×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक संस्थानको सञ्चालन आय चार खर्ब ३५ अर्ब

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सार्वजनिक संस्थानको सञ्चालन आय चार खर्ब ३५ अर्ब

Artha Sarokar

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले नागरिकका लागि सहजरुपमा सेवा उपलब्ध गराउन स्थापना गरेका सार्वजनिक संस्थानका कुल सञ्चालन आय रु. चार खर्ब ३५ अर्ब १७ करोड ३९ लाख पुगेको छ । गत आर्थिक वर्षको कुल सञ्चालन आय रु. चार खर्ब २८ अर्ब ७१ करोड ३४ लाख रहेकामा यस्तो आय आव २०७७/७८ मा एक दशमलव ५१ प्रतिशतले बढेको शनिवार सार्वजनिक गरिएको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षामा उल्लेख छ ।

अघिल्लो आवको तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ४५ दशमलव ४२ प्रतिशतले कमी आई आव २०७७/७८ मा रु. २६ अर्ब ३५ करोड ८८ लाख पुगेको छ । त्यस्तै सरकारलाई आव २०७७/७८ मा रु. छ अर्ब ७२ करोड १४ लाख लाभांश प्राप्त भएको छ । जुन अघिल्लो आवका तुलनामा ५२ दशमलव ३३ प्रतिशतले घटि हो ।

सार्वजनिक समीक्षामा आव २०७७/७८ मा संस्थानको सञ्चित नाफा गत आवको तुलनामा तीन दशमलव ३५ प्रतिशतले बढेर रु. एक खर्ब १३ अर्ब ५६ करोड ५९ लाख पुगेको उल्लेख छ । त्यस्तै सञ्चित नोक्सानी अघिल्लो आवका तुलनामा ३६ दशमलव ३६ प्रतिशतले कमी आई रु. २१ अर्ब ७८ करोड ६६ लाख कायम रहको देखिन्छ । जसअनुसार सबै संस्थानको सञ्चित नाफा अघिल्लो आवकोभन्दा २१ दशमलव ५४ प्रतिशतले बढेर रु. ९१ अर्ब ७७ करोड ९३ लाख पुगेको देखिन्छ ।

सरकारको पूर्ण वा अधिकांश स्वामित्व रहेका संस्थानमध्ये २२ संस्थान नाफामा सञ्चालित रहेको र अन्य १९ संस्थानले घाटा व्यहोरिरहेका छन् । नाफामा रहेका संस्थानका खुद नाफा समेत ४० दशमलव ३० प्रतिशतले र नोक्सानीमा चलिरहेका संस्थानका खुुद नोक्सानी तीन दशमलव ६१ प्रतिशतले बढेको सार्वजनिक विवरणमा उल्लेख छ । जसमा सार्वजनिक संस्थानको प्रशासनिक खर्च दुई दशमलव ३८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा सरकारको यस्ता संस्थामा कुल लगानी रु. पाँच खर्ब ६७ अर्ब २८ करोड ८६ लाख पुगेको छ ।

१० उद्योगमध्ये एक नाफामा

सरकारले संस्थानहरुको कारोबारलाई औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी तथा वित्तीय गरी छ क्षेत्रमा विभाजन गरेको छ । जसमा औद्योगिकतर्फ सञ्चालनमा रहेका १० संस्थानमध्ये जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडबाहेक अन्य संस्थान खुद नोक्सानीमा रहेको विवरणमा देखिन्छ । जसले यस क्षेत्रको समग्र खुद नोक्सानी रु. ९४ करोड ९६ लाख पुगेको छ । समीक्षा अवधिमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको रु. एक करोड ९१ लाख सञ्चालन नाफा कमाएको छ भने बाँकी नौ उद्योगको सञ्चालन नोक्सानमा रहेको छ ।

व्यापारिक क्षेत्रको सञ्चित नाफा घट्यो

सरकारको लगानीमा सञ्चालनमा रहेका व्यापारिक क्षेत्रका चार सार्वजनिक संस्थानको सञ्चित नाफा अघिल्लो आवका तुलनामा घटेको छ । आव २०७६÷७७ मा यस क्षेत्रको कुल सञ्चित नाफा रु. २१ अर्ब ४७ करोड ९१ लाख रहेकामा समीक्षा अवधिमा ११ दशमलव ७३ प्रतिशतले कमी भई रु. १८ अर्ब ९५ करोड ९२ लाख रहेको छ । कृषि सामाग्री कम्पनी लिमिटेड बाहेक यस क्षेत्रका बाँकी संस्थाहरु खुद नोक्सानीमा रहेका छन् ।

त्यस्तै सेवा क्षेत्रमा सञ्चालनमा रहेका ११ सार्वजनिक संस्थानको कुल सञ्चालन आय ३५ दशमलव ९५ प्रतिशतले घटेर समीक्षा अवधिमा रु. १४ अर्ब ५६ करोेड १८ लाख पुगेको छ । नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको आव २०७६/७७ को तुलनामा २०७७/७८ मा क्रमशः ३६ दशमलव ०६ र ४३ दशमलव ६२ प्रतिशतले सञ्चालन आयमा कमी आएकाले समग्र क्षेत्रमा प्रभाव परेको विवरणमा उल्लेख छ ।

सामाजिक क्षेत्रमा रहेका पाँच सार्वजनिक संस्थानहरुको कुल सञ्चालन आय आव २०७७/७८ मा अघिल्लो आवको तुलनामा १२ दशमलव ०५ प्रशितले बढेर रु. दुई अर्ब ८१ करोड २९ लाख पुगेको छ । त्यस्तै पाँच सार्वजनिक संस्थान रहेको जनोपयोगी क्षेत्रको कुल सञ्चालन आय रु. एक खर्ब सात अर्ब ४० करोड ८६ लाख पुगेको छ । जुन अघिल्लो आवको तुलनमा तीन दशमलव ६२ प्रतिशतले बढी हो ।

नेपाल विद्युत प्राधिकरण र नेपाल दुरसञ्चार कम्पनीको सञ्चालन आयमा क्रमशः तीन दशमलव ५२ र तीन दशमलव ८० प्रतिशतले वृद्धि हुँदा समग्र जनोपयोगी क्षेत्रको सञ्चालन आय बढेको देखिन्छ । यस क्षेत्रको कुल सञ्चित नाफा अघिल्लो आवको तुलनामा नौ दशमलव ६९ प्रतिशतले बढेर रु. ५५ अर्ब २५ करोड तीन लाख पुगेको छ ।

वित्तीय क्षेत्रमा सञ्चालनमा रहेका नौ संस्थाको कुल सञ्चालन आय अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा १४ दशमलव ३४ प्रतिशतले कमि आएको तथ्याङ्क छ । यस क्षेत्रमा सबैभन्दा धेरै सञ्चालन आय राष्ट्रिय वाणिज्य बैंकको रु. १६ अर्ब २२ करोड ९१ लाख रहेको छ । सार्वजनिक विवरणानुसार सरकारको प्रत्यक्ष लगानीमा सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये वित्तीय क्षेत्र, जनउपयोगी क्षेत्र र अन्य क्षेत्रका केही संस्थानको मात्र सञ्चालन नतिजा राम्रो देखिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी