानो रकमबाटै सुरुआत गर्न सकिने: पुँजी बजार त्यो स्थान हो जहाँ सानो रकमबाट आफ्नो लगानीको यात्रा प्रारम्भ गर्न सकिन्छ । धितोपत्र बजारबाहेक सायद अन्य कुनै ठाउँ छैन जहाँ ? एक हजार लगानी गर्न सकियोस् र प्रतिफलको अपेक्षा राख्न पाइयोस् । रियलस्टेट, यातायात व्यवसाय, मुद्रा बजार वा सुनचाँदीलगायतको उद्यममा यति थोरै लगानीबाट सुरुआत गर्न सम्भव छैन । पुँजी बजार यस्तो स्थान हो, जहाँ सानो रकमदेखि संसारको धनाढ्यको सबै सम्पत्ति लगानी गर्न सकिन्छ । टीका लगाएको दक्षिणा, खुत्रुकेमा राखेको सानोसानो बचत वा आफ्नो बिक्री गरेको पूरा सम्पत्ति थोरैदेखि धेरै सबैखाले रकम पुँजी बजारमा अट्ने गर्छ । आफ्नो हैसियतअनुसार कम चाहिएमा थोरै र बढी चाहिएमा धेरै रकम धितोपत्र बजारमा लगानी गर्न सकिन्छ । यो बजारमा धनीदेखि सामान्य व्यक्ति सबै अट्न र कमाउनसक्ने अवसर रहेको हुन्छ ।
दीर्घकालीन सम्पति सिर्जना: पुँजी बजार यस्तो स्थान हो जहाँ सही लगानी गर्न सकियो भने पाँच, १० वा २० वर्षको समयमा राम्रो सम्पत्ति बनाउने सम्भावना रहन्छ । खासगरी थोरै पैसाबाट सुरुआत गरेर बजारको खेल सिक्दै र लगानी फैलाउँदै धनको सिर्जना गर्न सकिन्छ । चाहे त्यो संस्थापक सेयर होस्, प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) वा दोस्रो बजारमा लगानी गर्दै गएमा लामो समयमा सेयर बजारले सम्पत्तिको कम्पाउडिङसमेत गर्नसक्ने हुँदा सेयरमा गरिएको लगानीले दीर्घकालीन सम्पत्ति बनाउन मद्दत गर्छ । संसारका सबै सेयर बजारको इतिहास हेर्ने हो भने लामो समयमा बढेर गएको देखिन्छ, जसले लगानीकर्ताको सम्पत्ति बढाउने र बैंकमा राखेर प्राप्त हुने ब्याजभन्दा उच्च प्रतिफल दिएको तथ्याङ्कहरुले देखाउने गरेको पाइन्छ ।
यसर्थ, सेयर बजारमा गरिएको लगानीले सम्पत्ति बनाउन टेवा पुग्नुका साथै उक्त सम्पत्तिबाट नियमित लाभ लिँदै आर्थिक स्वतन्त्रताको बाटोमा आफूलाई हिँडाउन सहज हुनेछ । नेपालको नेप्सेलाई हेर्ने हो भने करिब २७ वर्षको अवधिमा १५७ अङ्कबाट ३२०० विन्दुमा पुगेको देखिन्छ । यसमा नेप्से परिसूचकको औसत चक्रिय वार्षिक वृद्धि हेर्ने हो भने हरेक वर्ष १४.२३ प्रतिशतको देखिन्छ ।
नगदमा तुरुन्त बदल्न सकिने: धितोपत्र बजारमा गरिएको लगानी संसारको सबैभन्दा छिटो नगद बनाउन सकिने सम्पत्तिमध्ये एक हो । उदाहरणको लागि रियलस्टेट, गाडी, मेसिन वा अन्य सम्पत्तिलाई तत्काल नगदमा बदल्न असम्भव हुने गर्छ तर धितोपत्र बजारका उपकरणहरुलाई सजिलै रुपान्तरण गर्न सकिन्छ । पुँजी बजारका औजारहरु (सेयर, डिवेञ्चर, बण्ड र हकप्रद सेयर, म्युचुअल फण्ड आदि) जति छिटो अन्य व्यवसाय वा सम्पत्तिलाई नगदमा परिवर्तन गर्न सम्भव छैन । मानिसलाई चाहिने आपत्कालीन कोषदेखि भैपरी आउने खर्चसमेत धितोपत्र उपकरणमा लगानी गरेर राखिएको छ भने पनि चाहिएको समयमा बिक्री गरेर आवश्यक रकम निकाल्न सकिन्छ । चाहिएको समयमा नगदमा बदल्नुपर्ने पैसासमेत धितोपत्र बजारमा लगानी गर्नु उपयुक्त हुनसक्ने देखिन्छ । खासगरी लगानी गरिरहेको समयमा कुनै नयाँ र उच्च मुनाफामुखी अवसर प्राप्त हुन आएमा तरलताकै अभावमा त्यस्ता आयोजना छोड्नुपर्ने अवस्था आउँदैन ।
उच्च प्रतिफलको सम्भावना हुने : धितोपत्र बजार सम्भावना र जोखिमको क्षेत्र हो । यदि बजारको राम्रो अध्ययन, विश्लेषण र अभ्यास गर्नसक्ने हो भने नसोचेको लाभ लिन सकिन्छ । एकपटक लगानी गरेपछि वर्षौंसम्म प्रतिफल लिन सकिन्छ । धितोपत्रमा गरेको लगानीबाट बोनस, हकप्रद र नगद लाभांश लिन सकिन्छ । बजार बढ्दै गर्दा र आफूले किनेको कम्पनीको मूल्य खरिद गरे भन्दा उच्च हुँदै जाँदा बढीमा बिक्री गरेर पुँजीगत लाभसमेत लिन सकिन्छ । बजारमा वृद्धि र गिरावटको चक्र चलिरहेकै हुन्छ । न्यूनविन्दुको आसपास खरिद र उच्चविन्दुको छेउछाउ बिक्री गर्नसक्ने सीप र कला यदि लगानीकर्ताले आफूमा विकास गर्न सक्ने हो भने बजारबाट नसोचेको लाभ लिनसक्ने अवस्था बन्छ । सही समयमा ठीक लगानी गर्नसक्ने क्षमता आफूमा विकास गर्नसक्ने हो भने बजारबाट उच्च प्रतिफल पाउने निश्चित छ ।
मालिक बन्ने अवसर : सेयर खरिद गर्नु भनेको केबल लगानी गर्नुमात्रै होइन, बरु आफूले खरिद गरेको सेयर बराबर सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त गरेर स्वामी बन्नु पनि हो । जो व्यक्ति आफैँ कम्पनी खोलेर व्यवसाय निर्माण गर्न सक्दैन वा भ्याउँदैन तर कम्पनीको मालिक बनेर उद्यम गर्न चाहन्छ भने त्यस्ता व्यक्तिका लागि कम्पनीमा जोडिने र आम्दानीको स्रोत विस्तार गर्ने उपयुक्त माध्यम नै सेयर बजार हो अर्थात् सेयरको खरिद गर्नु हो । यसैले सेयर किन्नु भनेको कम्पनीको निश्चित हिस्सा खरिद गर्नु हो । सेयर बजारले कम्पनी खडा गर्न नसक्नेलाई सेयर हिस्सा किनेर पनि मालिक बन्नसक्ने अवसर प्रदान गर्दछ । एउटा सेयर धनीले चाहेमा प्रतिस्पर्धाबाट छनोट हुँदै सञ्चालकसम्म बन्नसक्ने अवसर सेयर बजारले दिन सक्छ । यस कारण पुँजी बजार लगानीको अवसर मात्रै नभई कम्पनीको नेतृत्व गर्ने आधारस्तम्भ पनि हो ।
आफ्नो पेसा तथा व्यवसायसँगै गर्न सकिने: सेयर बजारमा लगानी गर्नका लागि लगानीकर्ताले गरिरहेको रोजगारी, उद्यम वा व्यवसाय छोडेर समय दिइरहनु पर्दैन । यसका लागि अन्य पेसा तथा व्यवसायलाई निरन्तरता दिएर नै लगानी गरिराख्न सकिन्छ । पुँजी बजारमा प्रवेश र कारोबार गर्नका लागि आफ्नो भइरहेको पेसा व्यवसायले कुनै अवरोध र बाधा पुर्याउँदैन । बरु धितोपत्र बजारमा लगानी गरिरहेका व्यक्तिले चाहेमा नयाँ पेसा वा व्यवसाय गर्नका लागि कुनै रोकतोक रहँदैन । सेयर बजारमा गरिने लगानी र व्यवसायसँगै गर्न सकियो भने लगानी विविधीकरण हुने र आम्दानीका नयाँ स्रोतसमेत प्राप्त हुने देखिन्छ । आफूले सञ्चालन गरिरहेको वा गर्न चाहेको व्यवसायलाई निरन्तरता दिँदै साथमा पुँजी बजारमा गरिने लगानीलाई अगाडि बढाउन सकियो भने एउटा क्षेत्रमा नोक्सान हुँदा अर्को क्षेत्रमा प्राप्त हुने मुनाफाले आफ्नो व्यवहार सञ्चालन गरी राख्न सकिन्छ ।
अनलाइनबाट कारोबार : विगतका समयहरुमा धितोपत्रमा लगानी गर्दा खासगरी प्रारम्भिक सार्वजनिक निष्कासनमा आवेदन दिनुपर्दा घण्टौँसम्म लामो लाइनमा उभिएर फाराम भर्नुपर्थ्यो भने भौतिकरुपमा सशरीर आफैँ उपस्थित हुनुपर्ने स्थिति थियो । दोस्रो बजारमा कारोबार गर्दा धितोपत्र दलाल कम्पनीमा जानुपर्ने र खरिद वा बिक्रीका लागि आवश्यक आदेश फाराम भर्ने गर्नुपथ्र्यो । अहिले यी दुवै समस्याको समाधान भइसकेको छ । आइपिओमा मेरो सेयर, सिआस्वा, डिम्याट, बैंक खाता र प्यान नम्बर भएपछि आफू बसेको स्थानबाट नै अनलाइनमार्फत आवेदन गर्न सकिन्छ ।
यस्तै दोस्रो बजारमा कारोबार गर्न ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) खाता खोल्नुपर्ने हुन्छ । यस्तो खाता खोलिसकेपछि उक्त खातामार्फत आफूसँग भएको धितोपत्रलाई बिक्री गर्न सकिन्छ भने आवश्यक कोल्याटर जम्मा गरेर धितोपत्रको खरिद गर्न पनि पाइन्छ । यसका लागि लगानीकर्ता ब्रोकरको कार्यालय धाइरहनु पर्दैन । पहिलाको जस्तो ब्रोकरले आफ्नो आदेश राखिदियो दिएन भन्ने कुनै दुविधा पनि रहँदैन, अहिले आफैँले सिधै आदेश टिएमएस प्रणालीमा राख्नसक्ने भएकाले आफू जहाँ भए तापनि धितोपत्रको कारोबार गर्न सकिन्छ । यसरी खरिद गरेको धितोपत्रको भुक्तानी गर्नुपरेमा वा बिक्री गरेको धितोपत्रको रकम प्राप्त गर्नुपरेमा डिजिटल बैंकिङमार्फत गर्न सकिने भएकोले स्वदेश वा विदेश जहाँ रहेर पनि धितोपत्र कारोबार गर्न सकिने अवस्था बनेको छ ।
निष्क्रिय आय : हरेक मानिसले जीवनमा समय र वित्तीय स्वतन्त्रता खोज्ने गर्दछन् । यी दुवै स्वतन्त्रताको मूल स्रोत तपाईं निष्क्रिय आयमा (पेपर एसेष्ट, रियलस्टेट, कमोडिटी, सिस्टम व्यवसाय आदि) भर पर्छ । जबसम्म सक्रिय आयमा (आत्मनिर्भर, स्वरोजगारी वा रोजगारी) हाम्रो आम्दानी सीमित रहन्छ, तबसम्म समय र वित्तीय स्वतन्त्रताको स्वाद लिन सकिँदैन । यसरी आफ्नो समय र जवानी सुम्पिएर गरिने आयमा खुम्चिएर रहनुभन्दा त्यस्ता सक्रिय आयलाई निष्क्रिय आयमा बदल्न जानियो र सकियो भने जीवनको सुख र खुसी थाहा पाउन सकिन्छ । यस्तो निष्क्रिय आय बढाउँदै लैजाने एक उत्तम उपाय हामीले प्राप्त गरेको सक्रिय आयलाई क्रमशः निष्क्रिय आय दिने सम्पत्तिमा लगानी बढाउँदै लैजानु हो । यस्ता सम्पत्ति मध्य पुँजी बजार सबैभन्दा उपयुक्त रहने गरेको देखिन्छ । सेयर बजारमा थोरैबाट सुरुआत गर्न सकिन्छ भने ठूलो धनराशिलाई पनि लगानी गर्न पाइन्छ । यसरी गरेको लगानीले लगानीकर्तालाई निरन्तर लामो समय नगद, बोनस, हकप्रद वा पुँजीगत लाभका रुपमा निष्क्रिय आय दिइरहने गर्दछ । विश्वका धनीहरुको सबैभन्दा बलियो हतियार नै निष्क्रिय आय हो । जहाँ दैनिक कुनै पेसा वा व्यवसायमा उपस्थित भए जसरी हाजिर भैरहनु पर्दैन आफ्नो अनुकूल समयमा अध्ययन र मेहनत गर्न सकिन्छ । निष्क्रिय आय बढ्दै जाँदा मान्छेलाई रोबर्ट कियोसाकीले ‘धनी बुबा गरिब बुबा’ मा भने जस्तै दैनिक १०-५ बजेको ‘र्याट रेस’ बाट मुक्ति प्राप्त हुन्छ तर पनि प्रतिफल भने दिइ नै रहन्छ ।
सम्पत्ति सुरक्षामा खर्च नहुने: कैयौँ क्षेत्रमा हुने लगानीमा लगानीकर्ताले आफ्नो सम्पत्तिको रक्षाका लागि ठूलोमात्रामा धनराशि खर्च गर्नुपर्ने हुन्छ । यदि त्यसो गरिएन भने हराउने, टुटफुट हुने, नासिएर जाने वा चोरी हुनेजस्ता समस्या आउनसक्छ । खासगरी भौतिक सम्पत्तिमा भएको लगानी संरक्षणका लागि कहिलेकाहीँ उक्त सम्पत्तिले दिने प्रतिफलभन्दा पनि धेरै व्ययभार लाग्ने गरेको पाइन्छ । तर धितोपत्रमा गरिएको लगानी एक अभौतिक सम्पत्ति भएकाले यसको सुरक्षामा खासै खर्च लाग्ने गर्दैन । यो चोरी भएर वा हराएर जाने, आगलागी वा प्राकृतिक प्रकोपले नाश हुने, यसलाई राख्नका लागि ठूलो स्थान चाहिनेजस्ता समस्या रहँदैन । केबल कारोबारका लागि आफूमा ज्ञान, सीप र अनुभव बढाउनसक्ने हो भने पुँजी बजारबाट प्राप्त सम्पत्ति संरक्षणको लागि कुनै जोखिम लिनु पर्दैन ।
लगानीमा विविधीकरण: सफल लगानीकर्ताले विभिन्न क्षेत्रमा लगानी गरिरहेका हुन्छन् । आफूसँग भएको पैसालाई पनि एउटै क्षेत्रमा नभई फरक क्षेत्रमा लगानी गर्न सक्ने हो भने जोखिम न्यूनीकरण र प्रतिफलको थप अवसर प्राप्त हुने देखिन्छ । यसैले लगानीकर्तालाई आफ्नो पुँजी सुरक्षित र बढी प्रतिफलमुखी बनाउनका लागि लगानी विविधीकरणको अवसर धितोपत्र बजारले उपलब्ध गराउँछ । खासगरी धितोपत्र बजारमा धेरै किसिमका उपकरणहरु जस्तैः सेयर, डिवेञ्चर, बोण्ड, हकप्रद सेयर र म्युचुअल फण्ड आदि हुनेहुँदा आफ्नो क्षमता र योग्यताअनुसारको औजारमा लगानी गर्न सकिन्छ ।
यस्तै सेयरमा लगानी गर्दा पनि फरक क्षेत्र (बैंक तथा वित्तीय, उत्पादन मुलक, विद्युत् र होटल आदि) का कम्पनीहरुको छनोट गरी लगानी विविधीकरण गर्न सकिन्छ । सेयर बजारले लगानी विविधीकरणमार्फत लगानीकर्तालाई कम जोखिममा धन प्राप्त गर्न मद्दत गरिरहेको हुन्छ ।
चक्रिय वृद्धिः लगानीमा चक्रीय वृद्धि भनेको कुनै ठाउँमा गरिएको लगानीबाट प्राप्त लाभांशलाई पुनः त्यसै क्षेत्रमा लगानी बढाउँदै क्रमशः प्रतिफल बढाउँदै जाने र त्यसबाट प्राप्त आयलाई पुनःलगानी गर्ने, यस क्रमलाई निरन्तर लामो समयसम्म प्रयोग गरियो भने सम्पत्ति द्रुतगतिमा बढाउन सकिन्छ । यसले लगानी र मुनाफालाई झन छिटो बढ्न मद्दत गर्दछ । यसको बलियो उदाहरण वारेन्ट बफेटको लगानी रणनीतिलाई लिन सकिन्छ । बफेटले लगानीमा उच्च प्रतिफलभन्दा उचित प्रतिफलमा जोड दिए भने आठ दशकदेखि निरन्तर विनाविश्राम लगानी गरिरहेका छन् । उनलाई थाहा छ, लगानीमा सबैभन्दा शक्तिशाली भनेको समय हो, समयको सहयोगमा चक्र वृद्धिमामार्फत अथाह धन जोड्न सम्भव छ । यसैका कारण दशकौँदेखि विश्वका १० धनीमध्ये एकमा आफूलाई टिकाइराख्न सफल भएका छन् ।
यस क्षेत्रमा थोरै रकम पनि लगानी गर्न सकिने भएकाले पहिला लगानी गरिएको पुँजीबाट प्राप्त लाभांशलाई पुनःसेयरमा नै लगानी गर्न सकिन्छ, त्यो रकमले पनि पैसा कमाउन थाल्छ, जसले गर्दा सम्पत्ति झन् छिटो बढ्छ । अल्बर्ट आइस्टाइनले भने जस्तै संसारको आठौँ आश्चर्य अर्थात् चक्रीय वृद्धिले तपाईंको वासलतमा रहेको सम्पत्ति कोलमको योगफल बढोत्तरीमा जादुमयी काम गर्न थाल्नेछ, जुन अपत्यारिलो लागे तापनि यथार्थ हुनेछ । यति मात्रै होइन, सेयरको मूल्य समयसँगै बढ्ने भएकाले मुद्रास्फीतिको असरबाट पैसा जोगाउन र त्यसलाई जित्न सहयोग गर्छ ।
यसरी पुँजी बजारमा गरिने लगानीले सिधा खालको प्रतिफल मात्रै नभई अप्रत्यक्ष लाभहरु दिइरहेको हुन्छ । समुन्द्रमा जानेले जस्तो भाँडा बोकेर जान्छन् त्यतिनै पानी पाउँछन् भने जस्तै धितोपत्र बजारमा पनि जसले जस्तो ज्ञान र सीप प्रयोग गर्छ सोही बमोजिमको प्रतिफल भेटिने निश्चित छ । यसैले हरेक लगानीकर्ताले बजारमा लगानी गर्नुपूर्व पैसा बनाउने रहस्य बुझ्न जरुरी छ । सम्पति निर्माणमा बजारले कसरी काम गरी रहेको छ रु थाहा पाएर लगानीको यात्रालाई आरम्भ गर्नसक्ने हो भने लक्ष्यसम्म पुग्ने बाटो पहिलाउन खास समस्या छैन । यसैले धन कमाउने रहस्य धितोपत्र बजारमा छ । यसका लागि आफूलाई सधैँअब्बल बनाइराख्न आफ्नो योग्यता, अनुभव, अध्ययन र सिकाइलाई चम्काइराख्न खाँचो देखिन्छ । –अचुतकुमार ओझाको लेख (ओझा सेयर बजारका जानकार हुन्। )