काठमाडौँ । गरिबी निवारणका लागि भन्दै गाउँ गाउँमा कार्य क्षेत्राधिकार बोकेर लाइसेन्स पाएका लघुवित्तहरुको बिजोग देखिएको छ यतिबेला । उ बेला बिजनेश टार्गेटका नाममा मनपरी ऋण बाँडियो । अहिले त्यहि लघुवित्तको ऋण तिर्न नसक्दा कतै परिवार भाँडियो, कतै समाज भाँडियो । त्यसमाथि आयो लघुवित्तको ऋण तिर्नुपर्दैन भन्ने संघर्ष समिति, सँगै आयो दुर्गा प्रसाईंको २० लाख रुपैयाँसम्म ऋण मिनाहाको मागसहितको आन्दोलन । अनि त, तिर्न नसकेर तनाव भएको ऋण तिर्नुनै पर्दैन भनेपछि झन् झन् ऋण बिग्रियो लघुवित्तको । परिणाम, अहिले ऋण तिर्न नसकेर गाउँ छोड्नुभन्दा बरु दुर्गा प्रसाईंको आन्दोलनमा जानु ठिक भनेर ऋणीहरु काठमाडौँ आईरहेका छन् । गाउँमा ऋण तिर्न नसक्नेहरु, सकेको गर, अव ऋण तिर्न सक्दैनौँ भनिरहेका छन् । अनि लगानी गरेको ऋण उठाउन नसकेर लघुवित्तहरुको हरिबिजोग भएको छ ।
पछिल्लो उदाहरण हेरौँ फरवार्ड माइक्रोफाइनान्स । आँखा चिम्लिएर कनिका छरेजसरी, ऋणीको क्षमता नहेरी टार्गेटका नाममा मनपरी ऋण बाँडेको यो लघुवित्त अहिले घाटामा गएको छ । ऋण तिर्नुपर्नेहरु अव ऋण तिर्दैनौं बरु दुर्गा प्रसाईंको आन्दोलनमा जान्छौं भनेर तर्किएपछि, अनि विना धितो राखिएको ऋण असुल्ने कुनै बाटो नभएपछि फरवार्ड लघुवित्तमा निष्क्रिय कर्जा तेब्बरले बढेको छ । कम्पनीले नाफा कमाउला र खाउँला भनेर आँ गरेर बसेका सेयरधनीहरुलाई जिल्लाराम पार्दै ११ करोड ९ लाख घाटामा गएको छ कम्पनी । पहिलो त्रैमासकै यस्तो हरिबिजोग भएको यो कम्पनीको घाटा आर्थिक बर्षको अन्तिमसम्म के हुने हो थाहा छैन । यसले देखाउँछ, अव लघुवित्तको भविष्यमा चुनौतीका बादलले कालो रङ पोतिसकेको छ ।
यसो त फरवार्डमात्र होइन, धेरै लघुवित्तको हालत खराब छ यतिबेला । लिएको ऋण लिनेले कसैले छोराको ब्रतबन्ध गरेर सक्काए, कतिले छोरीको विवाह गरेर । कतिले दशैं, तिहार मनाएर सक्काए, कसैले तीजको दर खाएर ऋणको पैसा सक्काए । अलिअलि व्यापारमा लगानी गर्नेहरुको पनि आर्थिक मन्दीका कारण व्यवसाय चौपट भयो, अनि ब्याज तिर्न सक्ने स्थिति नै भएन । र त देशभरका अधिकांश लघुवित्तमा समस्या छ, ऋण उठ्न सक्ने स्थिति छैन । सकारौं, धितो छैन । नसकारौं निष्क्रिय कर्जाको डाँडा काट्न थालिसक्यो । बिजोगमात्र होइन, हरि बिजोग भएको छ लघुवित्तहरुको । अझ दुर्गा प्रसाईंको आन्दोलन यसरी नै चम्किने हो भने, नेपालका अधिकांश लघुवित्त घाटामा जाने निश्चित छ ।
यो त भयो लघुवित्तको घाटाको कुरा, अव लघुवित्तमा बग्रेल्ती भईरहेका मर्जरले निम्त्याएको दुखका बारेमा पनि चर्चा गरौँ । केहि समय अगाडी एनएमबि लघुवित्तका हाकिमले मनपरी गरे भनेर तिनको राजिनामा आउनुपर्ने माग राखेर कर्मचारीहरुले आन्दोलन गरे । तिनै कर्मचारीले उठाएको ऋणले अलि अलि धानिएको बिजनेश पनि नरहने भएपछि बैंकको संचालक समितिले ती हाकिमलाई राजिनामा दिन भन्यो र उनी बाहिरिए । धन्न मथ्थर भयो आन्दोलन । तर, एनएमबिमा त मथ्थर भयो, तर आन्दोलनको सो शैली यतिबेला आशा लघुवित्तमा आइपुगेको छ । मर्जरपछी आफुहरुलाई सौतेनी व्यवहार भएको, हाकिमले रक्सी खाएर शाखामा मनपरी गरेको लगायतका आरोप लगाउँदै १९७ कर्मचारीले सामुहिक राजिनामा दिएका छन् । राजिनामा दिएपछि सो लघुवित्तका सबै काम प्रभावित भएका छन् ।
साबिकको आशा र राष्ट्र उत्थान मर्जरपश्चात् बनेको आशा लघुवित्त वित्तीय संस्थाका हाकिमहरुले पोष्ट मर्जरका समस्यालाई ध्यान नै दिएनन् । सबै समस्याको समाधान गर्ने बाचा गरेकी सीइओ समस्यालाई समाधान नगरी बरु संस्था नै छोडेर हिडीन् । अनि त्यसपछि समस्या झन् झन् बढ्यो । सामुहिक राजिनामा दिएर बिद्रोह गरेका कर्मचारीका अनुसार मर्जरपछि साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीहरुलाई सौतेनी व्यवहार भयो । काम उही, तर राष्ट्र उत्थान र आशा लघुवित्तका कर्मचारीको तलव फरक पर्यो । उहि पोष्टमा रहेकाहरुलाई पनि फरक श्रेणी बनाएर मर्जर भईसकेको संस्थामा पनि अस्वभाविक भेदभाव हुन थाल्यो । साबिकको आशा र साबिकको राष्ट्र उत्थान लघुवित्तमा काम गर्ने साथीले गर्ने काम पहि उही हो, समय पनि उही हो, तर हाम्रो तलवमा झन्डै १० हजारको फरक भयो, जसले कर्मचारीलाई डिमोटिभेट गरिरह्यो । यहाँसम्म चल्दै थियो, कर्मचारीहरु काम गरिरहेका थिए । तर केहि समयपछि त हाकिमहरुको दादागिरीले सिमा नाघ्न थालेको कर्मचारीहरुको आरोप छ । संस्थाका निमित्त प्रमुख कार्यकारी निर्देशक बद्रीप्रसाद दुलालको नेतृत्वमा कर्जा असुली तथा अनुगमन विभागका विभागीय प्रमुख रविन खतिवडा र शाखा सञ्चालन तथा तालिम विभागका विभागीय प्रमुख पुष्कर मिश्रले राष्ट्र उत्थानको शाखा निरीक्षण गर्ने बहानामा मादक पदार्थको सेवन गरी साखाहरुमा आएर कर्मचारीमाथि गलत व्यवहार गरेको कर्मचारीहरुको आरोप छ । यतिसम्मकि हाकिमहरु रातीराती अफिस आउने, हाकिम आएपछि अफिस खोल्नैपर्यो, अनि कर्मचारी राती १२ बजेसम्म पनि घर जान नपाउने स्थिति भयो । रक्सीले डुङडुङ गन्हाउने भएर धम्कीपूर्ण भाषा बोल्दै हाकिमहरुको मनपरी चर्कोसमेत हुँदै गयो, तर हाकिमहरुको रबैयाका अगाडी कर्मचारीको केहि लागेन ।
कुरा त्यतिमा मात्र सिमित भएन । कर्मचारीलाई जागिरबाट निकालिदिने, अन्त कतै पनि जागिर खान नमिल्नेगरी निकालिदिने, ‘तिमीहरु सुतेरै मात्र खान पल्केका हौ’ भनेर मनपरी बोल्ने, हतोत्साही गराउने लगायतका काम भयो । अत्ति भएपछि कर्मचारीले सल्लाह गरेर सामुहिक राजिनामा दियौँ ।’ बिद्रोहमा उत्रिएका कर्मचारीहरुका अनुसार अहिले पनि समस्या समाधान गर्नेभन्दा हाकिमहरुले हाम्रा साथीहरुलाई थर्काउने गरिरहेका छन् । एक एक गरी फोन गर्ने र ‘सबैले राजिनामा फिर्ता लिईसके, तैंले पनि लिनु, नत्र राम्रो हुँदैन’ भनेर धम्कीपूर्ण भाषा बोल्ने काम भएको छ ।
कर्मचारी भनिरहेका छन्– ‘हामी समस्याको समाधान चाहान्छौँ । तर हाकिमहरुले त्यस्तो गर्न चाहिरहेका छैनन् । हाकिमहरु पेलेरै जाने मुडमा छन् । जुन अव यसपाली सम्भव छैन ।अझ कर्मचारी भन्छन्– लघुवित्त क्षेत्रमा पूरै समस्या छ । संघर्ष समिति र दुर्गा प्रसाईंको आन्दोलनका कारण ऋण उठाउने स्थिति छैन । यस्तो अवस्थाको ख्याल नगरी हामीलाई अनावश्यक प्रेसर दिइएको छ । अरे, हामी पनि त मान्छे हौँ । हामीले हाम्रो बसबाहिरको कुरा त कसरी समाधान गर्न सक्छौँ र, होइन र ? हाम्रा मागहरु सम्बोधन गरियोस् । होइन भने, व्यवस्थापनलाई हाम्रो आन्दोलन थप भारी पर्ने निश्चित छ । तर अहँ, व्यवस्थापन समस्या समाधान गर्न भन्दा पनि यहि बाहनामा ती सबै कर्मचारीहरुको राजिनामा स्वीकृत गर्ने तयारी छ भनेर सबैलाई फोन गरेर थर्काईरहेका छन् । हाकिमले घुमाउरो पाराले समस्याको समाधान हुँदैन, तपाईं राजिनामा फिर्ता लिने कि हामी राजिनामा स्वीकृत गरिदिउं भनेर आफ्ना स्टाफहरुलाई थर्काईरहेको अडियो छरपष्ट छन् ।
हाकिमहरुको नमिल्ने भन्ने शैलीले समस्यालाई थप ठुलो बनाएको छ । निश्चित छ, यो केसमा कर्मचारीले जिते भने हाकिमहरुको पावर मथ्थर हुन्छ । कर्मचारीले हारे भने यो लघुवित्तको ऋण उठ्न साँच्चै अफ्ट्यारो हुन्छ । किनकि सदस्यलाई फिल्डमा चिन्ने भनेको त तीनै कर्मचारीले हो । लघुवित्तको बिजनेश केहि फरक प्रकृतिको हुने हुनाले ती सबै कर्मचारीहरुलाई लघुवित्तबाट निकाल्ने हो भने अर्कोपटक यो कम्पनी पनि घाटामा जाने सम्भावना अधिक रहन्छ ।
कर्मचारी भन्छन्, ‘हाकिमले पेले, यस्तो बेला ऋण उठाउन सक्ने स्थिति छैन, हामीलाई अनावश्यक दबाब आयो ।’ हाकिमहरु भन्छन्– ‘ऋण त उठाउनुपर्यो नि, संचालक समितिको प्रेसर छ, सेयर धनीको प्रेसर छ ।’ अनि फिल्डमा स्थिति यस्तो छ, कि ऋणीहरु भनिरहेका छन्– बरु दुर्गा प्रसाईंको आन्दोलनमा गईन्छ, अहँ तिरिन्न, तिर्न सकिन्न यो लघुवित्तको ऋण । अनि यो बेला कर्मचारीको तनाव उस्तै छ । ऋण उठाउन जाउँ, ऋणीले खेद्लान भन्ने पीर, ऋण नउठाउँ, जागिर जाला भन्ने पीर । पीरैपीरको पिरलोले लघुवित्तको हरिबिजोग बनाएको छ ।
यो समस्या आशा लघुवित्तबाट निराशामात्र पाएर बिद्रोह गरेका कर्मचारीको मात्र होइन, जवर्जस्ती मर्जरमा गएका थुप्रै लघुवित्तमा पनि यस्ता समस्या छन् । मात्र सो समस्याले बिद्रोहको रुप लिन बाँकी छ । ऋणी, ऋण नतिर्ने, बरु दुर्गा प्रसाईंको आन्दोलनमा जाने, कर्मचारी ऋण उठाउन नसक्ने, बरु जागिर छोड्न तयार हुने, हाकिम कराउने, थर्काउने सबै गर्ने तर ऋण उठाउ भन्ने, संचालक समिति व्यवस्थापनलाई प्रेसर दिने, घाटामा जान कम्पनी चलाएको हो र ? भन्ने, अनि सेयरधनी के काम गर्छौं तिमीहरु, किन घाटामा गयो कम्पनी भनेर कराउने । अनि यस्तो बिकराल स्थितिमा ऋणी फिल्डबाटै हराउने, कर्मचारी ऋणीसँग थुरथुर डराउने, अनि भएन त हरिबिजोग ?
लघुवित्तका यस्तै समस्याहरुको समाधान गर्नका लागि नीतिगत व्यवस्था गर्न सुझाव समितिले केहि समय अघि मात्र प्रतिवेदन बुझाएको छ । तर, सो प्रतिवेदनमा भनिएजस्तै गरी सबै कानुन बने भने पनि समस्याको तत्काल समाधान देखिन्न । किनकि अन्ततः ऋण तिर्ने ऋणीले हो, पैसा नै छैन, कहाँबाट तिर्नु । र त यो समस्या अव राष्ट्र बैंकले मात्र होइन, सरकारले पनि गम्भीर भएर लिनुपर्छ । जनताले लगानी गरेको कम्पनी डुब्नु हुँदैन । जनताले जनताकै लागि काम गरेको कम्पनीमा जनताहरुमाथि भेद हुनुहुँदैन । र इतिहास बनाईनु हुँदैन लघुवित्तलाई, जसरी सिद्धिए क्यापिटल मर्चेन्ट र नेपाल सेयर मार्केट कम्पनीहरु । यसका लागि सबैले सचेत भएर, सजग भएर, बुद्धि चलाएर अघि बढ्नुको विकल्प छैन । (भिडियो)