- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । दुःख सबैलाई पर्छ । सबै सँधै सुखमा हुँदैनन् र सबैले दुःखलाई साथी बनाउन पनि सक्दैनन् । दुःखलाई त्यो मान्छेले चिनेको हुन्छ, जो त्यसको नजिक हुन्छ र त्यहि मान्छेले दुःखलाई जित्छ, जसले त्यसलाई साथी बनाएर अगाडी बढ्ने साहस गर्छ । तर कोहीका दुःख यस्ता हुन्छन्, जुन दुःखलाई न त देखाउन सकिन्छ न त जित्न ।
कैलालीको गोदावरी नगरपालिकामा रहेको खुटिया खोला, जहाँ सिंगो बस्ती गिट्टि कुटेर आफ्नो परिवार र बालबच्चा पालिरहेका छन् । झण्डै २०० जनाको परिवार खोला किनारमा गिट्टिको साहारामा दैनिकी चलाईरहेका छन् । न त उनिहरुलाई केही कुराको डर छ न त भय नै । केबल जिन्दगि चलाउनु छ, बस् । पुर्व पश्चिम राजमार्गमा पर्ने उक्त खोलामा कोरोना र निषेधाज्ञाका समयमा पनि दैनिकी गुजार्नका लागि गिट्टी कुट्न पुग्ने थुप्रै परिवार भेटिन्छन् ।
सन्तानको माया पाउने उमेर भएका वृद्धवृद्धा देखी भर्खरै संसारलाई चिन्न थालेका बालबालिकाहरु नदी किनारमा गिट्टी कुट्नमै व्यस्त हुन्छन् । गिट्टी कुट्ने कतिपयको शिर लुकाउन आफ्नै छानो छ भने कतिपय छानोविहिन भएरै बसिरहेका छन् । गाउँ गाउँमा जनप्रतिनिधी भएतापनि उक्त बस्ती र समुहका नागरिकको समस्याप्रति स्थानिय तहको पहल र योगदान शुन्य जस्तै छ । धेरैको रोजगारी बनेको उक्त खोला र गिट्टीकै कारण जिवन त जरुर चलेकै छ तर भविष्य बनेको छैन । सायद परिवारको बाध्यता, बालबालिकाहरुपनि दिनभरी हातका ठेला सँगै गिट्टी फुटाउन बाध्य छन् ।
यहि समस्या र दुःखलाई उजागर गर्न र धेरै नभए पनि कलिला बालबालिकाको भविष्यका खातिर अर्थ सरोकारको टिम उक्त क्षेत्र (खुटिया खोला किनार)मा पुग्यौँ । तर आश्चर्य लाग्दो परिस्थिति, त्यहाँका नागरिक न त आफ्ना दुःख देखाउन चाहन्छन् न समस्याका बारेमा बोल्न नै । बस् यही भनिरहन्छन्, ‘यति दुःख गरेर बस्न कसलाई रहर छ र ? हाम्रा समस्या कसैले बुझ्दैनन् ।’ हाम्रो कयौँ प्रयासका बाबजुत पनि त्यहाँका नागरिकहरु आफ्ना समस्या हामी समक्ष राख्न तयार नै भएनन् ।
र अन्ततः अन्यौलता र उत्सुक्तामै हाम्रो टिम फर्किन बाध्य भयो । तरपनि कयौँ प्रश्नहरु प्रश्नमै यथावत् रहे । किन बोल्न चाहँदैनन् यी क्षेत्रका नागरिक ? किन देखाउँदैनन् आफ्ना समस्या ? किन माग गर्न सक्दैनन् आफ्नो अधिकारको ? के सँधै यसरी नै आफु र आफ्ना बालबालिकालाई गिट्टी कुटाएर भविष्य बन्छ त ? के यि बस्तीका नागरिकको जिन्दगी यसरी नै चल्ने हो त ? तर जे होस् यीनिहरुको पिडा अरुभन्दा बेग्लै छ र पनि हाम्रो प्रयास अझै जारी छ ।