×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको अघिल्लो वर्षको नाफा झुटो रहेको प्रमाणित, यसपालीको नाफा पनि शंकास्पद ! ‘झुक्याउने काम भयो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल बैंकको अघिल्लो वर्षको नाफा झुटो रहेको प्रमाणित, यसपालीको नाफा पनि शंकास्पद ! ‘झुक्याउने काम भयो’

Artha Sarokar

१ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बैंक लिमिटेडको नाफा विवरण शंकास्पद देखिएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले खुद नाफा वृद्धिदर १३ हजार १७५ प्रतिशत बढाएको छ । तर यो वृद्धिदर खास नभई अघिल्लो पटकको विवरण संसोधन गर्दा आएको वृद्धिदर भएको देखिएको छ ।

बैंकले गत वर्ष प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा बैंकको खुद नाफा १ अर्व ६५ करोड रुपैयाँ थियो । तर, यस वर्ष बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षको खुद नाफा २ करोड ८४ लाख रुपैयाँ मात्र देखिएको छ । अर्थात, त्यतिबेलाको वित्तीय विवरण हेरेर लगानी गर्ने सेयर लगानीकर्ताहरुलाई बैंकले त्यतिबेला वेवकुफ बनाएको पुष्टी भएको छ ।

बैंकले इम्पेरमेन्ट चार्जको तथ्यांक संशोधन गर्दा खुद नाफामा फरक देखिएको हो । गत वर्ष प्रकाशित वित्तीय विवरणमा २०८१ असार मसान्तसम्मको इम्पेरमेन्ट चार्ज २ अर्ब ५९ करोड रुपैयाँ थियो । तर, बैंकले प्रकाशन गरेको बैंकको पछिल्लो विवरण अनुसार बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब ७५ करोड रुपैयाँ छ । बैंकले गरेको यस्तो संसोधनले त्यति बेला बैंकको नाफा बढी देखाउने बदनियत थियो र अहिलेको नाफा पनि पछि घटेर आउने सम्भावना बढेर गएको भन्दै सेयर लगानीकर्ताहरुले आक्रोश पोखेका छन् ।

‘बढी नाफा देखाउने, अर्को बर्ष फेरी तथ्यांक मोडेर अघिल्लो विवरणमा नाफा कम थियो, अहिले बढ्यो भनेर देखाउने काम भएको छ ।’ सेयर लगानीकर्ता सुबास पौडेल भन्छन्-, ‘यसरी त लगानीकर्ताहरु फस्दै जाने, बैंकले झुट देखाउँदै जाने र जनता गुमराहमा पारिराख्ने देखियो । इम्पेरमेन्ट चार्ज शब्दकै दुरुपयोग देखियो । लगानीकर्तालाई झुक्याउने बदनियत राखेर इम्पेरमेन्ट चार्जको व्याख्या गरेर रिपोर्ट सार्वजनिक गर्ने काम भएको छ ।’

बैंकले दिएको ऋण ग्राहकले तिर्न नसक्ने देखियो भने, त्यो ऋणबाट पाउने रकम घट्छ । यस्तो अवस्थामा बैंकले लोन लस प्रोभिजन वा इम्पेरमेन्ट चार्ज राख्छ । तर यसलाई देखाएर बैंकले सधैँ नाफा देखाउने अनि अर्को बर्ष, ‘अघिल्लो पटक होइन रहेछ, अहिलेचाहिं बढ्यो’ भनेर देखाउने गर्नु गलत भएको लगानीकर्ताहरुको ठम्याई छ ।

‘कि अहिलेको नाफा ठिक नहुन पनि सक्छ, इम्पेरमेन्ट चार्जका कारण अर्को बर्ष नाफामा ठुलो तलमाथि देखिन सक्छ भनेर कतै लेखिनुपर्थ्यो । होइन भने त यो त सिधासिधा लगानीकर्तालाई बेवकुफ बनाउने काम भयो ।’ अर्का लगानीकर्ता ब्रजेश केसीको दाबी छ ।

बैंकले भने यस विषयमा प्रतिक्रिया नै दिन मानिरहेको छैन । बैंकका सूचना अधिकारी होम बहादुर खड्काले यस विषयमा फोन गर्दा फोन नै उठाएनन् । बैंक स्रोतका अनुसार नाफामा छेडखानी गरिएकाले सेयर बजार सम्बन्धि समाचार लेख्ने संचारमाध्यमबाट फोन आएमा नउठाउन उनलाई निर्देशन दिएका छन् । बैंकका सीइओ तिलक राज पाण्डेयले पनि यो विषयमा बैंकको धारणा लिन खोज्दा फोन उठाएनन् ।

यता चार्टर्ड एकाउन्टेन्टसमेत रहेका सेयर बजार विश्लेषक मनिष अर्याल पनि यसरी नाफाको तथ्यांक नै फरक आउनु गलत भएको दाबी बताउँछन् । ‘कारण जे सुकै होस्, अघिल्लो पटकको नाफा हेरेर लगानी गर्नेहरु त मारमा परे नि त । यो बर्षको नाफा हेरेर पनि यो ठिक छ भन्ने ठाउँ नै रहेन । अर्को पटक पनि फेरी पोहोरको नाफा संसोधन नहोला भन्न कहाँ सकियो र ? यो गलत भयो ।

पछिल्लो समय विभिन्न लुपहोललाई देखाएर बैंकहरुले नाफाको ‘फिगर’ तलमाथि पार्ने काम गरिरहेका छन् । राष्ट्र बैंकले यस्तो कुरालाई दुरुत्साहन गर्नुको साटो नभएको नाफा देखाउन प्रोत्साहन गरेपछि बैंकहरुले मनपरी गरिरहेको विश्लेषकहरुको दाबी छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी