काठमाडौँ । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेका तेस्रो संस्करणको डिजिटल नेपाल कन्क्लेभ २०२४ सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको म्यारियट होटलमा आयोजना भएको डिजिटल नेपाल कन्क्लेभ २०२४ प्रधानमन्त्री सहित सरकारमा रहेका मन्त्री र पूर्वप्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न भएको हो ।
डिजिटल नेपालको डिजिटलाइजेसन र विकासबिचको समन्वय थिमका साथ सुरु गरिएको तेस्रो संस्करणको डिजिटल नेपाल कन्क्लेभ मार्फत प्रधानमन्त्री पुष्पकमल दाहालदेखि पूर्व प्रधानमन्त्री केपी ओलीसम्मले डिजिटल नेपालको विकासका लागि आफ्नो प्रतिवद्धता जनाएका छन् ।
कन्क्लेभको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धि हासिल गर्ने मुख्य क्षेत्रको रूपमा सूचना प्रविधिलाई पहिचान गरेर बजेटमा उच्च प्राथमिकता दिएको बताएका छन् । ‘पावर संवाद विथ नेशनल कि लिडरसिप’ सेसनमा बोल्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा प्रविधिमैत्री सेवा प्रवाह र पूर्वाधार विकासमा जोड दिएको बताएका छन् ।
त्यस्तै, ५ वर्षअघि डिजिटल नेपाल फ्रेमवर्क र नागरिक एपजस्ता रूपान्तरणकारी योजनाहरू सुरु भए पनि फेरिएको सरकारले त्यसलाई प्राथमिकता नदिएको ओलीको भनाइ छ । डिजिटलाइजेसन, विकास र नीतिगत सुधारमा समन्वय तथा तालमेल हुन नसक्दा नीतिगत विचलन हुने र टिकटक जस्ता सामान्य विषयमा अल्झिनुपर्ने स्थिति आएको ओलीले जानकारी दिएका छन् । एआइ प्रविधिको बारेमा बोल्दै ओलीले भने, ‘प्रविधिसँग हामी डराउने हैन, सदुपयोग गरेर नयाँ सिर्जना र उपलब्धि हासिल गर्ने हो, प्रविधिले जागिर खान्छ भनेर बस्ने हैन नयाँ जागिरको सिर्जना गरी छोटो समयमा अधिकतम फाइदा लिनेगरी काम गर्नेतर्फ अग्रसर हुनुपर्छ ।’
स्टार्टअप र इनोभेसनलाई जोड दिँदै ओलीले आजको जमानामा सम्पत्ति धरौटी राखेर ऋण दिने नभई आइडिया लगानी गर्नुपर्ने बताएका छन् । त्यसैगरी कन्क्लेभको पावर संवाद सेसनमा बोल्दै सञ्चारमन्त्री शर्माले पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उत्साहपूर्ण वातावरण बनेको बताइन् । सरकार, निजी क्षेत्र सबैको सामूहिक प्रयासमा सूचना प्रविधिलाई अगाडि बढाउनुपर्ने मन्त्री शर्माको भनाइ छ ।
यता अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रलाई ड्राइभ गर्न सक्ने महत्त्वपूर्ण क्षेत्रको रूपमा सूचना प्रविधिलाई पहिचान गरी रूपान्तरणकारी क्षेत्रमा समावेश गरिएको बताएका छन् । ‘आईसीटीको क्षेत्रमा हामी विश्वसँग प्रतिस्पर्धा गर्न सक्छौँ । प्रतिस्पर्धा गरी पनि रहेका छौँ । अझै यो क्षेत्रलाई प्राथमिकता दिएर तीव्र गतिमा लैजानु पर्छ भन्ने सरकारको निष्कर्ष छ । त्यसै अनुसार बजेटमा कार्यक्रम समावेश गरेका छौँ’, अर्थमन्त्री पुनले भने ।
वर्षको ठूलो प्रविधि सम्मेलनको रुपमा आयोजना भएको कन्क्लेभमा संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरु, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपहरूसहित ५०० बढीको सहभागिता रहेको थियो । यसैगरी कार्यक्रममा सहभागी र प्रस्तुतीको लागि विभिन्न देशहरुबाट टेक कम्पनीका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रमको इन एसोसिएसन विथ एनसेल, पावर्ड वाईमा द एसिया फाउण्डेसनसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, स्विस सरकार, युनएडिपी, स्मार्टन टेक्नोलोजी, नबिल बैंक, ग्लोवल आइएमई बैंक, इसेवा, इन्फोडेभलपर्स, ह्वावे, आईएमई पे, ब्रोडवे, टेक्नोरियो बिट्सक्राफ्ट लगायतको सहयोग रहेको थियो ।