Skip to content
LAXMI SUNRISE BANK

प्रकाशकीय : अर्थ सरोकार आठौँ बर्षमा प्रवेश

अर्थ सरोकार

अर्थ सरोकार डटकमको सातौँ बार्षिकोत्सवको यो अवसरमा सम्पूर्णमा हार्दिक नमन ।

ओहो, कति छिट्टै ७ बर्ष बितिसकेछ । २०७२ सालमा गएको महाभूकम्पका परकम्पहरु आईरहेका थिए, देशको अर्थतन्त्र खास अवस्थामा छँदै थिएन, राजनीतिक अस्थिरताको भूमरीमा थिए नागरिक । देशमा केहि आर्थिक संचारमाध्यमहरु जरुर थिए, तर एक आम नागरिकको आवाज बोल्ने, वा भुईमान्छेका आर्थिक व्यथाहरु सुन्ने संचारमाध्यमको खाँचो खड्किएको थियो । रातोपाटी डटकममा बिजनेश ब्युरोमा काम गरिरहेको एक पत्रकारलाई संचारमाध्यम हाँक्ने आँट कसरी आयो म आफैंलाई पनि थाहा छैन, तर २०७३ साल साउनमा फगत आँटको उपजका रुपमा अर्थ सरोकार डटकम सुरु भयो । नगन्य लगानी, सानो समूह । अर्थ सरोकारको सुरुवाती यात्राको हाम्रो सबैभन्दा ठुलो चुनौती यहि थियो । हामीसँग थियो त बस्, खोजमुलक समाचार पस्कने हुटहुटी, र परिवर्तनको पक्षमा कलम चलाउने चाहाना । यहि हुटहुटी र चाहानाले हामीलाई आजको दिनसम्म ल्याईपुर्याएको हो ।

हामीलाई कसको प्रभावको प्रवाह थिएन । कसैको दबाबको कुनै दबदबा थिएन । कसैको लालचाको सिकार हुने सम्भावना त झन् हाम्रो रगतमै थिएन । र त प्रकाशनको पहिलो दिनदेखि नै हामी निरन्तर भुइँमान्छेका कथा लेख्न थाल्यौं, मै हुँ भन्नेहरुलाई खबरदारी गर्न थाल्यौँ । कर्पोरेट भनिएको क्षेत्रका विकृतिहरु एक-एकगरी खोतल्न थाल्यौँ । हामीलाई कुटनीति आउँदैन थियो । र त सिधै ‘जनताका मुद्धा बोक्ने हो, गलत गर्नेलाई अक्षरले ठोक्ने हो’ भन्ने नारा नै राखेर हामीले परिवर्तनका पक्षमा पृथक पत्रकारिताको अभ्यास गर्यौं ।

हाम्रो यो सत्प्रयासलाई चौतर्फी आक्रमण हुनु स्वाभाविक थियो, र हामी त्यसका लागि तयार पनि थियौँ । स्वतन्त्र पत्रकारिता गर्दा जुनसुकै मूल्य चुकाउनुपरे पनि तयार रहेको हाम्रो टिम निरन्तर आफ्नो कर्मपथमा लागिरह्यो । यो बीचमा हामीलाई समाचार रोक्न, समाचारको फलोअप नगर्न र समाचार नलेख्न आएका धम्कीहरु बेहिसाब छन् । हामीलाई तर्साउन कानुनको अपव्याख्या गरिएका थुप्रै उदाहरणहरु छन् । यतिसम्मकि समाचार खण्डनका नाममा टेबलमा पेस्तोल राखेर समाचार हटाउन दिईएको धम्की हिजोजस्तो लाग्छ । तर, नबिराउनु, नडराउनु भन्ने तथ्य बुझेका हामीले अक्षरबाटै जवाफ दियौँ, कथित हतियारलाई र असत्य झुकेरै छोड्यो हामीसँग । हिजो नेपालजस्तो देशमा यस्तो ठाडो पत्रकारिता चल्दैन र टिक्दैन भन्नेहरु, आज हाम्रै शैली, हाम्रै तरिका र हामीजस्तै बन्ने उद्देश्य राखेको देख्दा गर्व लाग्छ । हिजो यस्तो पत्रकारिताले दुर्घटना निम्त्याउँछ भनेर हामीलाई निरुत्साहित गर्नेहरु, आज, पत्रकारिता त अर्थ सरोकारले गरेको लाइन ठिक छ भन्ने गरेको सुन्दा झन् गर्व लाग्छ । समग्रमा हामीजस्तै गर्न खोज्ने धेरैको प्रयास देखेर आजभन्दा ७ बर्ष अघि हामीले सुरु गरेको प्रयास ठिक रहेछ भन्ने प्रमाणित भएको महसुस हुन्छ ।

बि.सं. २०७४ सालसम्म आईपुग्दा प्रकाशनको १ बर्षको छोटो अवधिमै हामी बजारमा पृथक आर्थिक अनलाइन संचारमाध्यमका रुपमा स्थापित भईसकेका थियौँ । शहरहरुमा, कर्पोरेट घरहरुमा, तीनका मालिकका कानमा, तिनले रमाइलो गर्ने दोकानमा, हाम्रा खबरदारीका स्वरहरु गुन्जायमान थिए । तर, हामी अझै पुग्नु थियो विकट बस्तीहरुमा, गाउँगाउँमा, जहाँ आज पनि नागरिक बैंक र सहकारी उही हो भनेर बुज्छन् । ऋणको पहुँचसम्म उनीहरु छैनन् । र त बर्षौंसम्म सार्है पीडाले हुर्काएको आफ्नो सन्तानलाई जीवनभर कमाएको पैसाले पनि नपुगेर, महँगो ब्याजमा ऋण काढेर विदेश पठाईरहेका थिए र छन् बा-आमाहरु । गाउँ-गाउँसम्म वित्तीय सचेतना पुगेकै थिएन । गाउँगाउँमा संचारमाध्यम भनेकै रेडियो भन्ने तथ्य थियो र धेरै गाउँठाउँमा अझै पनि छ । र त हामीले रेडियोलाई विकल्पका रुपमा रोज्यौं र रेडियो कार्यक्रम अर्थ सरोकारको सुरुवात गर्यौं । एक- दुई- तीन गर्दागर्दै हामी देशभरका डेढ सय रेडियोहरुबाट गुञ्जिन थाल्यौं र सो क्रम आज पनि जारी छ ।

समय र प्रविधिको परिवर्तन सँगै समाचार सामाजिक संजालबाट हेरिने क्रम बढ्यो । आज हामी देशभर रहेका आर्थिक मिडियाहरुमध्ये फेसबुकमा सबै भन्दा बढी फलो गरिएको संचारमाध्यम, युट्युबमा सबैभन्दा बढी हेरिने र सब्स्क्राईबर्स भएको आर्थिक संचारमाध्यम र टिकटकमा त झन् आर्थिक मिडियाहरुमध्ये मात्र होइन, नेपालका सबै मिडियाहरुमध्ये सबै भन्दा बढी फलोअर्स र भ्युअर्सशिप भएको संचारमाध्यम हो भन्दा हामीलाई गर्व छ । यो अगाध मायाका लागि हामी हाम्रा सम्पूर्ण पाठक, दर्शक, स्रोताहरुप्रति आभार प्रकट गर्न चाहान्छौँ । रेडियो सुनेर हाम्रो कार्यालयमा फोन गर्ने, धन्यावाद दिने, जिज्ञासा राख्ने असंख्य स्रोताको मायाले हामीलाई थप जिम्मेवार बनाएको छ ।

रेडियो कार्यक्रममार्फत हामी गाउँगाउँसम्म पुग्यौँ । अव एक आर्थिक रेडियो कार्यक्रम मात्र होइन, थुप्रै अन्य आर्थिक रेडियो कार्यक्रमहरु आउनुपर्छ भन्ने सरोकारवाला र आम स्रोताको सुझाव मनन गर्दै हामीले अर्थ सरोकार डटकममार्फत अडियो सेवाका रुपमा रेडियो अर्थ सरोकारको औपचारिक प्रशारण आरम्भ आजबाटै सुरु गरेको खबर सुनाउँन पाउँदा हामी खुसी छौँ । आजबाट रेडियो कार्यक्रम अर्थ सरोकारमात्र होइन रेडियो अर्थ सरोकारले तयार गरेका विभिन्न आर्थिक रेडियो कार्यक्रमहरु देशभरका विभिन्न रेडियोहरुबाट प्रशारण हुनेछ । र रेडियो अर्थ सरोकार अर्थ सरोकार डटकमको अडियो सेवाका रुपमा आजैबाट गाउँशहरमा गुन्जयमान भएको छ ।

पछिल्लो समय सेयर बजारका हरेक घटनाक्रमलाई नजिकबाट नियाल्ने प्रयास गरेको छ अर्थ सरोकार डटकमले । र त सेयर बजारमा हुने हरेक राम्रा कामलाई साथ दिंदै गलत कामलाई हामीले गर्ने खबरदारी जारी छ । सधैं नियामक निकायमा गलत मान्छे आउँदैनन् र राम्रो कामलाई साथ दिनुपर्छ भन्ने तथ्यमा हामी अडिक छौं । र त मिडिया प्रतिपक्षी मात्र होइन उत्प्रेरक पनि हो भन्ने आर्थिक मिडिया संचालक संघ नेपाल (इमान)को नारा अनुसार नै हामीले यो क्षेत्रमा राम्रो गर्नेहरुका राम्रा खबर खोजीखोजी सम्प्रेषण गरिरहेका छौं । नेपाल धितोपत्र बोर्डका अध्यक्षले सुरुवात गरेको परिवर्तनको प्रयासलाई चौतर्फीरुपमा आक्रमण हुँदा हामीले सत्य पस्कने आँट गरेको तथ्य यसको पछिल्लो उदाहारण हो ।

एउटा संचारमाध्यमको भूमिका फगत समाचार पस्कने मात्र होइन, आफ्ना स्रोता, पाठक र दर्शकलाई परेको हरेक समस्यामा सँगै रहनु पनि हो । र त आज देशभर हामीले सेयर सचेतना अभियान चलाएका छौं । यो अभियान अन्तर्गत देशभर सेयर तालिमको आयोजना गरेका छौं । र अर्को खुसीको कुरा त के छ भने, हामी देशभरमात्र सिमित छैनौं । बरु नेपाली सेयर लगानीकर्ता भएका विभिन्न देशहरुमा पनि पुगेर सेयर सचेतना कार्यक्रम गरिरहेका छौं । केहि समय अघि मात्र हामीले जापानको टोकियो र ओसाका शहरमा सेयर सचेतना कार्यक्रम आयोजना गर्यौं । अवको हाम्रो यात्रा दक्षिण कोरिया, कतार, दुबई लगायतका अन्य देशहरुमा पनि हुने जानकारी गराउँदछौँ ।

आजबाट हामी बेथितिविरुद्धको अर्को अभियान लिएर अगाडी बढ्दैछौं । देशलाई सुधार्न पहिला प्रशासन सुध्रिनुपर्छ, देशबाट नागरिक विदेश जान रोक्न पहिला प्रशासन सुध्रिनुपर्छ, प्रशासन नै हो देश सुधार्ने टर्निङ्ग पोइन्ट । र त आजबाट अर्थ सरोकारमा बेथितिविरुद्धको स्ट्रेट फरवार्ड अभियान सुरु हुँदैछ । हामीले आजकै मितिबाट आर्थिक क्षेत्रमा गर्ने खबरदारीलाई देशको प्रशासनको खबरदारीसँग र सम्म जोडेका छौँ । रेडियोमार्फत बित्तिय सचेतना अभियान, सेयर सचेतना अभियानजस्तै हाम्रो प्रशासन खबरदारीको यो अभियानलाई साथ दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।

अवको आठौँ बर्षको यात्रा अझ खास हुनेछ । हामी विभिन्न देशहरुमा पुगेर नागरिक किन देश फर्केनन् वा फर्कन चाहेनन् भन्ने सन्देशलाई थप शशक्त रुपमा पस्कनेछौं । जहाँ जहाँ नेपाली सेयर लगानीकर्ता, त्यहाँ त्यहाँ अर्थ सरोकार भन्ने नारा बोकेर हामी विश्वका कुना कुनामा पुग्नेछौं र सेयर सचेतना कार्यक्रम गर्नेछौं । गलत कामविरुद्ध हाम्रो खबरदारी थप शशक्त रुपमा रहनेछ । हाम्रो यो यात्रामा तपाईंको साथ सदाझैं अपेक्षा गरेका छौं ।

जाँदाजाँदै यो सात बर्षसम्म हामीलाई साथ दिने सम्पूर्ण पाठक, दर्शक, स्रोता, विज्ञापनदाता, आफ्नो जागिर नै धरापमा राखेर पनि हामीलाई सूचना दिने सूचनादाता, नियामक निकाय, स्वतन्त्र आर्थिक मिडिया संचालकहरुको छाता संगठन आर्थिक मिडिया संचालक संघ नेपाल (इमान) तथा सम्पूर्ण शुभेच्छुकहरुमा आभार प्रकट गर्दछौँ । धन्यवाद । जय नेपाल, जय अर्थतन्त्र ।

मिति २०८० साउन २० गते

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK