काठमाडौँ । सरकारले दशैँमा गाडी भाडा नबढाउन निर्देशन दिएको छ । यसो त सरकारले यसवर्ष दशैँ/तिहारमा सार्वजनिक यातायातको भाडादर नबढाउनेबारे मन्त्रिस्तरीय निर्णय नै भइसकेको छ ।
सोही निर्णय अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले समेत यातायात व्यवसायीहरुलाई दशैँमा सार्वजनिक यातायातको भाडा नबढाउन निर्देशन दिएका छन् । तर, यातायात व्यवसायी भने दशैँको मौकामा भाडा बढाउन मरिहत्ते गरिरहेका छन् ।
उनीहरुले लामो समयदेखि सार्वजनिक यातायातको भाडादर समायोजन हुन नसकेको भन्दै यसवर्ष भाडा समायोजन हुनुपर्ने माग राखेका छन् । अर्थात, यातायात व्यवसायीहरु कुनै पनि हालतमा यसपालिको दशैँमा गाडीभाडा बढाउने तयारीमा छन् ।
यसरी सरकार र यातायात व्यवसायीबीच भाडादरका विषयमा कुरा नमिल्दा अग्रिम टिकट बुकिङ प्रभावित हुने सम्भावना प्रबल देखिएको छ । यसो त सरकारले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुला गर्ने जनाएको थियो । तर, भाडा समायोजन नभए अग्रिम टिकट बुकिङ खुला नहुने यातायात व्यवसायीको चेतावनीपछि हालसम्म अग्रिम टिकट बुकिङ कहिले खुल्छ ? भन्ने टुंगो लागेको छैन ।
यसरी भाडादरका विषयमा सरकार र यातायात व्यवसायीबीच कुरो नमिलेपछि दशैँ मनाउन उपत्यकाबाट गाउँ जानेहरु अन्यौलमा परेका छन् ।