आज १४ फेब्रुअरी अर्थात प्रेम दिवस । यो प्रेमिल अवसरमा हामी बैंकर मनोज ज्ञवालीको प्रेम कथा प्रस्तुत गर्दैछौँ । प्रस्तुत छ उनीसँगको कुराकानीमा आधारित उनको प्रेमकथा :
यो प्रेम भन्ने चीज पनि अचम्मको हुँदोरहेछ । कस्तो- कस्तो ! मिल्छ भनेर सोच्दै नसोचेको कुरालाई पनि मिलाउने तागत भएको । दुनियाँ पूरै एकातिर, हुँदापनि सबै दुनियाँलाई आफैंतिर तान्न साहस भएको । ढुंगालाई नौनी बनाउन सक्ने अनि प्राप्तिका लागि नौनीलाइ ढुंगा बनाउन सक्ने । साच्चै अचम्मको छ यो प्रेम भन्ने चीज । तर जति अचम्मको छ, त्यति नै सुन्दर छ, त्यति नै मिठो छ, त्यति नै बलवान छ । र त सारा दुनियाँ प्रेममा अडिएको छ ।
सिए पढ्न भनेर भारत हानिएको म, मसँग जीवनमा केहि गर्ने खास हुटहुटी थियो । र त खुब मेहेनत गरिरहेको थिएँ । सायद जीवनमा सोचेको थिईन होला, पढाईका लागि गएको अध्ययनभूमिबाट, करियरको सुभारम्भमात्र होइन जीवनभर साथ दिने साथी पनि पाउँछु भनेर । उखानै छ नि, जन्म, विवाह, र मृत्यु माथिबाटै लेखेर आएको हुन्छ । सायद मेरा लागि जीवनसाथी त्यहि ठाउँका लागि लेखिएको थियो ।
म भारतको लखनउ बस्दा सिए पढ्दै थिएँ । पढाई पूरा गर्नु थियो, र त खुब मेहेनत गर्दै थिएँ । अझै पनि सम्झन्छु, समय तीजको थियो । भारतमा बस्ने नेपालीहरुले नेपालमा मनाइने हरेक चाडपर्व मनाउने कुरा नौलो रहेन । भारतको लखनउमा बस्ने हामी प्राय: नेपाली एकै ठाउँमा भेट्ने कार्यक्रम थियो । तीजको रमझममा सबैजना आ-आफ्नै धुनमा थिए । त्यहि रमझममा सँगै थिईन संगीता, जसलाई म पहिलो पटक देख्दै थिएँ ।
आखिर यो प्रेम भन्ने चीज यस्तै रहेछ, पहिलोपटक भेटेको भए पनि बर्षौंदेखिको आत्मीय प्रेमिल सम्बन्धजस्तो, उनलाई देखेपछि भावना तरङ्गहरुले मनमा डेरा जमाउन थाले । कसैले पहिलो हेराईमा पनि माया बस्छ र ? भन्ने प्रश्न गर्यो भने, त्यसको सबैभन्दा मिठो उत्तर थियो सायद उनीसँगको सो भेट । कुनै सिनेमामा हिरो र हिरोइनबीच पहिलो भेटमै माया बसेको खुब हेरेको थिएँ, तर आज मेरा लागि यो कुनै फिल्मको कहानी थिएँ, तर यथार्थता थियो ।
उनलाई देख्ने बित्तिकै यस्तो लाग्यो, कि उनी मेरै हुन् । भगवानले उनलाई मेरै लागि पठाएका हुन् । उनको रुप देख्दा यस्तो लाग्यो कि, संसारमा यति सुन्दर मान्छे बनेकै छैन । संसारमा उनको भन्दा राम्रा आँखा कसैको छैन, उनको भन्दा राम्रो मुहार कसैको छैन, अहँ कसैको छैन उनको जस्तो सुन्दर कपाल । हुनै सक्दैन कसैको उनको जस्तो नशालु हेराई । आखिर कुनै कहानीमा सुनिएको प्रेमिल अनुभव आज आफ्नै जीवनमा भोग्दै थिएँ म । र त हेरिरहें उनलाई, अनुभव गरिरहें उनको सुन्दरता, र भित्रैबाट पलाएको मायाको आभाष गरिरहें । सायद नजानेरै पनि पहिलो भेटमा अगाध मायाको सागर उनकै लागि तयार गरेँ मैले ।
म मनमा लागेका कुरा आज पनि खुलेर भन्छु । मलाई आज पनि धेरै साथीभाईले तँ फ्याट्टै बोल्छस् भन्छन्, हुन पनि मेरो स्वभाव नै यस्तो छ । पहिलो हेराईमै यति धेरै माया बसेपछि, त्यो माया प्राप्तिका लागि के के गर्नुपर्छ, म सबै कुराका लागि तयार थिएँ । र त मैले मनभरी आशा र आफैंप्रतिको आत्मविश्वासले उनलाई प्रेमिल दुनियाँको सहयात्री हुन प्रस्ताव गरेँ । मेरो भाग्यले जित्यो वा उनीप्रतिको चोखो प्रेमले जित्यो थाहा छैन, तर उनी मेरो प्रेम प्रस्तावलाई स्वीकार्न राजी भईन् ।
अव म थिईन, हामी थियौं । अव सपना मेरा थिएनन्, हाम्रा थिए । यो संसारमा म अव एक्लो थिईन, उनी थिईन् । त्यो विरानो शहरमा अव मेरो पनि कोहि खास मान्छे थियो । मलाई बुझ्ने कोहि मेरो आफ्नो मान्छे थियो । हो मेरो साथमा उनी थिईन् । हाम्रो प्रेम यति झाङ्गियो कि के भनौं, यो संसार हाम्रै लागि मात्र टिकेको छ जस्तो लाग्थ्यो मलाई । उनीसँगको प्रेमलाई महसुस गर्दै गर्दा मलाई यस्तो लाग्थ्यो कि पूरै हावा हाम्रै लागि चलिरहेको छ, नदीमा पानी हाम्रै लागि बगिरहेको छ, रुखका पातहरु हाम्रै लागि हल्लिएका छन्, आकाशको जून हाम्रै लागि बलिरहेको छ ।
तर सजिलो थिएन यो प्रेमलाई विवाहको रुप दिन । उनी मगरकि छोरी, म ब्राह्मणको छोरो । अहिले त देशका कति धेरै ठाउँमा जातपातको कुरा हुन्छ भने त्यो समय त झन् फरक थियो । एउटा ब्राह्मणको छोरोले कथित तल्लो जातकि छोरीलाई विवाह गर्नु भनेको अपराधझैं मानिन्थ्यो । कहिलेकाहीं लाग्छ- अहिले भएको भए कति सजिलो हुन्थ्यो होला, यो समाजलाई मनाउन । थोरै मेहेनतले पनि घरमा सबैजना सजिलै कन्भिन्स हुन्थे होला । तर अहँ त्यो बेलाको स्थिति सहज थिएन । उनलाई सदासदाका लागि मेरो बनाउनु, हाम्रो विवाह गर्नु र हामी पति पत्नी हुनु त्यो बेला कुनै सानोतिनो महाभारत नै थियो ।
तर प्रेम भन्दा बलियो चीज के हुन्थ्यो र ? संसारका सबै शक्तिहरुसँग लड्ने आँट हुँदो रहेछ प्रेममा । संसारका सबैसँग लडेर म हाम्रा लागि सबैलाई जित्छु भन्ने आत्मविश्वास हुँदो रहेछ प्रेममा । सबै नदीहरु तर्छु तिम्रा लागि, सबै काँडाहरु चिचोल्छु तिम्रा लागि, सबै पहाडहरु फोर्छु तिम्रा लागि, सबै र सधैं तिम्रो हुन हुन सबैखाले चुनौतीहरुको सामना गर्छु भन्ने शाहस हुँदो रहेछ प्रेममा । र त म संगीतासँगको प्रेमलाई सफल बनाउन यतिकै आत्मविश्वास लिएर अघि बढेको थिएँ ।
संसारमा सबैभन्दा आफ्नो अनुभूत गरेको मान्छेलाई म, मबाट कसरी अलग राख्न सक्थ्यें र । म सबै कुरामा आँटीलो भए पनि उनलाई छोड्ने कुरा म सोच्न पनि सक्ने अवथामा थिईन । त्यो सम्भव पनि थिएन । म मेरो मुटुलाई पर राखेर कसरी धड्किन सक्थ्यें र ? मेरो धड्कनबाट टाढा भएर म कसरी जीवित हुन सक्थ्यें र । जसको अनुपस्थितिमा म सधैं एक्लो हुन्थेँ, र जसको उपस्थितिमा म सारा संसार मै भित्र पाउँथ्यें, उसलाई कसरी छुट्टै राखेर म, मभित्रको म हुन सक्थ्यें र ! अहँ, कुनै पनि हालतमा उनीसँग अलगिने सोच थिएन । न आँट थियो, न सम्भव नै ।
उनीसँग छुट्टिने मन कहिले हुन्नथ्यो । एक दिन उनीसँग नबोल्दा, खै के नपुगे नपुगेजस्तो हुन्थ्यो । रुखका पातहरु दिक्दार मानिरहेका छन् र आकाशको जुन पनि दिक्क मानेर फगत बल्नका लागि मात्र बलिरहेछ जस्तो लाग्थ्यो उनीसँग टाढा भएको क्षण । र पनि जीवनका केहि बाध्यताहरुका कारण यस्ता नमीठा अनुभूतिहरु हुने नै भए । म सिए पढ्न भारत आएको थिएँ, सिए पास भएपछि नेपाल फर्कनु नै थियो । भर्खर पढाई सकेको, जागिर खोज्नु थियो, पैसा कमाउनु थियो, आफु सेटल हुनु थियो । आफुले सजाएर मनमा राखेको प्रेमलाई सबैका अगाडी उ मेरो दुलही हो भन्न सक्नु थियो ।
नेपाल फर्कंदै गर्दाको त्यो समय, सम्झेर अझै पनि सार्है नमिठो लाग्छ । र पनि बाध्यताको कसीमा रुमलिएको जिन्दगीलाई सबल बनाउन म नेपाल फर्कनु नै थियो । उनले थोरै बोलिन् होला, तर उनका आँखाले नजाउ न मलाई छोडेर भनिरहेका थिए मलाई । उनको अनुहारले तिमी गएपछि मेरो अस्तित्व के होला र मनोज भनेर सोधीरहेझैं लाग्थ्यो । उनका टिल्पिलाएका आँखाले पनि मलाई तिमी नजाउ न भनिरहेका थिए । उनको हातको स्पर्शले तिमी विना म यो शहरमा एक्लै कसरी रहुँला भन्ने सन्देश दिईरहेको थियो । आज सम्झन्छु, हरेक दिन त्रिभुवन विमानस्थलबाट कसैले आफ्नो प्रेमलाई कसरी बिदा गर्दोरहेछ । आज अनुभूत गर्न सक्छु, म आफ्नो देश फर्कंदै थिएँ, तर परदेशिन लागेको एउटा परदेशीलाई आफ्नी प्रेमिकाले छिट्टै फर्कनु ल भनेझैं अवस्था थियो मेरो । सार्है कष्ट भए पनि, मनलाई सम्हाल्नुको विकल्प थिएन ।
‘संगीता म तिमीलाई लिन आईहाल्छु नि । हाम्रो फोनमा कुरा भईहाल्छ नि । चिठी लेखिहाल्छु नि म ।’ मैले सम्झाउन खोजें । आखिर फोनका बातमा सँगै रहनुको आनन्द कहाँ हुन्थ्यो र । चिठीपत्रमा प्रेमिल स्पर्शको सुख कहाँ हुन्थ्यो र ! र पनि मसँग विकल्प पनि त थिएन । म बिदा मागेर नेपाल फर्किएँ । उनले मुटुलाई कठोर बनाएर बिदाईका हात हल्लाईन् । मैले देखुन्जेलसम्म उनलाई हेरिरहें ।
त्यो बेला अहिलेको जस्तो अहिलेको जस्तो फेसबुक, वा भाइबरको जमाना थिएन । खुब चिठी लेखिन्थ्यो । ‘प्यारी संगीता’ भनेर उनलाई सम्बोधन गरी चिठी लेखेको अझैपनि झल्झल्ती याद छ । त्यो प्रेमको मज्जानै बेग्लै, त्यो दु:खको आनन्दनै फरक, अनौठो तर संसारमा सबैभन्दा मीठो थियो त्यो प्रेमानुभूति । टाढा रहेर पनि मान्छे कति नजिक लाग्दोरहेछ प्रेममा परेपछि । उनी भारतमा, म नेपालमा तर पनि उनी मुटुमै छिन् जस्तो । आखिर यो माया भन्ने चीज यस्तै रहेछ ।
म सिए पास गरेर नेपाल फर्किएपछि पनि उनको यादले मलाई हरेक प्रहर छटपटी हुन्थ्यो । हुनु स्वाभाविक पनि थियो सायद, आखिर संसारमा अनेक भीडमा उनी मेरी थिईन् । मेरो मुटुमा फगत उनकै याद थियो, उनकै सम्झना थियो । अहिलेको जस्तो इमेल इन्टरनेटको जमाना थिएन । खुब चिठी लेखिन्थ्यो । मनका बहहरु पोखेर संगीतालाई पठाउनुको जुन मज्जा थियो, त्यहाँ भन्दा मज्जा उनको जवाफ आयो भन्ने दिन हुन्थ्यो । प्रेमको दुनियाँमा रमाउंदै गर्दा उनको पत्र पढेको दिन लाग्थ्यो, बर्षौंसम्म भोको रहेको मैले आज चौरासी व्यंजन पाएको छु । अहँ त्यो सुखानुभूति म शब्दमा बर्णन नै गर्न सक्दिन ।
सिए पास गरिसकेपछिका केहि समय संघर्षपूर्ण भएपनि त्यति बेला सिए पास गरेर नेपाल फर्किएको भनेपछि कम्ती सान हुन्न थियो । समय र मेहेनतले साथ दियो । नेपालमा राष्ट्र बैंकमा जागिरको आवेदन दिएँ । जागिर मिल्यो । आज पनि राष्ट्र बैंकको जागिरमा पावर नलगाई हुन्न भन्ने सुन्दा म त्यसको प्रतिवाद गर्छु । किनकि राष्ट्र बैंकको जागिरमा आवेदन दिंदा सायद मसँग म बाहेक कोहि थिएन ।
जागिर मिलेपछि त छुट्टै जोश आयो, छुट्टै आँट आयो । अव त संगीतालाई मज्जाले पाल्न सक्छु भन्ने साहस आयो त्यतिबेला । र त संगीतालाई आउ संगीता अव विवाह गरौँ भनेर बोलाएँ । राष्ट्र बैंकको जागिर छ, तिमीलाई पाल्न सकिहाल्छु नि भनेर ढाडस दिएँ । मैले आउ, विवाह गरौँ, भनेको दिन उनको जवाफी मनोभावलाई म अझै पनि बुझ्न सक्छु । हामी खुसी थियौँ । किनकि हामी एक हुँदै थियौं ।
संगीताले घरमा सुनाईन् । मेरो फोटो देखाईन्, मेरा बारेमा भानिछिन्, उनको परिवारमा सबै खुसी भएछन् । हेर्दा भर्खरको ठिटो, त्यो पनि सुन्दर, जागिर नेपाल राष्ट्र बैंकको, छोरीले मन पराएको सुशील, र भलाद्मी केटो । छोरीको च्वाइस गज्जब लाग्यो रे संगीताका बाबु- आमालाई । नेपाल राष्ट्र बैंकको जागिरको यतिसम्म सान थियो बेला कि ओहो फलानो त राष्ट्र बैंकको जागिर पो हो भन्थे धेरैजनाले । यसले पनि छुट्टै आत्मविश्वास दियो सायद, संगीताको परिवारलाई । संगीताको परिवार संगीतालाई मलाई सुम्पिन तयार भयो । संगीताका भाइ आफ्नी दिदीको हात मलाई सुम्पिन काठमाडौँ आइपुगे । तर यता मेरो परिवारको तनाव बेग्लै थियो ।
अहँ ! मगरकि छोरी त हुँदै हुन्न, आमा मान्नुभएन । बाबा ‘ओके’ हुनुहुन्थ्यो तर पनि घरमा छोराले ब्राह्मण केटीनै बिहे गरेको भए हुने भन्ने थियो । ‘अव हाम्रो भात-पानी’नै चल्दैन, गाउँघरकाले के भन्छन्, आमाको चिन्ता नै यहि थियो ।
तर म जिद्दी स्वभावको मान्छे थिएँ सानैदेखि । त्यसमाथि पनि आफुले चाहेको मान्छे, आफ्नो हुँदै थियो । म किन मान्थ्यें र ? जो जो आउँछन्, विवाह गर्ने निर्णय गरेँ । मगरकि छोरीसँग मनोजले विवाह गर्ने भयो रे भनेपछि कति त मेरो विवाहमै आएनन् । मेरो मामा काठमाडौँमै हुनुहुन्थ्यो, उहाँ पनि आउनुभएन ।
मेरो विवाह फाष्ट ट्रयाक मै भयो । आफन्तहरुले खास साथ दिएनन् । हुन पनि त्यो बेलाको समाज नै त्यस्तो थियो । सायद आमालाई पनि छोराको विवाह भन्दा पनि समाजको डर थियो, र त मान्नुभएन । विवाहको दिन ८-१० जना साथी बोलाएँ । गुह्एश्वरी गएर विवाह गरियो । आफन्तहरु धेरै नभएकाले विवाह लामो भएन । डेढ घण्टामा घन्टामा विवाह सकियो । ७ फन्का अग्निको फेरो लगाएर उनको सिउँदोमा सिन्दुर भरें । जूनी-जूनी साथ दिने वाचा गरेर । लाग्दै थियो आज मेरा लागि प्रेमले पनि संघघोष गरेर बधाई मनोज भनिरहेको थियो ।
आमालाई ‘भात- पानी चल्दैन’ भन्ने सबैभन्दा ठुलो तनाव थियो । तर राष्ट्र बैंकको जागिर, त्यससँगै बढ्दै गएको सफलतापछि संसार कसरी सफलताको पछि लाग्दो रहेछ भन्ने आमाले पनि बुझ्नु भयो । जात-पात त के हो र ? मन रहेछ सबैथोक, विश्वास रहेछ सबैथोक । जात-पात भन्ने त उही उबेलाका ठुलाबढाले बनाएको विवेधकारी कु-संस्कार रहेछ भन्ने कुरा आमाले बुझ्नुभयो ।
अहिले अचम्म लाग्छ यी सासुबुहारीको जतिको प्रेम कसैको हुँदैन जस्तो लाग्छ । त्यति माया छ एक- अर्कामा । कहिलेकाहीं कुनै कुरामा बहस चल्यो भने सासुले बुहारीको साथ दिने, बुहारीले सासुको साथ । आखिर समयसँगै परिवर्तन हुने रहेछ समाज पनि, मान्छेका मन पनि । र आमाबुबालाई डर फगत समाजको हुँदो रहेछ यस्तो केसमा ।
विवाह अगाडी घुम्ने मौका पनि खास मिलेन । पढाइको प्रेसर पनि थियो । विवाहपछी त सबै कुरा मिल्यो । त्यसपछी त किन १४ फेव्रुअरी चाहियो र ? खुब घुमियो । अहिले हाम्रा लागि हरेक दिन १४ फेब्रुअरी नि ! हामी प्रेममय जीवनका हरेक खुसीहरु हरेक दिन अनुभूत गर्दैछौँ जस्तो लाग्छ । अहिले एक छोरा र एक छोरी छन् । छोरी ठुली हुँदैछिन् । छोरो छुनबुने नै छ । आज पनि छोराछोरी लिएर पनि खुब घुम्न गइन्छ । सम्झन्छु, सोच्छु – आखिर यो मन त माया बस्ने घर न रहेछ । यसको के परिधि हुन्छ र ?