काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडपछि मुलुकको अर्थतन्त्र दोब्बर स्पिडमा दौडाउँदा हाल लगानीका लागि रकम अभाव भएको बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)ले आयोजना गरेको ‘अर्थतन्त्रको चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।
विगतमा दिर्घकालीन असरलाई ख्यालै नगरी लिइएको निर्णयका कारण आजको अर्थतन्त्र संकटमा पुगेको अध्यक्ष गोल्छाले बताएका छन् । ‘अर्थतन्त्रको बस ‘इन्जिन’ बिग्रदा कोभिडको समयमा रोकिएको थियो, बिस्तारै बस हिँड्न थाल्यो । तर, स्पिड लिमिट ४० मात्र थियो, हामी डबल स्पिडमा दगुर्यौं’, उनले भने, ‘स्पिड बढी भएपछि दुर्घटना हुने पिरले रेगुलेटरले झ्याप्प ब्रेक हान्यो, झ्याप्प ब्रेक हान्दा कसैको टाउको फुट्यो, कसैको खुट्टा भाच्चियो र कोही त आत्महत्या गर्नको लागि पनि बाध्य भए ।’
अध्यक्ष गोल्छाले चालु पूँजी कर्जा निर्देशिकाले पनि अर्थतन्त्रलाई झनै शिथिल बनाएको बताएका छन् । चालू पूँजी निर्देशिका आवश्यक भए पनि लागू गने समय सही नभएको बताएँदै उनले अझै पनि निर्देशिकामा केही संशोधनको आवश्यकता भएको उल्लेख गरेका छन् ।
त्यस्तै, गोल्छाले ४ १२ को नीतिले पनि नेपालको अर्थतन्त्रमा असर गरेको बताए । ‘नियमनका नाममा एकैचोटी ४ १२ को नीति ल्याउँदा क्यापिटल मार्केटमा धेरै ठूलो असर परेको छ’, उनले भने, ‘यसबाट सरकारले ठूलो राजस्व गुमाएको छ, जुन मुलुकको अर्थतन्त्र शिथिल हुनुको एउटा कारण पनि हो ।’
त्यस्तै, सरकारले आयातमा प्रतिबन्ध लगाए पनि धेरै बस्तुहरु अवैध च्यानेलबाट नेपाल भित्रिएको बताउँदै अध्यक्ष गोल्छाले यसबाट सरकारले राजस्वको ठूलो हिस्सा गुमाएको समेत उल्लेख गरेका छन् ।
हाल लघुवित्त र सहकारी क्षेत्र गम्भीर समस्या रहेको अध्यक्ष गोल्छाको भनाई छ । अर्थतन्त्रको चक्र घुमाउने महत्वपूर्ण छडीका रुपमा रहेका लघुवित्त र सहकारी समस्यामा पर्दा मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको पनि अध्यक्ष गोल्छाले बताएका छन् ।