काठमाडौं । नेपालको पूँजीबजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) विगत लामो समयदेखि नेतृत्वविहिन छ । सेबोनका तत्कालिन प्रमुख भिष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको आईपिओ प्रिमियम मूल्य थपेर निष्कासन गर्ने प्रकरणमा अनियमितता गरेको आरोपमा निष्कासनमा परे । हाल अर्थमन्त्रालय सेबोनमा रिक्त रहेको प्रमुखको पदपूर्ति गर्ने प्रकियामा छ ।
पूँजीबजारको अभिभावकका रुपमा चित्रण गरिएको र प्रचार गरिएको संस्था सेबोनको बागडोर सम्हाल्नका लागि “खुल्ला प्रतिस्पर्धा” मार्फत दर्जनौं आकांक्षीहरुको निवेदन परेको खवर संचारमाध्यममार्फत आएका छन् । हालै आएर सेबोनको प्रमुख छनौट गर्न मन्त्रीपरिषदले नयाँ सिफारिस समिति गठन गर्न लागेको खबर पनि आएको छ । आमलगानीकर्ताले पूँजीबजारको संरक्षक संस्था भनिएको सेबोन हाँक्ने लायक ब्यक्तिको व्यग्र प्रतिक्षा गरिरहँदा पृष्ठभूमीमा भने लेनदेनको पुरानै फोहोरी खेल पुनरावृत्ति हुने संकेत पनि देखिएको छ ।
लगानीकर्तालाई झुक्याउनका लागि “खुल्ला प्रतिस्पर्धा” मार्फत गरिने भनिएको यो अपारदर्शी छनौट प्रकिृया राजनीतिक भागबण्डा र लेनदेनद्वारा तय हुने गरेका विगतका छनौट प्रकिया जस्तै हुने लगभग पक्कापक्की छ । संचारमाध्यमामार्फत आएका सूचनाका आधारमा ५ करोड रुपैयाँ बराबर मूल्य भएको भनिएको यो कुर्षीले अन्नतः लगभग ४० खर्बको नेपालको पूँजीबजारलाई विगतमाझैं गिजोल्ने डरले लगानीकर्तालाई सताउन थालेको छ ।
लगानीकर्ताले तिरेको कमिसन तथा कर संकलन गरेर चलेको सेबोन र लगानीकर्ताकै पैसाले आफ्नो घरपरिवार चलाएका यसका कर्मचारीको मूल उद्देश्य लगानीकर्ताको हकहित संरक्षण र पूँजीबजारको सुधार तथा दिगो विकास हुनुपर्ने हो । पूँजीबजार विरोधी तत्वको पहिचान र त्यसउपर न्यायोचित दण्डसजायको ब्यवस्था गर्नु पनि सेबोनको काम कर्तव्य हो । यद्यपी आफ्नो दुनोमात्र सोझ्याउने प्रबृति भएको सेबोनको कर्मचारीतन्त्र र ५ करोडको मूल्य भएको भनिएको त्यो कुर्षिमा बस्न आउने पात्रहरु र तिनका प्रबृत्तिहरुबाट पूँजीबजारको सुधार र विकासको अपेक्षा गर्नु दिवाश्वप्न देख्नु जस्तै हो ।
नेपालको पूँजीबजारको विगतको र हालको परिदृष्य फरक छ । विगतमा केहि सम्भ्रान्त ब्यक्ति र व्यापारिक घरानाबीच सिमित रहेको नेपालको पूँजीबजार हाल आएर दुरदराजका सामान्य परिवार र विदेशमा मिहिनेतका पसिना बगाउने आमनेपालीको पहुँचमा आएको छ । यसको अर्थ पूँजीबजारको संबेदनशिलता बढेको छ । नियामक निकायको प्रत्येक निर्णयमा आमनेपालीले थोपाथोपा गरेर सिंचित गरेको पूँजीको भविश्य निर्भर छ । तसर्थ आजका दिनमा “५ करोडको कुर्षी” मा बस्न लालायित भएर सेबोनको नेतृत्व हाँक्न आउने ब्यक्तिले आफ्नो अभिष्ठमात्र पुरा गर्छु भन्ने सोच लिएर आउन लागेकोे छ भने त्यो उसको महाभूल हुनेछ ।
लगानीकर्ताका संगठन बरमझियाका पेडा पसल
पूँजीबजारको सुधार र विकासको लागि खुलेका र खोलिएका लगानीकर्ताका हकहित संरक्षण गर्ने संस्थाहरु र सेवोनबीचको दोहोरी अझै जारी छ । सप्तरीको बरमझिया भन्ने ठाउँमा “असली बूढाको पेडा पसल” का बोर्डहरु झुण्डिएजस्तै यी संस्थाहरुपनि आफूलाई असली साबित गर्न तल्लिन देखिन्छन् । हालै आएर बजारमा केही नयाँ बोर्डहरु पनि थपिएका छन् । तारे होटलमा कार्यक्रम गरेर विज्ञप्ति निकाल्ने परिपाटि भएका यी संस्थाहरुले वर्षौदेखि आमलगानीकर्ताको आँखामा छारो हाल्ने काम गरेका छन् ।
पोलिसि एक्सेसका लागि जन्मिएका यी सुकिलामुकिलाका संस्थाले समयक्रमसँगै आएका सेयर अभौतिकिकरण प्रकिृया (डिम्याट), अनलाईन प्रणाली (टिएमएस), ब्रोकर कमिसनको कटौति, आदीलाई प्रचारप्रसारका माध्यम बनाएका छन् । तर, वास्तवमै सेबोनले तत्काल गनुपर्ने पूँजीबजार सुधारका महत्वपूर्ण कार्यहरु भने विभिन्न बहानामा ओझेलमा परेका छन् । प्रेस विज्ञप्ति जारी गरेका भरमा र ज्ञापनपत्र बुझाएका आधारमा यो “५ करोडको कुर्षी” बाट पूँजीबजारको सुधारका कार्यहरु तत्काल हुनेवाला छैन् भनेर यी लगानीकर्ताका संस्था भनिएका र यीनका पदाधिकारीहरुलाई राम्ररी हेक्का छ ।
सशक्त र निस्वार्थ आन्दोलनको आवश्कता
पूँजीबजार सुधार सम्बन्धी मागहरु राखेर विभिन्न समयमा भएका विरोध कार्यक्रमहरु बीचमै तुहिएका प्रसस्त उदाहरणहरु छन् । यी विरोधका कार्यक्रमहरु के कति कारणले तुहिए भन्ने कुराको स्पष्ट जवाफ ईतिहासको गर्भमै रह्यो । कार्यक्रमको नेतृत्व लिने व्यक्तिले हरेस नै खाएर हो वा आफ्नो अभिष्ठ पुरा भएर हो भन्ने प्रश्नको जवाफ समयक्रमसँग आउने नै छ ।
अन्याय र अत्याचारको सिमा नाघेपछि त्यसको विरुद्घमा हुने आन्दोलनको आँधीबेहरी फरक प्रबृत्तिको हुन्छ । यस्तो आन्दोलन सशक्त र स्वस्र्फूत हुन्छ । नेपालको पूँजीबजारको सुधार र विकासकालागि पनि एक सशक्त र निस्वार्थ आन्दोलनको आवश्कता महसुस भएको छ । आमलगानीकर्ताको धैर्यताको बाँध टुट्न लागेको छ । तसर्थः हामी यस्तो सशक्त र स्वतस्फुर्त आन्दोलनको संघारमा छौं । (लेखक विकास केसी लगानीकर्ता तथा विराटलक्ष्मी विकास बैंकका पूर्व संचालक हुन्) ।