- मिसन सुदूरपश्चिम टेलिभिजन कार्यक्रम / अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कोरोना संक्रमणले थिलथिलो बनाइसकेको छ पूरै देश र अछुतो छैन हाम्रो सुदूरपश्चिम पनि । अस्पतालहरुमा बेद छैन, बेद भएपनि अक्सिजन छैन.। जनप्रतिनिधिको सहयोग छैन । सहयोग गर्ने आश पनि छैन।छ त केवल बाँचेर फेरी घर जाने झिनो आश । छ त केवल परिवारमा त्रास र आफन्तको छटपटी ।
तर यस्तो स्थिति हुँदा पनि अहँ चेतेका छैनन् जनता । मजदुरी गरेर घर फर्कनेहरु बस्दैनन् यता क्वारेन्टाइनमा । जनप्रतिनिधिहरु आफ्नै सुरमा छन् । सरकारको उपस्थिति कतै छैन । छ त बस नागरिकको चित्कार, गुनासो र आक्रोश । हो यस्तै छ यता सुदूरतिर । सुदुरपस्चिमका गाउँ तिर, शहरतिर । धनगढीमा जनताको धन मात्र सकिएको छ, उपचार छैन । कैलालीमा कहाली छ । कन्चनपुरमा कन्चन अवस्था कतै छैन ।महेन्द्रनगरमा नगर मात्र छ, सहयोग गर्ने महेन्द्ररुपी जनप्रतिनिधि कोहि छैनन् । डडेलधुरामा कोरोनाको डढेको मात्र छ । डोटीमा कोरोना महामारी हुँदा सरकारको ड्युटी छैन गाउँमा, अछाम, दार्चुला, बझाङ्ग, बाजुराको स्थिति झनै अत्यास लाग्दो छ । अहँ ! बाँच्ने झिनो आशा, र आफ्नाहरुको निराशा बाहेक आजकल केहि छैन यता सुदूरपश्चिम तिर । र त नागरिकहरु यो कोरोना कालमा पनि खोजिरहेछन् आफुले भोट हालेर पठाएका प्रतिनिधिहरु ।
यो कोरोना कालमा बस कोठाहरु चाहिने हो, अस्पतालमा भएकाजस्ता बेड हरु चाहिने हो । अक्सिजन चाहिने हो । तर सुनको खाटमा बसेर गरिब छु भन्ने मानसिकता बोक्ने जनप्रतिनिधिहरुको रबैया अझै पनि उस्तै छ। उता अस्पतालमा बेड नपाएर बिरामीहरु छटपटीरहेका छन् । यता वृद्धाश्रमको भवन पूरै खाली छ । तर यसलाई प्रयोग गर्ने कसैको चाहाना छैन । विद्वानहरुले त्यसै कहाँ भनेका हुन् र, नेपालीहरु स्रोत नभएर होइन इक्षाशक्ति नभएर गरिब भएका हुन् भनेर।