काठमाडौं । सरकारले विदेशबाट फर्किनेहरुले २५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०८०/८१ का बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन् । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले परिवर्तन गरेको व्यवस्था अनुसार साउन १ गतेदेखि विदेशबाट फर्किदा २५० ग्रामसम्म सुनका गहना ल्याउन पाइने भएको हो ।
योसँगै अब विदेशबाट फर्किने पुरुषले २५ ग्रामसम्म सुनका गहना कर नतिरी ल्याउन पाउनेछन् भने महिलाले ५० ग्रामसम्म सुनका गहना कर नतिरी ल्याउन पाउनेछन् । तर, महिलाले ५० ग्रामभन्दा बढी अर्थात थप १५० ग्रामसम्म सुनका गहना ल्याउनु परे त्यसको कर तिर्नुपर्नेछ भने पुरुषले २५ ग्राम कर छुटमा र थप १७५ ग्राम सुन कर तिरेर ल्याउन पाउनेछन् ।
एक सय ग्रामसम्म सुनका गहनामा प्रचलित दरअनुसार महसुल लाग्ने र त्यसभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्नेछ । तर, सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तुलाई गहनाको रुपमा मान्यता नदिइने आर्थिक ऐनमा उल्लेख छ ।
युवाले ल्याउने सुन तथा सुनका गहनाको भन्सार मूल्यांकन प्रयोजनका लागि हरेक महिनाको १ गते र १५ गते भन्सार विभागले अन्तर्राष्ट्रिय बजारबाट मूल्यसूची लिई भन्सार कार्यालयहरुमा उपलब्ध गराउने ऐनमा उल्लेख छ ।
यसअघि ५० ग्रामसम्म निःशुल्क र थप ५० ग्राममा प्रति दशग्राम ५ हजार २ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था थियो । त्यस्तै, काँचो सुन ल्याउँदा लाग्ने भन्सार शुल्क पनि बढेको छ। यसअघि ५० ग्रामसम्म काँचो सुन ल्याउँदा प्रतिदश ग्राम ५ हजार २ सय रूपैयाँ शुल्क लिइँदै आएकोमा अब ६ हजार २ पुग्ने भएको छ। त्यसपछिको ५० ग्रामसम्म प्रतिदश ग्राम ७ हजार २ सय रूपैयाँ शुल्क बुझाउनु पर्ने भएको छ। यसअघि ६ हजार २ सय रूपैयाँ शुल्क तोकिएको थियो ।